बागलुङ, ११ मंसिर– मंसिर १४ मा हुने उपनिर्वाचनको शुन्य समय आज राति १२ बजेदेखि सुरु हुँदैछ । मनोनयन दर्ता गराएर प्रचार प्रसारमा जुटेका दल तथा उम्मेदवारहरुको लागि आफ्नो पक्षमा मतदान गराउनका लागि मतदाता सामु पुग्ने अन्तिम दिन हो आज ।
राति १२ बजेदेखि सुन्य समय सुरु हुनेभएकाले कुनैपनि प्रचार प्रसारका काम गर्न पाईने छैन् । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि हुने उप–निर्वाचनको लागि उम्मेदवार बनेका ८ पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवार सबैले मनोनयन दर्तापछि बिचको समयमा हरप्रयासहरु गरे । उनीहरुले मतदाताको घर घरमा पुग्दा पाएको प्रतिकृया र निर्वाचन हुने क्षेत्रका सर्वसाधारणको मनोभावनाका आधारमा चुनाव हारजितको प्रक्षेपण पश्चिम बागलुङमा हुन थालेको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका शेरमान घर्तिको पत्रकार सम्मेलन मार्फत उम्मेदवारी फिर्ता देखि अरु उम्मेदवारहरुले आफ्नो पार्टीका केन्द्रिय नेता बोलाएर भोट माग्न लगाउने सम्मका काम यो बिचमा भएका छन् । जुन प्रकृयाको अन्तिम कसरतमा आज पनि दल तथा उम्मेदवारहरु ब्यस्त हुनेछन् । उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका नेकपा–राजमो गठबन्धन र नेपाली कांग्रेसका उम्मेद्वारको चर्चा बागलुङ क्षेत्र नं २ (ख) मा हुने स्वभाविक हो । तर मनोनयन दर्तापछि बागलुङको राजनीतिक बृत्तमा एकाएक स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको थियो । शेरमानको उम्मेदवारीले नेकपा–राजमो गठबन्धनमा चर्चा पाए पनि उनले पत्रकार सम्मेलन मार्फत गरेको उम्मेदवारी फिर्ताको घोषणा र चुनावी सभामा बामउम्मेदवारको पक्षमा मत माग्दै हिँडेको अवस्थाले उसको पक्षमा माहोल सिर्जना भएको देखिन्छ । शेरमानको उम्मेदवारी फिर्ता र पार्टी भित्रका अरु असन्तुष्टहरुलाई चुनाव हाँक्न लगाएर चतुर्याईं गरेको नेकपाले चुनाव सहजै जित्ने आँकलन गरीरहेको छ । जुन अभिव्यक्ती नेकपा र राजमोका नेताहरुले पश्चिम बागलुङमा भैरहेको चुनावी सभाहरुमा दिईरहेका छन् ।
नेकपा नेतृत्वले गरेको कसरतका बाबजुद उम्मेदवारी फिर्ता गर्न नपाएका स्वतन्त्र उम्मेदवार शेरमानको नाममा निर्वाचन चिन्ह भने कायम छ । उनले पत्रकार सम्मेलन मार्फत उम्मेदवारीको घोषणा त गरे तर समय सकिएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी फिर्ता भएको कुनै आधिकारीक दस्तावेज छैन् । कानुनी प्रकृया अनुसारनै शेरमानले चुनाव चिन्ह पाए । क्लिप चुनाव चिन्ह पाएका शेरामान बाम गठबन्धनका साझा उम्मेदवार खिमबिक्रम शाहीको गिलास चिन्हमा मत माग्दै त हिँडेका छन् तर उनको चिन्ह दुरुपयोग हुनेमा बाम गठबन्धन बृत्तमा सवै शंकाशंका भने हटेको छैन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको क्लिप चिन्हको प्रचार प्रसारमा हिँडेको र पार्टीको नीति बिपरितको काम गरेको भन्दै नेकपा बागलुङले पश्चिम बागलुङमा दुई दाजुभाई नेतालाई निलम्बन र निस्कासन समेत गरेको छ ।
पार्टीको कारवाही व्यहोरेका नेताहरु दुई दाजुभाई तुलसीराम अर्याल र ददिराम अर्याल खुलेरै क्लिप चिन्हको प्रचारमा लागेका छन् । नेकपा र राजमो पार्टी भित्रको असन्तुष्टि र कारवाहीमा परेकाहरुको खुल्ला प्रचारका कारण बाम गठबन्धनका उम्मेदवारका केही मत काटिने अड्कलबाजीमा थोरै सत्यता भने छ । तर त्यसले जीतहारको गणितलाई उल्टाउन भने सक्ने छैन ।
