बागलुङ, १८ असोज – नेपालीको महान चाड बिजयादशमी तथा दिपावलीको अवसरमा बागलुङ उद्योग बाणिज्य संघले जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूलाई दशै मनाउनका लागि शनिवार च्याङरा र चिउरा प्रदान गरेको छ । बाणिज्य संघले प्रत्येक बर्ष दशैको समयमा कारागार भित्र रहेका कैदी बन्दीहरुलाई च्याङरा र चिउरा प्रदान गर्दै आइरहेको छ । शनिवार कारागार भित्र कार्यक्रम गरि एउटा च्याङरा र दुई बोरा चिउरा संघका अध्यक्ष युवराज राजभण्डारीले चौकीदार सुर्य बिकलाई प्रदान गरेका थिए ।
कार्यक्रममा कारागारका चौकीदार सुर्य बिकले हरेक बर्ष बागलुङ उद्योग बाणिज्य संघले दशैको समयमा संझना गरेर जुन सहयोग गर्ने गरेको छ यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । संघका अध्यक्ष राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजन शाक्यले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव नरेश कडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई बिजया दशमीको शुभकामना दिदै जेलमा कैदी बन्दीले उत्पादन गरेका हस्तकलाका सामानहरू पुस ११ गतेदेखि २० गतेसम्म हुने छैठौं बागलुङ महोत्सवमा बिक्रीवितरण गरेर सहयोग गर्ने अध्यक्ष राजभण्डारीले प्रतिबद्धता ब्यक्त गरे । कारागारलाई सुधार गृहको रूपमा लिएर यहाँ सिकेको सिपलाइ बाहिर आएर ब्यबहारमा उतार्न सके राम्रो हुने धारणा राखे ।
बागलुङ उद्योग संघका पुर्व अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले कारागारमा रहेका कैदी बन्दीलाई दशै मनाउन च्याङ्गरा र चिउरा दिने परम्पराको शुरूवात गरेपछि बागलुङ उद्योग बाणिज्य संघले यसलाई निरन्तरता दिदै आएको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । सरकारले जेल तथा कारागारलाई सजाय घर नभइ सुधार गृह भएको बताए पनि ३५ जना कैदी बन्दीको क्षमता भएको बागलुङ कारागारमा हाल ९२ जना कैदी बन्दी रहेको कारागार शाखाका प्रमुख मोहन प्रसाद उपाध्यायले बताए । महिला कैदी बन्दीको क्षमता १५ रहेको कारागारमा हाल ११ जना महिला कैदी बन्दी र १ जना नाबालक रहेको उपाध्यायले बताए । पुरूष कैदी बन्दीको क्षमता ३५ रहेको कारागारमा ९२ जना क्षमता भन्दा तेब्बर भएपछि कैदी बन्दीलाई कारागार सुधार गृह नभएर बाख्राको खोर बरावर भएको वन्दीहरुको टिप्पणी थियो ।





