बागलुङ,२० साउन – बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका ४ लाम्मेलामा आइतबार राती करिब राति १:३० बजे ५० मिटर माथिबाट खसेकाे पहिरोले घर पुरिँदा एकै घरका हजुरआमा र नातिको मृत्यु भएको हो । ७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण श्रीपालीको ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ। पहिरोले पुरिँदा अर्को घरकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । पहिरोले ५ घर पुरेको छ । घटनास्थलमा बोङगादोभान प्रहरी चौकीको टोलिले उद्दार गरिरहेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलि पनि पुगिसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परेका ६ जना घाइतेको उद्धार गरिएको र उपचारको लागि पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।





