पोखरा,३२ साउन – तिब्बती नागरिकलाई नेपाली नागरिकता दिनको लागि सिफारिस गर्ने यहाँका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वडाध्यक्ष पोखरा महानगरपालिका वडा नं. १८ का रण बहादुर थापा हुन् । थापासँगै कास्की प्रहरीले वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई नियन्त्रणमा लिएको हो ।
पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए । सोही नागरिकता दिलाउनको लागि वडाध्यक्ष थापाले अन्तिम सिफारिस गरेका थिए । नागरिकता दिलाउन सहयोग गर्ने ८ जनालाई साउन २४ गते पक्राउ गरिसकेको छ ।
कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार पक्राउ पर्नेहरु नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेका थिए ।
तिब्बतीयनलाई नागरिकता दिनको लागि सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने २ युवती र सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।
उक्त मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर प्रहरी हिरासतमै छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले दुवैजनाले लिएको नागरिकता समेत रद्ध भइसकेको जनाएको छ । सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६–०१–०७६–०१६३३ नम्बरका २ नागरिकता जारी भएको थियो ।
नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता लिएमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।झुठो विवरण पेस गरी लिएको नागरिकता रद्धद्द हुने कानुनी प्रावधान छ ।
झुठो विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।
प्रचलित ऐन विपरित त्यस्ता व्यक्तिलाई नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई भने विभागिय कारबाही हुने व्यवस्था छ । विभागिय कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटमा काम गर्ने प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नासु डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई सिफारिस गरिएको छ ।
त्यस्तै, वडाका पञ्जिधिकारी राजेन्द्र पौडेल र विष्णु पौडेललाई समेत विभागिय कारवाहीको लागि सिफारिस गरिएको थियो ।
वडाका कर्मचारीले २ युवतीको जन्मदर्ता २ पटक गराएका थिए ।





