बागलुङ, ८ भदौ – अज्ञात समुहले नवनिर्मित भवनमा श्रृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोलोज सर्किट टेलिभिजन (सिसिटिभी) जडान गरेको छ । घटनाको बिषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराए लगत्तै महासंघले आक्रमणकारीको पहिचानका लागि कोलोज सर्किट टेलिभिजन जडान गरेको हो । भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिईएको र आन्तरिक रुपमा आक्रमणकारी पहिचानका लागि सिसिक्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए । तत्कालका लागि ८ वटा क्यामरा जडान गरीएको छ । भवनको बाहिरी आवरण देखी तेस्रो तल्लामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्नेगरी क्यामरा जडान भएका छन््् । ‘रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजीएको हो’ अध्यक्ष शिरिषले भने ‘अपराधीको पहिचानका लागि क्यामराले सहज बनाउने छन् ।’ भवन वरपर सरकारी कार्यालयहरु रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ । अघिल्लो तीन साता यता महासंघको भवनमा शनिबारको राती श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको थियो ।
महासंघको निर्माणाधिन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छभने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ । पछिल्लो तीन साता यता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसिटिभी जडान गरीएको शाखाका सचिव राम थापाले बताए । ‘तोडफोड क्षतिका हिसाबले ठुलो नभए नभए पनि पटक–पटकको घटनाले सामान्य विषयको संकेत गर्दैन,’ सचिव थापाले भने,‘ घटनामा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग हो ।’ महासंघले भवन आसपासमा काँडेतारले तारबार गरेको छ । तर, कृषि ज्ञान केन्द्र मातहतको कृषि नर्सरीमा अहिले कर्मचारी नबस्ने भएकाले त्यस तर्फबाट महासंघ कार्यालय प्रवेश गर्न सहज हुन सक्ने शाखाको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासंघ भवनमा रातीको समयमा भएको तोडफोड घटनालाई गम्भिरतापूर्वक लिएको बताए । शुरुमा सामान्य विषयको रुपमा लिएको तर प्रहरी कार्यालयको नजिकै पटक–पटक दोहोरिएको घटनाको प्रभावकारी खोज अनुसन्धानका लागी टिम परिचालन गर्ने उनको भनाई थियो ।





