बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३
  • २६ कार्तिक २०८३ , बिहिबार
  • November 12 2026

गलकोट घुम्टेको पर्यटकीय आकर्षण

गलकोट घुम्टेको पर्यटकीय आकर्षण

सन्दर्भः गलकोट घुम्टे महोत्सव (मंसिर ४–११)


  • प्रा.डा. दिनबहादुर थापा
  • कार्तिक २६ २०७६, मंगलबार

अहिलेको गलकोट कुनै समय चौवीसी राज्यअन्तर्गतको स्वशासित भूगोल हो । त्यो समयमा यसको क्षेत्रफल पूर्वमा काठेखोला, पश्चिममा रन्सिङकिटेनी, दक्षिणमा वामीटक्सार र उत्तरमा ताराखोलाको धुरीसम्म मानिन्थ्यो । यसको राजधानी वा तत्कालीन समयको ठूलो कोटघरको भग्नावशेष सिगालाको धुरीमा अहिले पनि देख्न सकिन्छ । यही कोटघरमा गोलो आकारको कोतघर पनि बनाइएको हुँदा ‘गोलोकोत’ बाट अपभ्रंश भएर यसको नामकरण गलकोट भएको सहजै अनुमान गर्नसकिन्छ । भलै यो कोट वा कोतघर पछि हटियाको रजरा हुँदै टेउवाको धुरी र पछि हरिचौर बजारमा बनाइयो । यो राजदरवार अहिले जीर्ण अवस्थामा छ । वि.सं. १८४४ सम्म यो भूगोलले एउटा स्वतन्त्र राज्यको मान्यता पायो भने अन्यत्रका राज्यहरु खोसिंदासमेत २०१७ सालसम्म पनि यो ठाउँले एउटा रजौटाको मान्यता पायो । यही राज्य, रजौटा वा वर्तमान गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मान्यता पाएको भूगोलको केन्द्रविन्दु नै घुम्टे पहाड हो, जसको उचाइ १०३९३ फिट रहेको छ । यसको पूर्वमा हरिचौर, पश्चिममा पाण्डवखानी, उत्तरमा हिल र दक्षिणमा मल्मका गाउँहरु रहेका छन् । आज घुम्टे र गलकोट एकअर्काका पर्यायवाची नाम भएका छन् । गलकोटको साझा पहिचान बनेको घुम्टेका नामबाट दोस्रो गलकोट घुम्टे महोत्सवको आयोजना २०७६ मंसिर ४ देखि ११ सम्म गलकोट नगरपालिका ५ हरिचौर, बसाहफाँटमा हुँदै छ । गलकोट घुम्टे महोत्सवको सन्दर्भलाई जोडेर यहाँ गलकोटको इतिहास, संस्कृति र प्रकृतिको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो । यसको केन्द्रविन्दुमा गलकोट पर्दछ । गलकोटको पनि केन्द्रविन्दु घुम्टे हो । बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी, डाली–सोली, स्लेट खानी, असला माछा आदि हुन् । यी सबै प्राकृतिक सम्पदाहरु गलकोटमा पाइन्छन् । गलकोटलाई जल, जडीबुटी, जनघनत्व, जंगल र उर्वर जमिन भएको भूखण्ड भनेर चिन्दा पनि फरक पर्दैन । यत्तिमात्र नभइ गलकोटलाई स्वच्छ हावापानी र स्वादिलो माछा पाइने ठाउँ, गाँवैपिच्छे खानी, निगालो र बाँसका अनेक डाली, सोली, डेली, नाङ्लो आदि र दारका ठेकी, चौठी, आरी, पाथी, धुपौरो, भुट्नेरो आदि वस्तु पाइने क्षेत्रका रुपमा पनि चिनिन्छ । यसका अतिरिक्त गलकोटमा धान, मकै, गहँु, जौ, उवा, फापर, लटे, जुनेलो, काउनो, सिलम, भाङ्गो, भटमास आदि खाद्यवालीको उत्पादन हुन्छ । यी उत्पादित वस्तु पनि गलकोटका पर्यटकीय आकर्षणका वस्तु हुन् ।
