बागलुङ, १५ साउन – नेपाल निजामति कर्मचारी संगठन बागलुङले धौलागिरी अञ्चल अस्पतालमा स्मार्ट टेलिभिजन र बेडसेट सहयोग गरेको छ ।
संगठनका अगुवाहरु मनोज–झपेन्द्र स्मृति दिवसको अबसर पारेर ती सामाग्री दिइएको हो । दिवशको अवसरमा अस्पतालमा भैरहेको सुधारलाई सहभागिले सकारात्मक रुपमा लिएको बताए । कार्यक्रममा बोल्दै गण्डाकी प्रदेशसभाका सदस्य ईन्द्रलाल सापकोटाले नेपालमा संस्थागत भ्रष्ट्राचार बढेको भन्दै आफ्नो स्थानबाट केही सुधार गर्छु भनेर निजामतीले अगुवाई गर्ने बेला आएको बताए । उनले कर्मचारी र राजनीतिक तहबाटै देश सुधार्नुपर्ने भन्दै इमान्दारीताको खडेरी परेको बेला एकदुइजना जाग्दा पनि अस्पताल सुधार हुन सकेको बताए ।
अस्पतालमा पछिल्लो एक बर्षमा व्यवस्थापकीय र भौतिक संरचनामा सुधार आएको छ । हाल अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर आउने क्रम बढेको छ । बिशेषज्ञ सेवाका लागि कक्षहरु पनि थपिएका छन् । अस्पताल ए ब्लकमा मात्र संचालन भैरहेकोमा केही महिना अघिदेखि बी ब्लकमा पनि संचालन भएको छ । उक्त भवनमा हाडजोर्नी, नाक कान घाँटीको उपचार, निशुल्कऔषधि बितरण कक्ष र फार्मेसी लगायतका सेवा संचालनमा छ ।
बी ब्लकमै राखिएको टिकट काउन्टर र औषधि बितरण कक्ष नजिकै संगठनले स्मार्ट टिभी जडान गराएको हो । उक्त स्थानमा पालो पर्खेका बिरामीले टिभी हेर्न पाउनेछन् । संगठनले अस्पतालका शैयामा प्रयोग हुने बेड सेट पनि दिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जनतालाई सेवा दिने कुरामा कुनै कन्ज्युस्याई नगर्ने बताए । हरेक कर्मचारी इमान्दार भएर काम गरेमा जनताले सेवा पाएको अनुभूति गर्ने भन्दै उनले सबै कर्मचारीलाई जनताको चाहना अनुसार काम गर्न पनि आग्रह गरे ।
२०४७÷०४८ सालमा कर्मचारीको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर झपेन्द्र कार्की र मनोज जोशीको मृत्यु भएको । उनीहरुको स्मृतिमा हरेक बर्ष संगठनले शहिद मनोज झपेन्द्र स्मृति दिवशको रुपमा मनाउने गर्छ । कार्यक्रममा निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटा, धौलागिरि अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष केवी राना मगर, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य तेजप्रसाद न्यूरे लगायतले बोलेका थिए । संगठनका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, अस्पतालका सूचना अधिकारी तथा संगठनका तिर्थप्रसाद गौतमको स्वागत मन्तव्य र सचिव श्यामकुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।





