पर्वत,५ भदौ – बर्खासंगैको अबिरल बर्षाका कारण अबरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम सुचारु भएको छ।
मनसुनका कारण दुई महिनादेखि काम राकिएकोमा गएको गत शनिबारदेखि पोखरा–बागलुङ सडक खण्डको काम चलिरहेको पर्वत खण्डको निर्माण कार्य गदै आएको लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए। सडक निर्माण रोकिँदा खाडलमा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा रहको भन्दै निर्माणको काम तत्काल शुरु गर्न चौतर्फी दबाब सृजना भएको थियो। सडकको काम बन्द भएको भन्दै पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीले संसदमा नै लोकमार्गको काम रोकिएको बिषयमा आवाज उठाएका थिए भने केही दिन अगाडि मात्र पनि नेपाली काँग्रेस पर्वतले केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर लोकमार्गको काम रोकिएकोप्रति चिन्ता जनाउँदै यथाशिघ्र काम सुचारु गराउन ज्ञापनपत्र बुझाउँदै दवाव दिएको थियो।
दुई महिना देखि सडक निर्माणको काम रोकिदा पहिरो र अन्य कारणले यात्रुहरु जोखिम मोलेर यात्रा गर्दै आउनुपरेको थियो । गत बर्षको जस्तो अत्याधिक बर्षा नभएको भएपनि काम गर्न लागिएका ठाउँहरु जोखिमपूर्ण भएकोले बर्षा यामको समयमा काम रोक्नुपर्ने बाध्यता रहेको म्यानेजर भुसालको भनाई छ। उनका अनुसार पर्वतमा खण्डमा काम गरिरहेको लामा कन्सट्रक्सनले सडक निर्माणको काम चार ठाउँबाट शुरु गरिएको छ । पर्वतको प्रबेशद्वार बेतीनी, आम्बोट भद्र खोला, दोबिल्ला र अर्मादी गरि चार स्थानमा कामदार झारेर नाली, टेवा पर्खाल लगाउने र पहिरो पन्छाउने काम शुरु गरिएको हो ।
आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । कम्पनीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरेपनि अहिले सम्म ५० प्रतिशत जति काम भएको छ । स्टक्चरको काम २० प्रतिशत बाँकी रहेको र १५ किलोमिटरमा नाली बनाउन बाँकी रहेको प्रोजेक्ट म्यानेजर भुसालले बताउनुभयो । नालीको काम कार्तिक महिना सम्म सक्ने लक्ष्य रहेको उहाँको भनाई छ । पर्वत खण्डमा असार सम्म कम्तीमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेपनि अहिले सम्म कालोपत्रे हुन सकेको छैन । मालढुंगाबाट शुरु भएको कालोपत्रे पनि फेरी शुरु गर्नुपर्ने अबस्थामा रहेको छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम रहेको थियो । आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।





