तनहुँ, १२ असोज – स्याङ्जाको चित्रे र भिमकाली सडक खण्डअन्तर्गत राते पहरादेखि डुम्रेबेसी हुँदै स्याङ्जा र पाल्पाको रामपुरसम्म सडक संजाल जोड्ने तनहुँको भिमाद मिर्मी भीममार्गस्थित जिदीखोला पुल ठेकेदारको लापरवाहीले अलपत्र परेको छ ।
सम्झौता अनुसार ०७५ असार २८ गते निर्माण सम्पन्न गर्नुपर्ने हो ।चार करोड ९० लाख ८२ हजार रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का दिइएको थियो । शान्ति निर्माण सेवाले सो पुलको ठेक्का पाएको थियो । तर, पुलको जग राख्ने र सव स्टकचर राख्ने काम बाहेक केही भएको छैन । डिभिजन सडक तनहुका सूचना अधिकारी सचिन श्रेष्ठका अनुसार पुल निर्माणमा प्रगति नभएपछि पटक–पटक ताकेता गरिएको छ । ‘पुलको निर्माणको म्याद सकिसक्यो,’उनले भने, ‘तर, पुल भने बन्न सकेको छैन ।’दुई स्पानको बन्ने पुलको दूरी ७० मिटर कायम गरिएको छ । ठेकेदारलाई पटक पटक पत्रचार गरेका छौं ।’
उनले ठेकेदारले भन्दैमा म्याद थप नगरिने समेत दावी गरे । ठेकेदारले समयमा निर्माण गर्न नसकिने कारणसहितको जवाफ भने दिएको उनले बताए । चित्तबुझ्दो उत्तर आएमा म्याद थप्न सकिने बताउँदै उनले चित्तबुझ्दो उत्तर आएन भने जरिवानासहित म्याद थप गर्न सकिने तर्क पनि गरे ।
ठेकेदार विनोद महर्जजनले भने पुल निर्माणका सामग्री नपाउँदा निर्माणमा ढिलाई भएको जिकिर गरे । ‘फाउडेसनका काम भइसकेको छ,’उनले भने,‘अन्य निर्माण सामग्री नआउँदा ढिलाई भएको हो ।’ उनका अनुसार निर्माण सामग्री नेपालमा पाइँदैन । इन्डियाबाट ल्याउनुपर्छ । निर्माण सामग्री माग गरिरहेको पनि उनको दावी छ । निर्माण सामग्री आएको छ महिना भित्र पुल निर्माण सकिने उनको भनाई छ । पुल निर्माण नहुँदा बर्खायाममा समस्या भएको छ । खोलामा बाढी आउँदा यात्रा गर्न नसकिने स्थानीय निर्मल थापा लाटोमगरले बताए । ‘खोलामा बाढी आउछ,’उनले भने,‘गाडी तार्न सकिँदैन ।’सवारी साधान तर्न नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।ज्यानको जोखिम मोलेर तर्न बाध्य भएको उनले बताए । पुल बनेको भए १२ महिनै यातायातमा सहज हुने उनको धारणा छ ।