पर्यटन व्यवसाय र त्यसको पर्यटकीय सम्भावनालाई त्यो ठाउँको ऐतिहासिक पृष्ठभूमिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गलकोटको ऐतिहासिक पृष्ठभूमिलाई अवलोकन गर्दा प्राचीन समयदेखि नेपाल एकीकरण पूर्व ( वि.स.१८४४) को अवधिसम्म यो एउटा स्वतन्त्र राज्यका नामले परिचित थियो । वि.सं. २०१७ सम्म पनि यो एउटा रजौटाअन्तर्गतको राज्य नै रह्यो । २०१९ सालसम्म पनि बागलुङ जिल्लाका मुख्य प्रशासनिक एकाइहरु गलकोटमै रहेका थिए । पछि त्यहाँका प्रशासनिक एकाइहरु पनि बागलुङ बजारमा सारियो । २०४६ सालको परिवर्तनसँगै गलकोट क्षेत्रलाई पनि तीनवटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । एकपछि अर्को बज्रपात परेपछि गलकोटले ऐतिहासिक पहिचानलाई कायम राख्न सकेन । यहाँको युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन हुने र बसाइसराइको क्रम सुरु भयो । युवा जनशक्तिको पलायन, बसाइ सराइ र राजनीतिक अस्थिरताले बढवा पाएपछि गलकोट क्षेत्र शिक्षा, स्वास्थ्य, स्वरोजगार अनि यातायातमा पछि पर्दै गयो । मुलुकमा गणतन्त्र उदाएसँगै गलकोटमा भौगोलिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय महत्वको उजागर हुँदैे छ । नगरपालिकाले भावनात्मक एकताको सूत्रपात गर्दै छ भने सडक सुविधाले भौगोलिक एकतालाई सुगम बनाउँदै छ ।
गलकोट आफैमा विविध सांस्कृतिक सम्पदाले धनी क्षेत्र हो । यहाँ विविध जाति, पेशा, धर्म र संस्कारका मानिसहरु बसोबास गर्दछन् । २०१७ सालसम्म पनि यो एउटा छुट्टै राज्यको अभ्यास गरेको ठाउँ हुनाले पनि यसको आप्mनै मौलिक संस्कृति हुनु स्वभाविकै हो । गलकोटका विशेष जातिहरुमा क्षत्री, ब्राह्मण, जनजाति र दलित वर्ग हुन् । यहाँका मुख्य चाडहरुमा वैशाखे बुद्धपूर्णिमा, उभौली, उँधौली, असारे, साउने सक्रान्ति, कृष्णअष्टमी, जनैपूर्णिमा, तीज, दशैं, तिहार, ठुली एकादशी, कात्तिके पर्व, पुसेपन्ध्र, माघेसक्रान्ति, फागुपूर्णिमा आदि हुन् । त्यसैगरी मुख्य लोकगीत र नृत्यहरुमा झाम्रे (यानीमाया, नानीलै, सालैजो, विनासाले, घुम्टे साइला, चुड्का), सोरठी, भैलो, ख्याली, भजन, रत्यौली, गोविचन, लाखेनाच, घाटुनाच, सरायोनाच, गाइनेगीत, जोगीनृत्य, खुकुरीनाँच, भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने, धामीओख्खा आदि हुन् । त्यसैगरी बाजाहरुमा नौमती बाजा, माचुङ्गा, मुरली, मादल, डम्फु, खैजडी, मुजुरा, घाँघर आदि हुन् । विशेषगरी रिघा र पाण्डवखानी घाटु, ठाडो सोरठी र झाम्रेले प्रसिद्धि कमाएका ठाउँ हुन् भने मल्म नौमती बाजा, लस्के सोरठी र लोक भजनमा ख्याति कमाएको ठाउँ हो । त्यसैगरी हटिया, हरिचौर, नरेठाटी लाखे, जोगीनाच, सरायोनाच, गाइनेगीत, खुकुरी नाच आदिमा प्रसिद्धि कमाएका ठाउँ हुन् । हिल, तारा र अर्गल गोविचन लगायत भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने आदि गीत, नृत्य र लोकनाटकको पहिचान बोकेका ठाउँ हुन् । यी लोकसंस्कृतिहरु आआप्mनो संस्कार अनुरुप मनाइन्छन् । यी संस्कार र संस्कृतिहरुमा जातीय विशिष्टताका साथै क्षेत्रीय पहिचान र सामुहिकताको भावना बढी झल्किन्छ । समग्रमा गलकोट क्षेत्र आफैमा लोकसंस्कृतिको भण्डार नै हो भन्दा पनि अतिसयुक्ति नहोला ।
