बागलुङ, २३ साउन – गत बर्षको भदौमा अप्रत्याशित दक्षिण कोरिया भ्रमणमा पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल कोरियाबाट फेर्कको केही दिनमा नै एकाएक चर्चामा आए । जनप्रतिनिधिले पालिकाको खर्चमा बिदेश शयर गरेको भन्दै सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलहरुमा उनको चर्को आलोचना भयो । बागलुङ नगरपालिकाले सुरु गरेको बिदेश भ्रमणलाई पछिल्लो समय बागलुङका थप पाँच पालिकाले पछ्याईसकेका छन् । बिषेश गरेर पालिका प्रमुखहरु मध्यपुर्वका केही विकसित मुलुक र अमेरिकन मुलकको भ्रमण गरेका छन् । जनप्रतिनिधि भएपछि बिदेश भ्रमणको मोहमा फसेको आलोचना सर्वसाधारणको तहमा हुन थालेको छ । जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका प्रमुखहरु सन् २०१९ लाई स्वागत गर्न जापन पुगेका थिए । त्यसभन्दा पहिले ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली अमेरिका पुगेर फर्किसकेका थिए ।
यो समाचार तयार पार्दासम्म जिल्लाको जैमिनी नगरपालिकाको ७ सदस्य रहेको जम्बो टोली जापानका शहरहरु घुमीरहेको छभने निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल अमेरीका भ्रमणमा रहेको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ । बागलुङका स्थानीय सरकारमा निर्वाचित प्रतिनिधिहरु कोही बिदेश स्थित नेपाली संघसंस्थाको निमन्त्रणामा त्यहाँ पुगेका छन्भने कोही गैरसरकारी संस्थाको निम्तो मान्नकै लागि बिदेश पुग्ने गरेको जानकारी गराएका छन् । बिभिन्न माध्यामबाट प्राप्त हुने निम्तो मान्न पुगेका जनप्रतिनिधिले सिकाईका लागि बिदेश गएको रटान लगाए पनि अपवादबाहेक घुम्ने काम मात्रै भएको सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ ।
गल्कोट समाज जापानले नयाँ बर्षको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा अतिथी बनेर जापान पुगेका ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जहाजको टिकट खर्च गाउँपालिकाबाट लिए । टिकटबापत ७० हजार रुपैयाँ मात्रै लिएको र बाँकी खर्च गल्कोट समाज र आँफ्नो व्यक्तिगत भएको घर्तिले दाबी गर्छन् । कार्यपालिकाले निर्णय गरेर उनलाई जापान पठाएको थियो । जापानमा रहँदा त्यहाँ रहेका नेपाली सँगको छलफलका आधारमा अब ताराखोलामा आँखा अस्पताल बनाउने पहल थालिएको छ । त्यसका लागि जापानमा रहेका गैह्रआवासीय नेपालीले सहयोग गर्ने आश्वासन गाउँपालिकाले पाएको छ । त्यो बाहेक शिक्षा र स्वास्थ्यमा क्षेत्रमा परिवर्तन गर्दै सुविधा दिनका लागि त्यहाँ रहेका सामाजिक संघसंस्था सँगको भेट महत्वपुर्ण र भ्रमणको उपलव्धी त्यही भएको घर्तिले दाबी गरे ।
थोरै खर्चेर धेरै फाईदा हुनेगरी भ्रमण गरिएकाले त्यसको चर्चा धेरै गर्नु उपयुक्त नहुने उनको तर्क छ । घर्तिसँगै एउटै निम्तो मान्न जापान पुगेका गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले आफ्नो भ्रमणको खर्च आँफैले व्यहोरे । पालिकालाई कुनैपनि भार नपर्नेगरी आँफुले भ्रमण गरेको उनको दाबी छ । जापान पुगेका गैरेले त्यहाँबाट सिक्ने कुरा अनुशासन बाहेक केही नरहेको बताए ।
