बागलुङ,२२ साउन – नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्ष घोषणा गरेर तयारी गरीरहेका बेला बागलुङका बिभिन्न पर्यटकीय स्थलहरुको पहिचान हुन थालेको छ । सरकारले घोषणा गरेको १ सय गन्तव्यमा नपरेका प्राकृतिक एवं धार्मिक सम्पदाहरुको पहिचानमा स्थानिय आँफै जुटेका हुन् ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–६ मा रहेको रिगा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सक्रिय भएका छन् । तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउन स्थानीयले अग्रसरता देखाएका हुन् ।
उच्च पहाडमा सामुन्द्रीक सतहदेखि करिब ३२ सय मिटर उचाईमा रहेको यो ताल आन्तरीक तथा वाह्य पर्टटकको लागी गन्तव्य वन्न सक्ने स्थानियको बुझाई छ । १ सय मिटर लम्बाई, ६० मिटर चौडाई र करिब १२ मिटर गहिराई रहेको तालको संरक्षणको काम थालिएको स्थानिय डम्मर बुढा मगरले जानकारी दिए ।
तालमा पछिल्लो समयमा पानी सुक्दै गएपछि यसको संरक्षणका लागि स्थानिय सरकाले समेत चासो देखाएको छ । तालको संरक्षण, प्रचार प्रसार र आसपासका क्षेत्रमा अन्य पूर्वाधारको विकासमा निसीखोला गाउँपालिकाले चासो देखाएको हो । ताल संरक्षणका लागि गाउँपालिकाले गुरु योजना तयार गरेको छ । गाउँपालिका रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकास र प्राकृतिक रिगा तालको संरक्षणको कामलाई एकैसाथ अघिबढाईने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । यो ताल रहेको स्थानबाट प्राकृतिक सौन्दयर्ता र उच्च पहाडी मनोरम दृश्य अवलोकन गर्न सकिन्छभने बागलुङको विभिन्न स्थान, रोल्पा, रुकुम, प्युठान जिल्लाका विभिन्न भू–भागहरु अवलोकन गर्न सकिन्छ ।
ताल संरक्षण गरेर पर्यटकको रोजाईमा पार्नेगरी काम अघि बढाईएको निसीखोला गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । ‘यो ताल अत्यन्तै रमणिय छ स्थानमा रहेको छ, यसको संरक्षण र विकास गर्न सकियो भने पर्यटकीय गन्तव्य बन्न सक्छ,’ अध्यक्ष पौडेलले भने ‘यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सडक निर्माण, पार्क निर्माण लगायतका पूर्वाधारहरु निर्माण गर्ने योजना बनाएका छौँ ।’ मध्यपहाडी लोकमार्गदेखि ताल सम्मको सडक निर्माण, पदमार्गको व्यवस्थापन र ताल आसपासका क्षेत्रमा पार्क तथा फुलवारीको निर्माण गर्न सके निसीखोलाको विकासमा सहयोग पुग्ने स्थानियको भनाई छ ।