गलकोटमा मानिसहरुको बसोबास हुन थालेदेखिनै घुम्टेमा बालसिद्ध र कालभैरवको थान (मन्दिर) स्थापना गरी पूजा गर्न थालिएको हुनुपर्छ । घुम्टेमा प्राकृतिक रुपमा दुईवटा चुचुरा छन्, जुन एउटा उत्तरतर्फ फर्किएको मामा सिद्धको मन्दिर र अर्को दक्षिणतर्फ फर्किएको भान्जा कालभैरवको मूर्ति भनी पूजा गर्ने चलन छ । यिनै सिद्ध र भैरवको पूजा गर्नाले व्यक्तिगत मनोकांक्षा पूरा हुनुका साथै बाली सप्रने र समयमा पानीको वर्षाउ हुनुका साथै अन्य दैवी प्रकोपको न्युनीकरण हुन्छ भन्ने जनविश्वासले गर्दा व्यक्तिगत रुपमा सिद्ध–भैरवको भाकल गर्नुका साथै थानमा घण्टा, त्रिशुल, ध्वजा चढाउने र पूजापाठ लगाउने चलन अद्यापि पनि छ । यिनै सिद्ध–भैरवप्रतिको आस्थाले गर्दा गलकोटका प्रायः गाउँहरुमा वर्षको दुई पटक सिद्ध, बाली र पानीकोे सामूहिक पूजा गर्ने चलन पनि व्याप्त छ । मामा बालसिद्ध ब्राह्मण हुनाले धूप, धजा, खिर र रोट चढाएर पूजा गरिन्छ भने भान्जा कालभैरव क्षत्रिय हुनाले उनलाई पाठाहरु बली चढाएर वा परेवा उडाएर पूजा गर्ने चलन छ । व्यक्तिगत रुपमा पनि प्रत्येक वर्ष बैशाखे चण्डी पूर्णिमा वा बुद्ध जयन्तीको अघिल्लो (चतुर्दशीका) दिन यिनै सिद्ध–भैरवका भक्तजन वा दर्शनार्थीहरुको घुम्टेमा ठुलो घुइँचो लाग्छ । तर परिवर्तित सन्दर्भमा यो परम्परामा ह्रास आइरहेको छ । घुम्टे पहाडमा केवल सिद्ध भैरवका भक्तजनहरु मात्र नभइ, बैसालु युवायुवतीहरु जीवनभरि पारिवारिक बन्धनमा बाँधिने बाचा गर्न पनि चण्डी पूर्णिमाको अघिल्लो दिन घुम्टे जाने पुरानो चलन हो । अन्य मानिसहरु टुनामुना र झारफुक गर्ने लामा–वैद्य एवम् पशुपतिको दर्शन सिद्राको व्यापार (निगाला काट्ने, रुपासाग, खिरमला साग, कुरिलो, ढका आदि वन तरकारी खोज्ने, झाडुलगाउने कुचेटो खोज्ने, वर्ष दिनलाई पुग्ने घरायसी औषधि खोज्ने) आदि उद्देश्यले पनि त्यस दिन घुम्टेमा पुगेका हुन्छन् । सर्वसाधरण मानिसहरु सोही दिन घुम्टेको दर्शन गरी बेलुका नै घर फर्किन्छन् भने कोही घुम्टेबाट सिधै तल पर्ने पाण्डवखानीको सिद्धथाने मेलामा झर्दछन् । यहाँ रातभरि बाजा–गाजा र झाम्रेको खालमा रात गुजारेपछि भोलिपल्ट पूर्णिमाको दिन पाण्डवखानीको काभ्रे मेला (घाटुनृत्य) मा सहभागी भएर तीन दिनपछि घर फर्किने परम्परित चलन हो ।
घुम्टे पहाडका मुख्य पर्यटकीय पर्यवलोकनका दृश्यहरु भनेका सिद्ध र भैरवका थान, सानो घुम्टे, सिद्धेश्वरको गुफा, राम्चे ओठार, गोठथरी, बुलाहा बाबाको आश्रम (जहाँ आजभन्दा करिव ८० वर्ष पहिले ठूलो सप्ताहा लगाइएको थियो र यसका भग्नावशेषहरु अद्यापि अवलोकन गर्न सकिन्छ), भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङ्गेभीर, पैराको सोतो, शालीग्राम पत्थर, हात्तीसँुढे चट्टान, हिउँका गल्छी, घोरल–मृगका बथान, लालीगुराँस लगायत अनेक प्रजातिका फुलहरु यहाँका धार्मिक र पर्यटकीय दृश्यहरु हुन् । घुम्टेबाट देखिने गलकोटकै मुख्य दृश्यहरुमा गलकोटे राजदरवार, हरिचौर बजार, गाइघाट झरना, गाजाको दह, गौदी र दरम खोलाका झण्डै एक दर्जन झलुङ्गे