बागलुङ, ३० भदौ – बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखले ७ दिन भित्र कार्यपालिकाको बैठक नबोलाए हस्ताक्षेप गरेर आँफैले बैठक बोलाउने चेतावनी दिएका छन् । सोमबार नगरप्रमुख जनकराज पौडेललाई पत्र लेख्दै खड्काले स्थानीय सरकार सञ्चालन ऐन विपरित दुई महिनासम्म बैठक नबसेको भन्दै नगरप्रमुख जनकराज पौडेलले नवोलाए आँफैले बैठक बोलाउने चेतवानी दिएका हुन् ।
हरेक महिनाको एक पटक अनिवार्य रुपमा नियमित बैठक बस्नुपर्ने नियमावली भएपनि बागलुङ नगरपालिकाको बैठक दुई महिनादेखि बस्न नसकेको खड्काले लेखेको पत्रमा उल्लेख छ । दुई महिनादेखि बैठक नबोलाएको भन्दै उपप्रमुख खड्काले खेद प्रकट गरेका छन् । उनले ऐनमा उल्लेख भएको भन्दा महिनामै थप एक पटक बैठक बस्न सकिने कार्यापालिकाको निर्णय भएकोमा ऐनकै व्यवस्था कार्यान्वयन नभएको उल्लेख गरेका छन् । नगरको बैठक नबस्दा नगर प्रमुखको मनोमानी चलेको खड्काले आरोप लगाएका छन् । ‘यदि राणाकालिन हुकुमी शासन र भारदारी तरीकाले नगरपालिका सञ्चालन गर्न खोज्नुभएको हो भने त्यो कुरा क्षम्य हुँदैन’ खड्काले नगरप्रमुखलाई लेखेको पत्र छ, ‘तपाईं बैठक राख्न किन डराईराख्नु भएको छ ?’
खड्काले विगतमा भएका निर्णय नगरप्रमुखले एक्लैले निर्णय गर्ने, कार्यपालिका सदस्यलाई ४८ घण्टा पहिले बैठकका प्रस्ताव सहित गर्नुपर्नेमा त्यसो नगरी मनोमानी ढंगले निर्णय गर्ने गरेको उल्लेख गरेका छन् । समयमा बैठक नबस्दा नगरपालिकाको आर्थिक, सामाजिक र पुर्वाधार विकासका निर्माणका काममा प्रत्यक्ष असर गरेको उनले पठाएको पत्रमा उल्लेख छ । नगरप्रमुखलाई पठाएको पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति र प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको छ ।
नगरप्रमुख पौडेलले भने कामको व्यस्तता र चाईना भ्रमणका कारण समयमा बैठक बस्न नसकेको बताए । ‘पहिला एक दुई हप्ता यसै गयो त्यसपछि म भ्रमणमा रहेकाले बस्न सकिएन’ पौडेलले भने ‘आएपछि भदौको २३ मा बसौं भनेको उपप्रमुख ज्युले व्यस्त छु भन्नुभो, छिट्टै बस्ने तयारीमा छौं ।’ उपप्रमुखले पठाएको पत्र कार्यालयमा आएको जानकारी प्राप्त भएको उनले बताए ।





