शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एजेन्डासहित नेकपा जनताकहाँ, ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा

एजेन्डासहित नेकपा जनताकहाँ, ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७६, सोमबार

पोखरा,९ मंसिर – नेकपा मंसिर १४ गते उपचुनाव हुने पोखरा महानगरका ११ वटै वडामा अभियान जारी राखेको छ । प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले नेकपाले चुनावी प्रचारसँगै निर्वाचन निष्पक्ष, मर्यादित र सहज वातावरणमा सम्पन्न गर्न पहल गरेको बताए । कात्तिक ११ गते नेकपाले प्रदर्शनी केन्द्रमा हुने आमसभामा सहभागी हुन कास्की २ का वासिन्दालाई आग्रह पनि गरे । सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताले सम्बोधन गर्ने छन् ।
पोखरा ४ का मतदातासँग भेटघाट गरिरहेको छ । नेकपा वडा कमिटी, बुद्धिजीवीसहित घरदैलौ गरी नेकपाका एजेन्डा जनतालाई बुझाउने क्रम जारी रहेको चुनावी कमान्डर दामोदर बैरागीले बताए ।
पोखरा ७ मा नेकपानिकट सहकारीकर्मी र बुद्धिजीवीको बैठक भएको छ । नेकपा वडा अध्यक्ष पुरुषोत्तम रेग्मीले घरदैलोकोसहित नमुना मतपत्र लिएर निर्वाचन परिचालन कमिटी लागिरहेको बताए । वडामा मतदाताका माग सुन्ने र बुथ कमिटी सदस्यलाई प्रशिक्षण दिइरहेको पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।यता वडा नं ८,९,१५ ,१७,२०,२१ लगायतका वडाहरुमा पनि चुनावी कार्यक्रमहरु सम्पन्न भएको नेकपाले जनाएको छ । यसै उपक्रममा घरदैलोको क्रममा रहेकी नेकपा कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाइ छ । आइतबार पोखरा १६ अर्मलामा भएको घरदैलो र कोणसभामा उनले कांग्रेसले फैलाएका भ्रममा जनताले विश्वास नगर्ने उल्लेख गरिन् । ‘विश्वासले संसार जितिन्छ,’ उनले भनिन्, ‘जोसुकैले जस्तोसुकै अपवाह फैलाए पनि जनता जनार्दन हुन् । आफैं सत्य छुट्याउन सक्षम छन् ।’

ठूला नेताको भाषणपछि कांग्रेस घरदैलोमा
नेपाली कांग्रेस कास्कीले सोमबारदेखि चुनावी कमाण्ड सम्हाल्न पार्टी प्रवक्ता देवप्रकाश शर्मा पनि आउने जनाएको छ । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने भएकोले उनलाई भोट हाल्न अपील गरे ।पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।
उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।’आइतबार पोखरा–२० भलाम, पोखरा–७, पोखरा–११ सहित वडा नम्बर ९,१७, ३३ मा पनि चुनावी कोणसभा र घरदैलो सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
यता, चुनावी अभियानमा रहेको नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट स्थानीय निकायमा चुनाव जितेकाहरुले एकपछि अर्को गर्दै निर्वाचन आचारसंहिता मिचेको आरोप लगाएको छ । नेपाली कांग्रेस कास्कीले शनिबार पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रिलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी पाइप विछ्याउने कार्य गरेको जिकिर गरेको छ । सो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विपरितको हुने कांग्रेसको दावी छ । नियमानुसार वडाध्यक्ष अधिकारीलाई कार्वाहीको माग समेत कांग्रेसले गरेको छ । कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ का चुनाव प्रचारप्रसार संयोजक देवेन्द्र रानाभाटले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । यसअघि कांग्रेसले वडा १५ का वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बाँडेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी हालेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->