पोखरा, ८ मंसिर – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विद्या भट्टराईप्रति सहानुभूति भए पनि देशमा गणतन्त्र आइसकेको स्मरण गर्न आग्रह गरेका छन् ।
आइतबार समाजवादी पार्टी नेपालको चुनावी सभा सम्बोधन गर्दै डा. भट्टराईले गणतन्त्र आइसकेपछि उत्तराधिकारीको रुपमा परिवारबाट मान्छे आउनु गलत परम्परा रहेको बताएका हुन् ।
“कतिपय साथीहरुलाई लाग्न सक्छ, मेरी बहिनी विद्या भट्टराई (म भट्टराई भएको कारण बहिनी भन्छु) उनीप्रति सहानुभूति छ । धेरैमा त्यो लाग्न सक्छ । तर अहिले हामी, मेरा प्यारा मित्र रविन्द्र अधिकारीलगायत सबैले यो देशलाई गणतन्त्रमा पु¥याईसकेपछि अब हाम्रो सन्तान, मेरो उत्तराधिकारी मेरो छोरी हुने होइन, मेरो उत्तराधिकारी मेरो श्रीमती हुने होइन, जनताको छोराछोरी जनताले जसलाई चुन्छन्, त्यसलाई हामीले मान्ने हो,” उनले भने ।
परिवारबाटै उत्तराधिकारी खोज्ने परम्परा लोकतन्त्रविपरीत रहेको उनले बताए । यस्तै, डा. भट्टराईले विद्यालाई आफ्नो धारणा स्पष्ट राख्न समेत आग्रह गरे ।
“मैले मेरी बहिनी विद्या भट्टराईलाई के आग्रह गर्न चाहान्छु भने हामी गणतन्त्रमा गइसक्यौँ, अब हामीले आफ्नै सन्तानले जितेको ठाउँ, आफ्नै परिवारले जितेको ठाउँमा त्यही परिवारले जित्छ भन्ने तर्क हामीले गर्नुहुँदैन । यो लोकतन्त्रविपरीत हुन्छ । जो मान्छे सक्षम छ, त्यसलाई जनताले चुन्ने हो, यसमा हामीले कुनै आग्रह पूर्वाग्रह नराखौँ । बहिनीप्रति सद्भाव राख्दै म उहाँलाई गणतन्त्रको पक्षमा उभिन यो सामन्तवादको गन्ध आउने जुन मान्यता छ, त्यो कलंक नबोक्न र उहाँले समेत खुला हृदयले आफ्नो धारणा स्पष्ट राखिदिन म आग्रह गर्दछु,” उनको भनाई थियो ।
समाजवादी पार्टीले यहाँ ईन्जिनियर पृष्ठभूमिका धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीका संघीय परिषदका अर्का अध्यक्ष उपेन्द्र यादवले सत्तामा रहेर नैसंविधानमा पहिचानसहितको जातीय व्यवस्थाको लागि संघर्ष गर्ने बताए ।





