बागलुङ, १२ असोज – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १० बर्षमा गण्डकी प्रदेशलाई आर्थिक समृद्धिमा अब्बल बनाउने बताएका छन् । उनले सबै प्रदेशको तुलनामा अग्रणी बनाउनका लागि जग बसाल्ने बेला भएको पनि बताए ।
नेकपाको कार्यकर्ता प्रशिक्षणको क्रममा बागलुङको बुर्तिवाङ आएका गुरुङले शनिवार बोल्दै नेपाली जनता धनी बन्ने अभियानमा गण्डकी प्रदेशका जनता अझै बढी बन्नुपर्ने धारणा राखे । ‘अहिलेको अबस्थाको मूल्यांकन भैरहेको छ, त्यसपछि १० बर्षमा कुन तहमा पुग्ने भन्ने योजना बुन्छौं’ गुरुङले भने, ‘औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र र अन्य सफलताका क्षेत्र पहिचान गरेर अगाडि बढ्ने दिन आइसकेको छ ।’ गुरुङले सबै कार्यकर्तालाई उत्पादनको बाटोमा लाग्नपनि आग्रह गरे ।
गरिबीको रेखामुनीका सबै नागरिक धनी बन्ने उद्देश्य महत्वकांक्षी भएपनि काम गरे संभव भएको उनको भनाई छ । ‘प्रकृतिले हामीलाई साथ दिएको छ, जलश्रोत र पर्यटन हाम्रा समृद्धिका श्रोत हुन्’ गुरुङले भने, ‘ढोरपाटन जलासय युक्त जलविद्युत आयोजना पनि संभावनाको अर्को अबसर हो ।’ उनले गण्डकी प्रदेश जलश्रोतबाटै अगाडि बढ्न पनि सक्ने बताए । हरेक नागरिक सम्पन्न बनाउने अभियानका लागि परिपूर्ण प्रदेशको लक्ष आँफूले बोकेको उनले दावी गरे ।
शुक्रवार बेलुकी आएका गुरुङ शनिवार बिहान बुर्तिवाङ गएका थिए । उनले पार्टी प्रशिक्षणको लागि उपस्थित कार्यकर्तालाई प्रशिक्षण दिंदै पार्टीमा अझै आर्कषण बढीरहेको बताए । ‘आम कार्यकर्ताले जनताको भावना जित्ने काम गर्न अझै धेरै बाँकी छ’ गुरुङले भने, ‘हामीले जति राम्रो काम गर्न सकियो, त्यति जनताले बिश्वास गर्छन् ।’ युवाहरु नेकपामा आर्कषण बढीरहेकोले बचाउन पनि उनले आग्रह गरे । आगामी निर्वाचन, देशको बिकास, समृद्धिको यात्रा र पार्टीको जिवन्तताका लागि समेत नेकपा गम्भिर बन्नुपर्ने आवस्यकता उनले बताएका थिए । वडा तहसम्म पार्टीलाई एकताबद्ध बनाउने, हरेक संगठनमा समावेशीता, सहकार्यको वातावरण तयार गर्ने जिम्मा पनि कार्यकर्ताकै भउको समेत उनले बताए । पार्टी संगठनबाट ठूलो भएपछि बिकास निर्माणमा पनि पार्टीकै कार्यकर्ताले अगुवाई गर्नुपर्ने उनको ठहर थियो । ठूलो पार्टी भएपछि बिकास गरेर देखाउने दायित्व पनि पार्टीकै भएको भन्दै अरुको आस गर्ने, रिस गर्ने वा खुट्टातान्ने प्रवृत्ति छाडेर अगाडि बढ्न पनि उनले निर्देशन दिए । भातृसंगठनहरुको एकता टुंगोमा नपुगेको बिषयमा भने उनले बिस्तारै आउने बताए । केन्द्रमा मिलेपछि तल्लो तहमा पनि मिल्दै आउने भन्दै समानान्तर संगठन भएर काम नगर्न पनि सुझाए । बरु उनले पालो प्रणाली वा सहकार्यमा जे गर्न सकिन्छ त्यो गर्न पनि सुझाव दिएका थिए । गुरुङ नेकपा गण्डकी प्रदेशका इन्चार्ज समेत हुन् ।
कार्यक्रममा बागलुङ क्षेत्र नं. २ का सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेलले जनताको घरदैलोमा पुगेर गरिएका बाचा बिस्तारै पुरा गर्दै जाने बताए । केही ढीला भएपनि निरास नहुन भन्दै उनले कामको गति बढ्ने क्रम रहेको बताए । कार्यक्रममा प्रदेश सचिव गोबिन्द नेपाली, बागलुङ जिल्ला इन्चार्ज बलाबती शर्मा, प्रदेश सदस्यहरु मोहनलाल शर्मा,फमलाल निउरे, प्रदेश सांसद चन्द्रबहादुर बुढा, दिलमाया रोका, जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा लगायतले बोलेका थिए । नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको स्वागत र सचिव ज्ञामनाथ गैह्रेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेकपाले जनतासँग जनप्रतिनिधि भन्ने अभियान पनि चलाएको छ । यो अभियानकै क्रममा कार्यकर्ता प्रशिक्षण पनि चलाइएको हो । आगामी उपनिर्वाचनलाई समेत लक्षित गरी मुख्य मन्त्री गुरुङ सहितको टोली बुर्तिवाङ पुगेको बताइएको छ ।





