बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कार्यालय नभएता पनि संसदीय दललाई मासिक एक लाख ८० हजार

कार्यालय नभएता पनि संसदीय दललाई मासिक एक लाख ८० हजार


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७६, शुक्रबार

पोखरा,१७ साउन -गण्डकी प्रदेशमा चारवटा (निर्वाचनको समयमा पाँच) संसदीय दल छन् । यहाँको प्रदेशसभामा चुनावताका एमाले र माओवादी केन्द्र (हाल नेकपा) सत्तापक्षमा र नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा तथा समाजवादी पार्टी नेपाल (एकताअघिको नयाँ शक्ति) पार्टी प्रतिपक्षमा छन् । चारवटा विषयगत समितिहरु छन् । तर, कुनैपनि दलको छुट्टै संसदीय दलको कार्यालय छैन् । समितिको बैठक आलोपालो रुपमा खाली कोठा हेरेर बस्ने गरेका छन् । प्रदेशसभा सचिवालयका सचिव हरि बास्तोलाले हालसम्म दलको कार्यालय व्यवस्थापन भईनसकेको जानकारी दिए ।
संरचनाको अभाव भएकै कारण प्रदेशसभा सचिवालयले हाल १० कोठे प्रिफ्याब भवन निर्माण गर्दैछ । कुल ९२ लाखको लागतमा बन्न लागेको यस भवनमा संसदीय दलको कार्यालय र समितिको कार्यालय रहनेछन् ।
दलको कार्यालय बनिनसेकता पनि संसदीय दलका लागि छुट्टै कोठा नभएतापनि दलको लागि भनेर प्रदेशसभाले मासिक १ लाख ८० हजार रुपैयाँ खर्चने भएको छ । प्रदेश मन्त्रिपरिषदको असार २५ गतेको निर्णयानुसार अब प्रदेशका चारवटै संसदीय दलका सांसदहरुले प्रतिसांसद मासिक तीन हजार रुपैयाँ दलको सञ्चालन खर्च बापत पाउनेछन् ।
सभामुख नेतृत्वको कार्यव्यवस्था परामर्श समितिले नै संसदीय दलमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यका आधारमा मासिक खर्च उपलब्ध गराउने भएको हो । सदस्य संख्याको आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने भन्ने हो । कार्यव्यवस्था समितिले यो व्यवस्था गर्न खोजेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले दलको बैठक व्यवस्थापन खर्चबापत उक्त रकम दिने निर्णय भएको बताए ।
‘प्रदेशसभाले दलको कार्यालय उपलब्ध गराउनेछ । दलको बैठक बस्नुपर्छ । बैठकमा हुने कार्यहरुको लागि खर्चको आधार बनाईएको हो, संख्या कम भएतापनि खर्च चाहिँ बढि नै छ । दुई जनाको मात्र दल पनि छ । त्यसको व्यवस्थापन गर्न खोजेका हौँ ’,उनले भने ।तर, असार २५ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेतापनि दलको कार्यालयलाई गएको जेठबाट नै लागु हुनेगरि रकम उपलब्ध गराउन भनिएको छ ।‘कतिपय कुराहरु त पुरानो मितिबाट गर्नुपर्ने हुन्छ, चलिराखेको चाहिँ पहिलेदेखि नै हो, राजपत्रमा प्रकाशित हुने समय चाहिँ ढिलो हुन्छ दललाई मर्का पर्ने हुन्छ नि’, मन्त्री चुमानले भने, ‘अहिलेसम्म दलको कार्यालय झोलामा नै छ, तर काम पनि त भईरहेको छ नि ।’गण्डकीका चारवटा संसदीय दलमा ६० जना प्रदेश सांसद छन् । प्रतिसांसद तीन हजारका दरले मासिक एक लाख ८० हजार रुपैयाँ दलको लागि खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->