पुलहरु, हटिया बजार, मजुवाको फाँट, ठूलोकोट, टक्सार बजार, भुजुङ्गे स्लेटखानी र अन्य पहाडका चुचुराहरु, छाँगा, छहरा, गुफा र ढुङ्गे घरहरु हुन् । घुम्टेकै चुचुरोभन्दा केही तल रहेको शालीग्राममा टाँसिएर रहेका स–साना शीलापत्थरहरु पनि यसका आकर्षक दृश्य हुन् । यी शीला केवल शक्तिशाली लामाहरुले मात्र सिद्धको सिद्धिप्राप्त गरेपछि छुटाएर लग्न सक्छन् भन्ने जनविश्वास छ, जुन सर्वसाधरणले छुटाएर लैजान सक्दैनन् ।
घुम्टेलाई प्रकृतिले सबै थोक दिएकोे छ भने घुम्टेले गलकोटलाई पालेको छ । कुनै समय यही घुम्टेमा सयौ गोठथरीहरु र भेडीगोठहरु राखेर पशुपालक कृषकहरुले आप्mनो जीवीकोपार्जनका साथै गलकोटलाई नै दूध–घिउ र मासु पु¥याउँथे । दक्षिणबाट उत्तर बहने जलवायुलाई रोकेर समयानुकूल जलवर्षा गराउँनाले त्यहाँका कृषकहरुलाई आत्मनिर्भर गराउँन अनि सदावहार खोलाहरु बग्नमा पनि यसकै योगदान रहेको छ । दाउरा, घाँसपात, पर्सिम्लादेखि लिएर अन्य दैनिक उपभोग्य वस्तुहरु लगायत पटुवा, बाँस, घरेलु सामग्री (हाते कागज, नाम्ला–दाम्ला, मान्द्रा–सोली, काम्ला–घुम र ठेका–ठेकी) हरुका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत यसैले उपलब्ध गराएको छ । घुम्टेले गलकोटवासीलाई मात्र नभइ त्यहाँ पुग्ने जोसुकै पर्यटकलाई मनग्य उपहारहरु दिएर पठाउँछ । घुम्टेको चुचुरोबाट उत्तरतर्फका धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमालहरुको वक्षस्थलमै लडीबुढी गर्नसकिन्छ । शक्तिशाली दूरविनको सहायताले त वरपरका धेरै छिमेकी जिल्लाका प्राकृतिक सौन्दर्यको दृश्यावलोकन सहजै गर्नसकिन्छ । गलकोट नगरपालिका र ताराखोला अनि बडीगाड गाउँपालिकाका सबै वडा र वस्तीहरुलाई यहाँबाट राम्रैसँग चिहाउन सकिन्छ । यसरी गलकोटको धार्मिक, सामाजिक र आर्थिक महत्वसँग पनि घुम्टे जोडिएको हुनाले यसलाई आन्तरिक पर्यटन केन्द्रका रुपमा विकास गर्नसकिने प्रशस्त आधारहरु छन् ।
घुम्टेलाई पर्यटकीय आकर्षणको केन्द्र स्थल बनाउन सहयोग पु¥याउने ऐतिहासिक र सामाजिक वस्तुहरुका अतिरिक्त यहाँका सयौ प्रकारका जीव–जन्तु, चराचुरुङ्गी तथा जडीबुटीहरु हुन् । घुम्टेमा पाइने यी वन्यजन्तुका लागि आरक्षण केन्द्र, जडीबुटी संकलन, प्रशोधन तथा संरक्षण केन्द्र र प्राचीन समयमा खनिएका तामा, फलाम, सुन, सिसा लगायतका धातु र स्लेट खानीहरुको खोज अनुसन्धान तथा संचालन गर्नसकेको खण्डमा पनि गलकोटको महत्व अझै बढेर जाने निश्चित छ । घुम्टेमा डाँफे, मुनाल, काँडेभ्याकुर लगायत सयौ प्रकारका चराचुरुङ्गीहरु र कस्तुरी मृग, घोरल, थार, चितुवा, चरी बाघ, भालु लगायतका धेरै प्रजातिका दुर्लभ वन्यजन्तुहरु समेत पाइन्छन् । जिल्लामा प्रसिद्ध हुक्के नली (गजिङ निगालो), नाङ्ला, डोका, डेली, सोली, मान्द्रा, भकारी आदि बुन्न प्रयोग हुने तिते, मालिङ, गजिङ, ढोडे आदि निगालाका प्रजातिहरु, लाली, चमेली लगायतका विभिन्न प्रकारका गुराँसका पूmलहरु, चाँप, कोइरल आदि सयौं प्रकारका