बागलुङ,१५ असोज – दुइ बर्ष अघिदेखि स्मार्ट लाईसेन्स दिने नेपाल सरकारको निर्णय कार्यान्वयनमा भने सकस देखिएको छ । लाईसेन्स परीक्षा दिएर महिनौं कुर्दापनि लाइसेन्स नआएपछि सवारी चालकले सास्ती खेपेको गुनासो गरेका हुन् । लाइसेन्स नआएको मौका छोपेर नक्कली चालक पनि उत्तिकै देखिएका छन् ।
डेढ बर्षअघि चितवनका सन्तबहादुर देउजाले लाईसेन्सका लागि निवेदन दिएका थिए । परीक्षा पास गरेपछि राजश्व तिरेर उनले रसिद लिएपनि अहिलेसम्म लाईसेन्स भने नपाएका हुन् । उनले ट्राफिकले दिएको चिट देखाएर मोटरसाईकल चलाईरहेका छन् । धौलागिरी यातायात व्यवस्था कार्यालयमा अहिले दैनिक एक सयको हाराहारीमा युवाहरु लाइसेन्स खोज्दै आउ“छन् । तर यातायात व्यवस्था कार्यालयले चित्तबुझ्दो जवाफ दिन सक्दैन । यातायात व्यवस्था बिभागले पठाएको छैन आएपछि दिन्छौं भन्ने उत्तर मात्र आउने गरेको छ ।
राजश्व तिर्ने क्रममा पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले हैरानी खेपेका छन् । भौचर काटेर गन्तव्यमा हिडेका युवालाई कार्यालयले बोलाएर दोब्बर राजश्व समेत तिराएको गुनासो बढेको छ । कार्यालय र सफ्टवेयरको कमजोरी देखाएर सेवाग्राहीलाई दोब्बर राजश्व तिराउने काम पनि भैरहेको छ । एक युवाले आफुले राजश्व तिरेर हिडेपछि फेरी तिर्न बोलाएको गुनासो गरे ।
‘राजश्व तिरेर गइसकेपछि मलाई कार्यालयमा बोलाएर दोब्बर रकम तिर्न लगाइयो, हैरान भएपछि मैले रकम तिरें’ उनले भने, ‘पछि बुझ्दै जा“दा कर्मचारीले कम्प्युटरमा दुईपटक इन्ट्री गरेको देखियो ।’ कार्यालयका कर्मचारी भने सिस्टम नखुलेपछि दुइपटक कम्प्युटरको किबोर्ड थिच्दा दुइपटक इन्ट्री भएको बताउ“छन् । ‘हामी सिस्टमको समस्याले हैरान छौं’ शाखा अधिकृत तुलसीराम कंडेलले भने, ‘हामीले पनि बिभागमा गुनासो पोख्ने काम मात्र भएको छ ।’ एउटै व्यक्तिको दुई पटक इन्ट्री भएको रकम मिलाउनुपर्नेमा राजश्वमा जम्मा भएको भन्दै उठाईएको सेवाग्राहीले गुनासो गरे ।
कंडेलले पनि केही व्यक्तिको नाममा दोहोरो राजश्व आएको स्विकारे । कार्यालयले स्मार्ट लाईसेन्स दिने भन्दै दुई बर्षदेखि व्यवस्थापन गरेको थियो । तर हस्तलिखित लाईसेन्स तत्कालै बनाएर गएका सेवाग्राही डेढ बर्षदेखि अलपत्रै छन् । ‘बिदेश जानै पर्ने भएका सेवाग्राही आए भने बिभागलाई पत्र लेखिदिएर तत्काल लाईसेन्स बनाएर गएका छन्’ कंडेलले भने, ‘कुरेर बस्नेको धेरै समय लागेको छ ।’
कार्यालय प्रमुख पारसिं थापाले भने बिभागमै थोरै मेसिन भएकोले सेवा प्रवाह रोकिएको दाबी गर्छन् । ‘नियमित छाप्दा पनि धेरै ग्राहकको एकैपटक पु¥याउन नसकिएको हो’ थापाले भने, ‘हामीले कागजात पुगेपछि माथी पठाउने हो, लाइसेन्स ढिलाईबारे केही भन्न सकिएन ।’ नेपालभित्रै सवारी चलाउन भने कार्यालयले दिएको कागजात पर्याप्त हुने बताए । सेवाग्राहीले भने कागजात च्यातिएर लेमिनेसन गरेर राख्न बाध्य भएको गुनासो गर्छन् ।
सेवाग्राहीले राज्यको बेथितीले जनताले दुःख पाएको टिप्पणी गर्छन् । ‘राजश्व तिर्न एक दिन ढिलाई हु“दा जरिबाना तिराउने राज्यबाटै हामी ठगियौं’ सेवाग्राही रमेश क्षेत्रीले भने, ‘हामीले तिरेको राजश्वबाट भने डेढ बर्षदेखि कुनै सेवा पाईएको छैन ।’ यातायात व्यवस्था बिभागबाट चल्ने क्म्प्युटर सिस्टमको आधारमा सबै कार्यालयमा काम हुने गरेको छ । उक्त सिस्टममा गडवडी हु“दा कार्यालयको काम समेत प्रभावित हुने गरेको छ ।
‘म कार्यालयमा आएको ४ महिना भयो, चार जनाको मात्र लाईसेन्स आएको छ’ एक कर्मचारीले भने, ‘सेवाग्राहीको आक्रोसलाई हामीले सुनेर बस्नुपरेको छ ।’ पटक–पटक धाउने र हजारौं खर्चेर आएकाहरुले काम नभएको भनेपछि रिसाएर फर्कने गरेका छन् । अधिकांस सेवाग्राहीले स्थानीय कर्मचारीले काम नगरिदिएको झै गरेर थर्काउने समेत गरेको ती कर्मचारीले गुनासो गरे ।
दुई बर्षअघि यातायात व्यवस्था बिभागमा तत्कालिन महानिर्देशक आएर स्मार्ट लाईसेन्स बितरण गरेर देशभर व्यवस्था सुरु भएको बताएका थिए । उनले सेवाग्राहीले ढिलोमा ४५ दिनमा लाइसेन्स पाउने घोषणा गरेका थिए । यहा“ भने उपभोक्ताले २१ महिनासम्म लाईसेन्स नपाएका सेवाग्राही कार्यालयमा धाउने गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले दशैको मौका छोपेर जथाभावी सवारी हाँक्नेलाई कारवाही थालेको छ । सबै स्थानमा चेकिङ बसेर क्षमताभन्दा बढी यात्री राख्ने, लाइसेन्स नभएकाले चलाउने र नियम उल्लंघन गर्नेलाई कारवाही प्रकृया थालिएको प्रहरी प्रमुख नवराज भट्टले बताए । दशैको बेला धेरै यात्री ठगिने, लापरबाहीले दुर्घटना पर्ने भएकोले घटना न्युनिकरणका लागि नियमित चेक थालिएको उनले बताए ।





