बागलुङ,२२ साउन – बसाईसराइका कारण गाउँमा बाँझो रहेका जमिनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यवसायीक कफी खेती सुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनमा कफी खेती गर्न थालेको हो । तत्कालका लागि सर्कुवामा रहेको २५ रोपनी जमिनमा कफीका बिरुवा लगाईएको छ ।
सहकारीको कार्यक्षेत्रभित्र रहेका सबै बाँझो जग्गालाई सदुपयोग गरी व्यवसायीक कफी उत्पादन गर्ने अभियान थालिएको सहकारीका अध्यक्ष लिलादेवी थापाले बताईन् । गाउँ छोडेर तराईका भूभाग तथा शहर बजारमा बसेकाहरुबाट सहकारीले प्रतिरोपनी प्रतिबर्ष १ हजार २ सय रुपैयाँका दरले भाडा उपलव्ध गराउने गरी जग्गा लिएको छ ।
२० बर्षका लागि जग्गा सदुपयोग गर्ने सम्झौता गरेर कफी खेती थालिएको थापाले बताईन् । पहिलो बर्ष भएकले स्थानीय किसानले उत्पादन गरेका कफीका बिरुवा सरकारी दररेटका आधारमा खरिद गरेर सहकारीले बाँझो खेतबारीमा लगाएको छ । ‘अहिले हामीले २५ रोपनी जमिन लिएका छौं, यो सुरुवात मात्रै हो ।’ अध्यक्ष थापाले भनिन् ‘यो अभियानलाई वडाभरिका बाँझो जमिन प्रयोगमा आउने गरी सशक्त बनाउँछौं ।’
आगामी बर्ष आफ्नै नर्सरी बनाएर बिरुवा उत्पादन गरेपछि थप क्षेत्र बिस्तारको काम गरिने थापाले बताईन् । सहकारीका शेयर सदस्यहरुले नै कफीका बिरुवा रोपेका हुन् । ‘हामी सामूहिक रुपमा खेती गर्छौं र उत्पादनको उपयोग पनि सामूहिक हुन्छ’ थापाले भनिन् ‘अभियानमा सबैले सघाउने हुनुभएको छ ।’ बजारका कफीको माग उच्च रहेकाले व्यवसायीक उत्पादनका लागि अभियान थालिएको हो । सहकारीले कफी खेती गर्न थालेको भूभाग कफीका लागि उपयुक्त मानिन्छ । सहकारीले थालेको अभियानमा स्थानीय सरकारले पनि सहयोग गर्ने भएको छ ।
‘आफ्नो ठाउँमा अवसर नदेख्नेहरुलाई व्यवसायीक खेती उदाहरण हुन सक्छ’ जैमिनी नगरपालिका–४ का वडा अध्यय चक्र थापाले भने ‘उहाँहरुलाई हामी हौसला प्रदान गर्छौं यो हाम्रो लागि राम्रो सुरुवात हो ।’ सहकारीले खेतीको क्षेत्र विस्तार गरेर रोजगारीको सिर्जना गर्ने सोच समेत बनाएको छ । ‘हामीले लगाएको कफीले उत्पादन दिन थालेपछि सहकारी सदस्यको आयआर्जको स्रोत बन्नेछ, बाँझो जग्गा उपयोग हुने नै भयो’ अध्यक्ष थापाले भनिन् ‘उत्पादन टिप्दादेखि बजारीकरण गर्दासम्म कयौंले रोजगारी पाउने छन् ।’ जैमिनी नगरपालिकाले कफी, मह, सुन्तला कागती लगायतका उत्पादनले बजार नपाएमा नगरपालिकाले नै लिने निर्णय गरेकाले सर्कुवामा उत्पादित कफीले बजार नपाउने समस्या हुने छैन ।





