शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कांग्रेसमा १० हजार तिरेका १६ को सकस

कांग्रेसमा १० हजार तिरेका १६ को सकस

क्षेत्रीय कमिटीले सकेन, जिल्लामा पठाउने निर्णय


  • Dhorpatan News
  • कार्तिक ४ २०७६, सोमबार

पोखरा,४ कात्तिक  –  आउँदो मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि निर्वाचन आयोगले कार्तिक २१ गते मनोनयपत्र बुझाउने कार्यतालीका सार्वजनिक गरेको छ । तिहारलगत्तैको चुनावी प्रक्रियाबारे यहाँका सबै दलहरु जानकार छन् । तर, चुनाव नजिकिँदा पनि ठूला दलहरुले सो क्षेत्रबाट को उम्मेदवार बन्ने भन्ने सार्वजनिक गर्न सकेका छैनन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको निर्वाचन क्षेत्रमा उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले पनि उम्मेदवार तय गरेको छैन । नेकपाबाट केही नामहरु चर्चामा आए पनि टिकटको अन्तिम टुंगो केन्द्रले नै लगाउने निश्चित छ । उम्मेदवार टुंगो नलागे पनि नेकपाले चुनाव केन्द्रित बैठकहरु भने नियमित आयोजना गर्दै आएको छ । पूर्वएमाले र माओवादी केन्द्रको एकताको लामो समयपछि नेकपाको नगर र तल्ला कमिटीहरुले पूर्णता पाएका छन् । त्यसैले नेकपा आउँदो चुनावमा वडास्तरीय कमिटीहरुलाई सक्रिय बनाउने ध्याउन्नमा छ । आइतबार मात्रै पनि वडा नम्बर ४ र ९ को बैठक बस्यो । बैठकमा पार्टीका जिल्ला तहका नेताहरुको उपस्थिति थियो । निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यी वडाको भेलाले चुनावमा सक्रियतापूर्वक लाग्ने निर्णय ग¥यो ।
‘उम्मेदवार को बनाउने भन्ने वडाले निर्णय गर्ने कुरा भएन तर, चुनाव आफ्नो पक्षमा पार्नुपर्छ भन्ने छलफल भयो’, बैठकमा सहभागि एक जिल्ला नेताले भने,‘ यी दुबै वडा तुलनात्मक रुपले नेकपाको लागि चुनौतिपूर्ण वडा भएकाले पनि हामी बढी खट्नुपर्छ भन्ने निष्कर्ष हो ।’ पोखरा महानगरपालिका वडा नम्बर ४ मा गएको चुनावमा कांग्रेसका शंकर बास्तोलाले चुनाव जितेका थिए । उनले गएको चुनावमा ८ सय १७ मत पाए भने प्रतिद्धन्द्धीले ६ सय ३२ मत पाएका थिए । । वडा नम्बर ९ मा कांग्रेसका वडाध्यक्षले ११ सय ७४ र एमाले वडाध्यक्ष उम्मेदवारले ९ सय ७४ मत पाएका थिए । तत्कालीन माओवादी केन्द्रले पाएको भोट ३ सय १३ र राप्रपाको १ सय ४१ मत थियो । नेकपाले अहिले सबैजसो वडामा आफ्नो अवस्था के छ भन्ने समीक्षा गरेको छ भने आन्तरिक तयारी पनि तीव्र बनाइएको छ । उम्मेदवार भने कार्तिक १० गते आसपासमा सिफारिस गर्ने तयारी नेकपाको रहेको छ । नेकपा कास्कीका सह–इन्चार्ज श्रीनाथ बरालका अनुसार आन्तरिक रुपले आएका नामहरु केन्द्रमा पठाएपछि उम्मेदवार केन्द्रले नै तोक्नेछ । उपाध्यक्ष वामदेव गौतमले चुनाव नलड्ने घोषणापछि सो क्षेत्रमा नेकपाबाट रवीन्द्र पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ । विद्याले नै चाहना गरे उनी स्वभाविक रुपले सो क्षेत्रको पहिलो दावेदार हुन् । उनको निर्णयलाई पार्टीले लाहाछाप लगाउने सम्भावना पनि प्रवल नै छ ।
अघिल्लो चुनाव करिब ८ हजार मतान्तरले हारेको नेपाली कांग्रेसबाट यो पटक सो क्षेत्रको लागि पुराना नेताहरु खेमराज पौडल,महादेव गुरुङ,सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यले पनि उम्मेदवार बन्ने चाहना देखाएका छन् । यीमध्ये महादेव गुरुङले पूर्वमन्त्री पनि हुन् । सुरुमा २, त्यसपछि ३, फेरि ४ र पछिल्लो समय ३ वटा क्षेत्र बनाइएको कास्कीमा महादेवले क्षेत्र नम्बर २ बाटै २०५४ सालको चुनाव जितेका थिए । उनी कास्कीको तत्कालीन क्षेत्र नम्बर ४ बाट २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर, उनी विजयी बन्न सकेनन् । खेमराज पौडेल कांग्रेसमा निष्ठावान तर अभागी नेता मानिन्छन् । सोभियतबहादुरले यसअघि टिकट पाए पनि नतिजा रवीन्द्र अधिकारीलाई सुम्पेका थिए । २ हजारभन्दा कम मतले सोभियतलाई जितेपछि रवीन्द्रले राजनीतिमा पछाडि फर्कनु परेन । उनी तत्कालीन एमालेबाट कास्कीको सोही क्षेत्रमा उम्मेदवार बन्दै गए, विजयी हुँदा उनले मतान्तर पनि बढाउँदै लगे । गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनले नै प्रतिनिधित्व गर्ने कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । गएको चुनावमा रवीन्द्रसँग मैदानमा नेपाली कांग्रेसका देवराज चालिसे रहेका थिए । देवराज रवीन्द्रभन्दा ८ हजार ५ सय ४६ मतान्तरले पछि परेका थिए । यो पटक कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने दौडमा उनी नै सबैभन्दा अघि छन् । देवराज स्वयंले पनि आफू अझै साढे २ वर्ष जनताकै बीचमा बस्नु पर्ने भएकोले स्वभाविक उम्मेदवार भएको जिकिर गरिरहेका छन् । यसका अलावा कांग्रेसबाट क्षेत्र नम्बर २ का सभापति माधव बास्तोला‘मधु’,महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे,गुरु बराल, विजय आचार्य,केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य, विमला भण्डारीले पनि उम्मेदवारको दावी गरेको क्षेत्रीय सभापति बास्तोलाले जनाए । उनीहरुले उम्मेदवारको आकांक्षी बन्न १० हजार रुपैयाँ तिरेका थिए । १० हजार तिरेरै उम्मेदवारको निवेदन हाल्न पाइने भएपछि केही कनिष्ट कांग्रेसीहरु पनि उम्मेदवारको लिस्टमा दरिन पुगे ।
यता, पार्टी केन्द्रीय कमिटीले ३ जनाको नाम सिफारिस गरेर पठाउने निर्देशन दिएको दुई हप्ता बित्दा पनि कांग्रेसले ३ जनाको टुंगो लगाउन सकेको छैन । उम्मेदवारको टुंगो लगाउन आइतबार बसेको क्षेत्रीय कमिटीको बैठकले पनि यो विषयमा निर्णय निकाल्न सकेन । कसको नाम काट्ने र कसको फाल्ने भन्नेमा एकमत हुन नसक्दा बैठकले निर्णय लिन नसकेको हो । आइतबारको बैठकमा क्षेत्र नम्बर २ मै बस्ने व्यक्तिहरुलाई सिफारिस गर्ने प्रयास गरिए पनि विरोधका कारण त्यो प्रयास सफल हुन सकेन । ‘बैठकमा लोकतान्त्रिक तरिकाले कुरा भयो, अब हामीले आएका सबै निवदेनहरु लिपिवद्ध गरि जिल्ला कार्यसमितिमा पठाउने निर्णय गरेका छौँ’, क्षेत्रीय सभापनि बास्तोलाले भने,‘ यो विषय अब जिल्लाले टुंग्याउँछ ।’ अन्य साना पार्टीहरु पनि उम्मेदवार घोषणाको चरणमा रहेका छन् । साझा पार्टीबाट सम्भावित उम्मेदवार रजनी केसीले शुभेच्छुकहरुसँग भोट माग्न थालिसकेकी छन् । उनी भर्खरै कांग्रेस छाडेर साझामा गएकी हुन् ।
मंसिर १४ गतेको उपनिर्वाचनमा ७१ हजार आठ सय ७१ जनाले मतदान गर्दैछन् । तीमध्ये ३३ हजार एक सय छ जना पुरुष र १८ हजार सात सय ६४ जना महिला रहेका छन् । मतदातामध्ये एकजना तेश्रो लिङ्गी पनि भएको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो चुनाव अर्थात् २०७४ सालमा सो क्षेत्रको मतदाता संख्या ७० हजार ६ सय ५१ रहेको थियो । यो चुनावमा १ हजार २ सय २० जना मतदाता बढेका हुन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा यो पटक ३२ मतदान स्थल तथा ८२ वटा मतदान केन्द्र रहनेछन् । वडा नं. १७ स्थित पार्दी माविको मतदान केन्द्रमा सबैभन्दा बढी ५०२८ जना र वडा नं. १६ को दिपज्योती आधारभूत विद्यालयको केन्द्रमामा सबैभन्दा कम ७०८ जनामात्रै मतदाता रहेका छन् । पोखरा लेखनाथ महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरु यो क्षेत्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->