पोखरा, ५ कात्तिक – सबै नाम केन्द्रमा पुगे आ–आफ्नो व्यक्तिगत बलबुताले टिकट हत्याउने दाउमा आकांक्षीहरु रहेको दोहोरो निवेदन प्रकरणबाट सहजै अनुमान लगाउन सकिन्छ ।
अघिल्लो चुनावको मतपरिणामले भन्छ,‘ कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस धेरै कमजोर छ ।’हुन पनि अघिल्लो चुनावमा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । रवीन्द्रको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमेपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । यतिबेला तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बनेको छ । हिजोको मत हेर्दा नेकपासँगको निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेस नै हो । अहिले नेकपा सरकार अलोकप्रिय भएको आंकलन गरिएको छ तर कांग्रेस पनि लोकप्रिय छैन । यही स्थितिमा चुनावमा होमिने कांग्रेसी उम्मेदवारले अबिर–टीका लगाउन ठूलै मेहनत गर्नुपर्छ ।
यता, कांग्रेस भने चुनाव कसरी जित्नेभन्दा पनि टिकट कसलाई दिने भन्ने आन्तरिक द्धन्द्धमा फसेको छ । पार्टी केन्द्रीय कार्यसमितिले ‘सके सर्वसम्मत एकजना र नभए बढीमा तीनजनासम्मको नाम पठाउनू’ भने निर्देशन दिएको पनि निकै भयो । तर, कांग्रेसको क्षेत्र नम्बर २ को समितिले न त उम्मेदवार टुंग्याउन सकेको छ, न त, उम्मेदवारका आकांक्षीहरु नै अर्कालाई छाड्ने मनस्थितिमा देखिएका छन् । यसले गर्दा क्षेत्रीय समितिले जिल्ला समितिलाई उम्मेदबारको नाम पठाउन नै ढिलाई भएको छ । सुरुमा नै क्षेत्रीय समितिले आकांक्षीहरुलाई १० हजार रुपैयाँ बुझाएर मनोनयन–पत्र दर्ता गर्ने फाराम खोल्यो । क्षेत्रीय सभापति माधव (मधु )बास्तोलाका अनुसार यो उपक्रममा १६ जना आकांक्षीहरुले १० हजार तिरेरै फाराम भरे । फाराम भर्नेहरुबीचबाट ३ जना छान्न पटक–पटक बैठक बस्यो । तर, बैठकले कुनै निर्णय निकाल्न सकेन । उम्मेदवारका आकांक्षीहरु पनि टसमस भएनन् । यसै मेसोमा क्षेत्रीय समितिमा रहेका ३९ जनामध्ये ३१ जनाले यसअघि नै उम्मेदवार बनेका देवराज चालिसे नै उम्मेदवार हुनुपर्ने भन्दै क्षेत्रीय समितिमा निवेदन बुझाए । अध्यक्ष मधुबाहेक बहुसंख्यक सदस्यहरु देवराजको पक्षमा उभिएपछि बाँकी ११ जना आकांक्षीहरु पनि ताते । उनीहरुले पनि उम्मेवारका दावेदार १६ जनाकै नाम क्षेत्रीय समितिले जिल्ला समितिलाई सिफारिस गर्नुपर्ने मागसहित अर्को निवेदन हाले । आइतबार साँझसम्म चलेको यो दोहोरीबीच सोमबार पनि क्षेत्रीय समितिको बैठक बस्यो । मिलाउने प्रयत्न पनि गरियो तर क्षेत्रीय समिति नै विभाजित भएपछि निर्णय गर्ने कुरै भएन ।
‘हामीकहाँ २१ जना ( देवराज पक्षधरले ३१ जना भने पनि ) र ११ जना उम्मेदवारको चाहना राख्नेको छुट्टाछुट्टै निवेदन प¥यो’, क्षेत्रीय सभापति बास्तोले भने,‘ अब हामी दुबै निवदेनसहितको नामावली जिल्लालाई बुझाउँदैछौँ ।’ सबै नाम केन्द्रमा पुगे आ–आफ्नो व्यक्तिगत बलबुताले टिकट हत्याउने दाउमा आकांक्षीहरु रहेको यो प्रकरणबाट सहजै अनुमान लगाउन सकिन्छ ।