‘देश अनुसारको भेष हुन्छ, तत्काल त्यहाँको जस्तो विकास गर्छु भनेर यहाँ सम्भव छैन्’ गैरेले भने ‘त्यहाँका नागरिकको राज्य प्रतिको उत्तरदायित्व बोध र राज्यको नागरिक प्रतिको उत्तरदायित्व बोध हामीले सिक्नुपर्ने कुरा हो ।’ उनले पहिले नागरिक र राज्य दुवै जिम्मेबार नहुँदासम्म बिदेशमा सिकेर देश बनाउँछु भन्नु मुर्खता हुने बताए ।
सहकारीको समुहमा अमेरीका पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले न त नगरको खर्च लिए न त त्यहाँ केही सिकेर यहाँ आएर कामनै देखाए । निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल पनि पारिवारिक निम्तो मान्न भन्दै पालिकाको काम थाँती राखेर अमेरीका उडेका छन् । पालिकाको कुनै खर्च नलिने घोषणा गरेका उनले पनि त्यहाँको भ्रमणको उपलव्धी भने केही देखाउछु भनेका छैनन् ।
सामाजिक संस्थाकै निम्तो मान्न कोरिया पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले जहाजको टिकट र सात दिनको भत्ता लिए । प्रदेश सरकारले तोके बमोजिमको सुविधा उपभोग गर्दा उनले नगरको झण्डै एक लाख ७० हजार खर्चेका छन् । एक जनाको भ्रमणमा मात्रै भएको यो रकम ठुलो खर्च हो । कोरियाबाट फर्केपछि उनले त्यहाँको सिकाई प्रयोगमा ल्याउँछु भनेर केही सार्वजनिक भाषणमा भनेका भएपनि देखिने केही बाहिर आएको छैन । बागलुङ नगरपालिकालाई पछ्याउँदै गैह्रसरकारी संस्थाको निम्तो मान्न जैमिनी नगरपालिकाले आधा दर्जन बढि भ्रमण टोलीको सदस्य बनायो । आतेजाते टिकट र भत्ता लिने सानदार निर्णय गराएर नगरसभामा पारित भएपछि सात जनाको समुह अहिले जापानमा छ । जापान भ्रमणमा रहँदा त्यहाँको बिकास र प्रगतिबाट केही सिक्छौ भन्दै नगरपालिकाले पत्रकार सम्मेलननै गरेको भएपनि भ्रमण सुरु भएको केही दिनसम्म टोली सिक्नेभन्दा भेटघाटमा व्यस्त छ । उनीहरुको भ्रमणलाई लिएर जनप्रतिनिधिहरुलेनै असहमति जनाईरहेका छन् ।
‘जनताले तिरेको कर खर्चेर कानुनने दिए पनि नैतिकताले बिदेश भ्रमण जान नमिल्ने हो’ जैमिनी नगरपालिकाका स्थानीय शोभाप्रसाद शर्माले भने ‘त्यहाँ सिकेर यहाँ केही गर्छन् भन्ने लाग्दैन, जनताको सम्पत्ति सकिने मात्रै हो ।’ स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरु काममा भन्दा बिदेश भ्रमणको मोहमा फसेको उनले आरोप लगाए ।
बागलुङका दश पालिकामध्ये काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका प्रमुख मात्रै दुई बर्षको कार्यकालभित्रै बिदेश भ्रमण गएका छैनन् । जो जस्को खर्चमा बिदेश शयर गरेपनि कमजोर आर्थिक अवस्था भएका पालिकाका प्रमुख बिदेशको भ्रमणमा जानु नैतिक जिम्मेबारीबाट पर पुगेको महशुस भएको पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा घोषणा गरेपछि पर्यटक भित्राउन आवश्यक तायारी गर्नुपर्ने बेला पालिका प्रमुखहरु नै बिदेश भ्रमणमा लालयित भएको आरोप उनीहरुमाथी नागरिकले लगाउन थालेका छन् ।