पूmलहरु, चिराइतो, पाँचऔले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, सिलाजित, पदमचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर आदि औषधिजन्य जडीबुटीहरु र चुत्रो, ऐसेलु, काफल, डेम्मर, जामुन, मुसेलेडी, गुएँली, अएँरी, घएँरी, गोलकाँक्री आदि जङ्गली फलपूmलहरु समेत यहाँ पाइन्छन् । यहाँ पाइने यी सबै औषधि, फलपूmल, खनिज पदार्थ, दारकोकाठ (ठेका कुँद्ने), सिर्मु, रैच, पाङ्ग्रो आदि काठहरु एवम् अन्य उपयोगी वस्तुहरुको सदुपयोग र संरक्षण समयमै गर्नसकेको खण्डमा व्यक्ति, समाज र राष्ट्रको उन्नतिमा ठूलो सहयोग पुग्नेछ । यी विविध प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र सदुपयोग गर्ने परम्परित तरिकालाई अब वैज्ञानिक प्रविधिमा बदलेर घुम्टेलाई नयाँ अनुसन्धान केन्द्रको रुपमा विकास गर्नसकिने प्रचुर सम्भावना छ ।
घुम्टेको प्रचार प्रशारमा २०५७ सालदेखि गलकोटे संघसंस्थाहरु, समाजसेवी र घुम्टे प्रेमी कलमजीवीहरु समेत लागिरहेका छन् । २०६९ फागुन २४ गते ‘गलकोट घम्टे पर्यटन विकास केन्द्र, बागलङ’ को सक्रियतामा हरिचौर, टेउवा मोहडाबाट पर्यटन मन्त्रालयका तर्फबाट ‘घम्टे पदमार्ग’ को शिलान्यास पनि भइसकेको छ । घुम्टे महोत्सव (२०६३), काठमाडौंँदेखि घुम्टेसम्मको साइकल यात्रा, लालीगुराँस महोत्सव लगायतका थुप्रै कार्यक्रमहरु पनि घुम्टेकै नाममा भइसकेका छन् । स्थानीय समाजसेवी, जनप्रतिनिधि र बुद्धिजीवीहरुको पहलकदमीमा लाखौंको बजेट समेत घुम्टे पर्यटनका नाममा खर्च भइ पनि सकेको छ । यसले घुम्टेको प्रचारप्रशारमा ठूलो योगदान त पु¥याएको छ नै तर विकासका नाममा प्राकृतिक विनास अनि वन्यजन्तु र जडीबूटी तस्करहरु पल्किन सहज हुने त होइन भन्ने आशंका पनि बढाएको छ । विश्वास अनि खबरदारी पनि गरौं । विकासका नाममा विकृति र विनाश त ननिम्तियोस् भनी समयमै सबै सचेत हुन जरुरी पनि छ ।
अन्त्यमा गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको ‘गलकोट घुम्टे महोत्सव’ २०७६ ले पूर्ण सफलता पाओस् । यसले गलकोटको ऐतिहासिक, सामाजिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक पक्षको अध्ययन, अवलोकन र प्रचारप्रशारमा टेवा पु¥याओस् । गलकोटेहरुको भावनात्मक एकतामा अझै कसिलो गाँठो पारोस् । गलकोटमा उत्पादित वस्तुले अधिकतम मूल्य पाओस् अनि स्थानीय उत्पादनले प्रोत्साहन । स्थानीय समाजसेवी, गुरुवर्ग र कलाकर्मीको उचित सम्मान होस् अनि शैक्षिक जागरणमा टेवा पु¥याओस् । महोत्सवका नाममा बहुराष्ट्रिय कम्पनीका म्याद गुज्रिएका वस्तुको खपत केन्द्र नबनोस््, शैक्षिक मार्गमा लागेका किशोरकिशोरीहरुलाई तड्पाउने, भड्काउने र विदेश पलायन गराउन उस्काउने अवसर पनि नबनोस् अनि मौलिक कला, संस्कृति र प्राकृतिक वस्तुलाई विस्थापित गर्ने माध्यम पनि नबनोस् यो महोत्सव ! सांस्कृतिक संरक्षण, शैक्षिक जागरण, पर्यटकीय प्रवद्र्धन र अर्थोपार्जन अनि आर्थिक पारदर्शिताको पर्याय बनोस् गलकोट घुम्टे महोत्सव ! ! शुभकामना ! ! !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->