क्षेत्रीय समिति ठोस निष्कर्षमा पुग्न नसकेपछि यो विषय जिल्लाले समेत टुंग्याउन नसक्ने देखिएको छ । जिल्ला सभापति कृष्ण केसीका अनुसार केन्द्रीय समितिले जिल्ला समितिलाई उम्मेदवार छनौटको अधिकार नै दिएको छैन । ‘हामीलाई त क्षेत्रले पठाएको निर्णय सुझावसहित पठाउन केन्द्रको निर्देशन हो, हामी भोलि(मंगलबार) पार्टीको नियमित बैठक बस्दैछौँ’, सभापति केसीले भने,‘नाम आए ठीकै छ, नत्र हामी ताकेता गर्छौँ ।’
स्रोतका अनुसार कांग्रेसमा उम्मेदवार छनौटमै लडाभाँति भइरहँदा नेकपा भने आन्तरिक तयारीमा जुटेको छ । टिकट जसले पाए पनि एकजुट भएर चुनावमा जाने सहमति भएकाले नेकपामा को उम्मेदवार बन्नेभन्दा पनि संगठनलाई कसरी मजबुत बनाउने भन्नेबारे तयारी थालिएको छ । यता, कांग्रेसमा भने उम्मेदवार बन्नेहरुबीच नै मतैक्यता छैन ।
‘टिकट पाउने एउटाले हो भन्ने सबैलाई थाहा छ, हामीले त्यो सिट त पहिल्यै गुमाएका हौँ’,कांग्रेस स्रोतले भन्यो,‘ यो पटक जसरी पनि जित्नुपर्छ भन्नेभन्दा पनि कसरी टिकट पाउने भन्नेमा पो साथीहरु दौडिए,यसले आउँदो चुनावमा पनि कांग्रेसभित्र अन्तरघात हुने सम्भावना रहेको छ ।’ क्षेत्रीय समिति बलियो भएर ‘बोल्ड’ निर्णय नगर्दा यो अवस्था आएको पनि स्रोतले जिकिर ग¥यो । अर्कोतर्फ अघिल्लो चुनाव हारेका र स्वभाविक दावेदार मानिएका देवराज चालिसेको व्यवहारले पनि अन्य उम्मेदवारका आकांक्षीहरु रुष्ट बनेको कांग्रेसीको बुझाई छ । आफू सर्वसम्मत हुनु र सबैलाई मिलाएर लैजानुपर्ने ठाउँमा अरुलाई बिच्क्याउने काम उनीबाटै भएको पनि स्रोतले दावी ग¥यो ।
यता, पार्टी सभापति कृष्ण केसी पनि देवराज स्वभाविक दावेदार भए पनि सबैलाई मिलाउने दायित्व देवराजकै भएको स्वीकार्छन् । ‘सर्वस्वीकार्य हुने व्यवहार गर्नुपर्ने दायित्व पनि उहाँ( देवराज) कै हो’, टेफिफोनमा उनले भने,‘ चुनावमा टिकट पाएपछि पनि सबैलाई मिलाएर लैजानुपर्ने दायित्व कसैले भुल्नु हुँदैन ।’ कांग्रेसबाट खेमराज पौडल,महादेव गुरुङ,सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य,देवराज चालिसे, माधव बास्तोला‘मधु’,महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे,गुरु बराल, विजय आचार्य,केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी टिकट फुत्काउने दौडमा छन् ।
पार्टी सभापति केसी चुनावी अभियानमा
नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसी सोमबारदेखि उपनिर्वाचनको चुनावी अभियानमा जुटेका छन् । केही समय स्वास्थ्यका कारण घरमै बसेका केसीले सोमबार नेपाली कांग्रेस वडा नं १७ ले आयोजना गरेको उपनिर्वाचन लक्षित विशेष बैठकमा बोल्दै निर्वाचन कांग्रेसलाई विजयी बनाउनका लागि आवश्यक तयारी थालिएको दावी गरे । वर्तमान सरकारको कार्यशैलीप्रति आम नागरिकको गुनासो बढिरहेका बेला यो उपनिर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको उनको भनाई थियो ।
वडा ईकाइ १७ का सभापति देवराज आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रियसभा सदस्य बिन्दा राना मगरले कांग्रेसले क्षेत्र नं २ मा विकास निर्माणलगायतका काममा कांग्रेसकै बढी योगदान रहेको दावी गरिन् । उपनिर्वाचनमा वडा नं १७ का लागि नगरबाट खटिएका प्रतिनिधि नगर सदस्य विश्वमोहन पौडेल,कांग्रेस कास्कीका जिल्ला सदस्य पुण्डरीप्रसाद बराल, युवक लामिछाने, नम्रता बराललगायतले बोलेका थिए ।





