पोखरा, ७ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको बताएका छन् । ‘कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो । कहाँ राष्ट्रवादी रह्यो’,उनले भने । प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेको देउवाको टिप्पणी थियो ।
शुक्रबार पोखरामा डेमोक्रेटिक लर्यस एसोसियसनको वार्षिक साधरणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार प्रजातन्त्रका मूल्य–मान्यताविपरित गएको आरोप लगाउँदै प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।
‘यो सरकार संवैधानिक परिषद्मा सहमतिको बाटो रोक्न खोज्दैछ । संवैधानिक आयोगहरुलाई कठपुतली बनाएर कब्जा गर्न खोजिरहेको छ । आयोगहरु शाही आयोग बनाउन खोजिरहेको छ‘ उनले भने, ‘प्रजातन्त्रका मूल्य–मान्यताविरुद्ध गए हामी कुनै हालतमा छोड्ने छैनौं ।’
सभापति देउवाले सरकारका लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सदनमा मात्रै नभएर सडकमा पनि लड्नुपर्ने समय आएको जिकिर गर्दै कानुन व्यवसायीहरुलाई लड्नका लागि तयार भएर बस्न आग्रह गरे । ‘कम्युनिस्टको काम विस्तारै जनताका हकअधिकार खोस्ने हो । न्यायालय खोस्दैछ, पत्रकारको अधिकार खोस्दैछ । पत्रकारहरु त बोल्नै डराउन थालिसके’ उनले भने, ‘यसका विरुद्ध सदनमा मात्रै होइन अब सडकमै जानुपर्ने भइसकेको छ । लड्न सबै तयार भएर बस्नुस् ।’
यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताए । अध्यादेशमार्फत नियुक्त हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने उनको भनाइ थियो ।
‘म सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्न चाहन्छु । उहाँ यो संविधान अन्तर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रिक अध्यादेशमा लालमोहर लगाउनुहुँदैन’, पौडेलले भने । उनले संवैधानिक परिषद् गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालको विशेष महत्व रहेको बताए । प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको नेता पौडेलको आरोप थियो ।





