शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरोका कारण विद्यालय बन्द

पहिरोका कारण विद्यालय बन्द


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७६, मंगलबार

बागलुङ,२१ साउन -बर्षा सँगै आएको पहिरोले विद्यालय भवन जोखिममा परेपछि बागलुङको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको जनता प्राथमीक विद्यालय पाँच दिनका लागि बन्द गरिएको हो ।
विद्यालयमा तीनवटै भवन पहिरोको उच्च जोखिममा रहेकाले सम्भावित दुर्घटना हुन नदिनका लागि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताए । विदालय आँफैले गर्नपाउने स्थानिय बिदामा कटौती हुनेगरी तत्कालका लागि पाँच दिन विद्यालय बन्द गरीएको अध्यक्ष छन्त्यालले बताए । विद्यालय भवन तलको जमिन बगिरहेको छभने विद्यालय माथीबाट समेत पहिरो झरिरहेकाले विद्यालय बन्द गर्नुपरेको छन्त्यालले जानकारी दिए । गत आर्थिक बर्षमा विद्यालयको भवनलाई फन्को मारेर निर्माण गरिएको राङ्खानी–बरेङ सडकका कारण पहिरोको जोखिममा विद्यालय परेको हो ।
कच्चि सडक निर्माणका क्रममा थुपारीएको ढुंगामााटो पानीसँगै बगेर विद्यालय भवनतर्फ आईरहेकाले जुनसुकै बेला भवन पुरीन सक्ने उनले बताए । ‘अहिले विद्यार्थी कोठाभित्र राखेर पढाउन सकिने अवस्था छैन’ छन्त्यालले भने ‘तलमाथी दुवै तिरबाट विद्यालयका तीनवटै भवन जोखिममा परेका छन् ।’ २ कोठा रहेका दुई भवन र ३ कोठा रहेको अर्को एक भवन पहिरोको जोखिममा छन् । दुईकोठे कच्चि ट्रस भवन यसै बर्षमात्रै निर्माण भएको हो ।
पहिरोको जोखिमका कारण विद्यालय बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालयका सबै भवन पहिरोको जोखिममा परेपछि विद्यालयले विकल्पको खोजी गरीरहेको छ । ‘नजिकै रहेको सामुदायीक भवनको प्रयोग गरेरै भएपनि पढाई चलाऔं भन्ने लागेको छ तर सबै कक्षाका विद्यार्थी अट्दैनन्’ उनले भने ‘उपयुक्त विकल्प नपाउने हो र बर्षा रोकीएन भने थप केही दिन विद्यालय खोल्न सक्ने अवस्था छैन् ।’ विद्यालयभवन रहेको भन्दा केही माथि भिरालो जमिनमा कयौं घुम्तीहरु बनाएर सडक निर्माण गरेका कारण पहिरोको जोखिम बढेको छन्त्याल बताउँछन् । ‘मैले सडक बनाउने बेलानै भनेको हुँ तर कसैले टेरेनन्’ छन्त्याल भन्छन ‘बिकासको काम रोक्न मिलेन बुद्धि नपु¥याउँदा विकासले बिनास निम्त्यायो ।’ पहिरोका कारण विद्यालय आउनेजाने गोरेटाहरु समेत मासिएका छन् । पैदलै विद्यालय जाने विद्यार्थीका लागि बाटो समेत नरहेकाले समस्या भएको विदालयका प्रद्यानाध्यापक कृष्णा श्रीसले बताईन् । गत बर्ष बिद्यालयको ३ वटा भवन मध्ये एउटा भवन पहिरोले पुरे पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा २ कोठे ट्रस्ट निर्माण भएको थियो । दातासँग हारगुहार गरेर निर्माण गरीएको ट्रस समेत पहिरोको जोखिममा परेपछि समस्या थपिएको प्रधानाध्यापक श्रीसले बताईन् । विद्यालयमा ४२ जना विद्यार्थीलाई पाँच जना शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->