बागलुङ, २३ कात्तिक – प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १४ गते हुने निर्वाचनको मनोनयन दर्तापछि राजनीतिक दलहरु प्रचारमा होमिएका छन् । उनीहरुले योजनाबद्ध ढंगले चुनावको प्रचार गरिरहेका छन् । गत बर्ष प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि खाली भएको स्थानमा निर्वाचन आयोगले चुनाव गर्न लागेको हो । मनोनयन दर्तापछि चुनावी अभियानमा खटिएका उमेदवारहरु आफ्ना एजेण्डाबारे प्रष्ट्याउने र चुनाव जित्ने दाबीसहित लागेका छन् । केही उमेदवारले यसअघि नै पर्चा तयार पारेर प्रचार थालेका थिएभने बाम गठबन्धन र कांग्रेसका उम्मेदवार भने शुक्रवारदेखि पर्चा बनाउन तल्लिन छन् । उनीहरुले तालिका सहितका प्रचार अभियान गर्ने बताएका छन् । उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै फरक पार्दैन, तर यो निर्वाचनले सत्ताको समीक्षा गर्ने अवसर भने प्राप्त गर्ने बागलुङ सहकर्मी भन्छन् ।
खिम बिक्रम शाही
(वाम गठबन्धन)
राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहेका शाही प्रदेशसभाका लागि बाम गठबन्धनको उम्मेदवार हुन् । बिद्यालय तहमा पढ्दा पढ्दै २०४० सालमा अखिल छैठौको राजनीतिमा लागेका शाही बिद्यार्थीबाट युवक संगठनमा पनि सक्रिय थिए । २०५२ सालमा राजमोको जिल्ला कमिटि सदस्यमा आएका शाही ३ कार्यकाल जिल्ला सदस्यमै थिए । अहिले उनी सचिवालय सदस्यमा पुगेका छन् । गत स्थानीय निर्वाचनमा राजमोबाट निसीखोला गाउँपालिकाको अध्यक्षको उमेदवार थिए । कांग्रेसका तारानाथ पौडेलसँग शाही पराजित भएका थिए । उनले यो निर्वाचनमा पश्चिम बागलुङको पुरानो कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, निसेल ढोरमा शिक्षा र संचारको पहुँच पु¥याउने लगायतको काम गर्ने बताए । आफ्नो दललाई नेकपाले समेत साथ दिएकोले जित निश्चित भएको समेत उनको दाबी छ । पटक पटक कांग्रेसले सत्ता चलाए पनि बिकासका लागि काम नगरेकोले बामपन्थीलाई नै पत्याउने उनले बताए । संघियता बिरोधी पार्टी भएपनि संघियता पक्षधरको सहकार्यमा उम्मेदवार भएकोले यो अवधिमा साझा र सहमतिका नारा मात्र लगाउने उनले बताए । ‘संघियता बिरोधी नारा अहिले थाती राख्छौं’ उनले भने, ‘जनताको बिकासका लागि भएका साझा एजेण्डामा बसेर प्रचार गरिन्छ ।’ संघियता बिरोधी अभियान भने आफ्नो निरन्तर रहने उनले प्रष्ट्याए ।
जीत शेरचन
(नेपाली कांग्रेस)
कांग्रेसका उमेदवार जीत शेरचन यसअघिको निर्वाचनका पनि उम्मेदवार थिए । राजमोकै टेकबहादुर घर्तीसँग पराजित शेरचनले यसपटक पनि टिकट पाएका हुन् । सबै संगठन परिचालन गरेर निर्वाचनमा होमिने भन्दै उनले शनिबारदेखि निर्वाचन क्षेत्रमा कार्यक्रम तय गरेको बताए । बिद्यालयमा पढ्दा २०५१ सालदेखि नेबिसंघको राजनीतिमा होमिएका शेरचन क्याम्पस स्तरमा धेरै सक्रिय भए । बर्षौदेखि अखिलले जित्ने महेन्द्र रत्न क्याम्पस ताहातलको स्ववियु सभापतिमा जित्न सफल भएकोले उनको बौद्धिक र राजनीतिक क्षमता राम्रो भएको कार्यकर्ता तहमा बुझाई छ । क्याम्पसको पढाई सकेपछि शेरचनले २ पटकसम्म कांग्रेसको महाधिवेसन प्रतिनिधिमा निर्वाचन जितेका थिए । उनले आफ्नो उमेदवारीलाई बिकासको गति तीब्र गतिमा लैजानका लागि भएको बताए । ‘पंचायतको पालादेखि नै सामान्य बिकास भैरहेको छ, तर बिकासलाई द्रुतगतिमा लैजान सफल नेतृत्व चाहिन्छ’ उनले भने, ‘आफ्नो अगुवाईमा योजनाबद्ध बिकासको रेखा कोर्ने केही आधार बनाएको छु, त्यो जनतामा लैजान्छु ।’ पार्टीभित्रै घात अन्तरघातले हार्ने गरेको आरोप यो पटक चिर्ने शेरचनको दावी छ । चुनाव जित्नका लागि संघियता बिरोधीलाई संघियता पक्षधरहरुले साथ दिएको उनको टिप्पणी छ ।
शेरमान घर्ति
(बागी उम्मेदवार)
लामो समयसम्म राजमोको नेताको रुपमा चिनिएका शेरमान घर्ती केही बर्षअघि माओवादीमा प्रवेश गरेका थिए । हाल नेकपाको कार्यकर्ता भएर पनि उनी नेकपाको समर्थनकै उम्मेदवार खिम बिक्रम शाहीबिरुद्ध बागी बनेका छन् । बाम गठबन्धनलाई उनको उम्मेदवारी घाँडो भएको छ । प्रभावशाली व्यक्ति भएकोले उनको बागी उमेदवारीले नेकपाको मतमा असर पर्ने बिश्लेषण शुरु भएको छ । यता नेकपाका नेताहरुले घर्तीले उमेदवारी फिर्ता गर्ने दाबी गरे । ‘उहाँ नेकपाको जिम्मेवार नेता हो, उम्मेदवारी फिर्ता हुन्छ’ नेकपाका नेता कृष्ण पाठकले भने, ‘हामी छलफलमा छौं, बिना शर्त उम्मेदवार फिर्ता गर्नुहुन्छ ।’ यो क्षेत्रमा उमेदवार बनेका राप्रपाका निमबहादुर भण्डारी र गणेशबहादुर कुँवर कांग्रेस छाडेर राप्रपामा पुगेकाले कांग्रेसको मत काट्ने अडकलबाजी शुरु भएको छ । समाजवादी पार्टीका अशोककुमार बिक, जनमुक्ति पार्टीका यामबहादुर आले र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका अनिलकुमार राईबाट पनि दुवै तर्फको सामान्य मत काँट्ने अड्कल छ । मंगोल नेशनल अर्गनाईजेसनका मित्रबादुर मगर पनि यहाँका उम्मेदवार छन् । संगठनको हिसाबले कमजोर भएकोले अन्य दलका उम्मेदवारबाट मुख्य उम्मेदवारलाई खासै समस्या नपर्ने समेत बिष्लेषण भएको छ ।