मुख्य प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसले यस अघिको निर्वाचनमा उपबिजेता बनेका जीत शेरचनलार्इ नै उम्मेदवार बनाएको छ । यस अघि पनि तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र राजमोको संयुक्त उम्मेदवार बनेका टेकबहादुर घर्तीले चुनावमा उनलाई जितेका थिए । अघिल्लो चुनावमा वाम गठबन्धनबाट उठेका घर्तीले ११ हजार ८८४ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरचनले ८ हजार ६२४ मत पाएका थिए । अघिल्लो मत परिणाम र थपिएका मतदाताको मनस्थीती हेर्दा बाम गठबन्धनको पल्लाभारीको सम्भावना रहेको भएपनि शेरमानको चुनाव चिन्हमा अर्याल दाजुभाईले गरेको प्रचारले मत काट्ने र आफ्नो पक्षमा परिणाम आउनेमा कांग्रेसका नेताहरु आशावादी देखिन्छन् । केन्द्रिय सभापती र बरिष्ठ नेता बोलाएर सरकारका कामको बर्खिलाप गरेको कांग्रेसले जुनसुकै हालतमा चुनाव जित्ने दावी गर्दै आएको छ । पार्टी सभापति देउवादेखि युवा नेता गगन थापासम्मको उपस्थितिमा काम गर्नु त्यसैको प्रयाश हो भनेर वुझ्न कठिनाई छैन ।
शेरमानको चिन्हमा केही मत गएपनि नेकपाले पछिल्लो समय गरेको प्रयास र प्रयत्नले कांग्रेसको पल्लाभारी हुने सम्भावना भने निकै कम देखिन्छ । ‘क्लिपमा मत गयो भने एक दुई सय जाला अनुमानै लगाउनुस’ नेकपाका एक विद्यार्थी नेताले भने ‘पहिलेको मतान्तर अहिले नेकपाको पक्षमा रहेको जनलहरले त्यो क्षतिको पूर्ति गर्छ ।’ झिनो मतान्तर र क्लिप चिन्हमा मत जाँदा बाम गठबन्धनले पाउने मत बाट कटाउने मत कांग्रेसको बिजयको कडि पनि बन्न सक्छ भन्नेमा नेवि संघका नेताहरुको दावी देखिन्छ । ‘पहिलेको निर्वाचनमा कमजोर संगठन भयो भनेर जनताले संगठन गर्न मलाई हराए’ कांग्रेस उम्मेदवार जीत शेरचनले भने ‘यस पटक संगठन बलियो बनेको छ मत हाम्रै पक्षमा हो ।’ उनले भनेको जस्तै काम नगरेको भएपनि हारबाट पाठ सिकेको भए कांग्रेसले कार्यकर्ता संरक्षण र मत आफ्नो पक्षमा पार्न केही न केही काम गरेको हुनुपर्छ । अर्को तर्फ २ (ख) मा पर्ने दुईवटा गाउँपालिकामा कांग्रेसकै नेतृत्व छ । निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले गरेका काममा सर्वसाधारणको चित्त बुझेको भए ती क्षेत्रमा जीत शेरचनको पक्षमा मत पर्ने सम्भावना रहन्छ । तर त्यहाँ भएको काममा सर्वसाधारणको चित्त कत्तिको बुझेको छ भन्ने नतिजा भने निर्वाचनको परिणामले नै देखाउला । अर्कोतर्फ आफ्ना कामको बिषयमा जानकारी गराएर कांग्रेसबाटै पालिका प्रमुखमा निर्वाचित भएकाहरुको मनोभावनाले उम्मेदवारलाई साथ दिएको छ छैन भन्नेकुरा पनि मुल्यांकन गर्नुपर्ने बिषय छ ।
स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हले काट्ने मतबाट आशावादी देखिएको कांग्रेसको मत पनि काटिन सक्ने सम्भावना धेरै छ । २०७४ को निर्वाचनपछि कांग्रेस छोडेर अन्य दलबाट उप–निर्वाचनमा उम्मेदवार बनेका नेताहरुका कारण कांग्रेसको मतान्तर थप बढ्ने सम्भावना पनि छ । राप्रपाबाट उम्मेदवार बनेका गणेश बहादुर कुँबर र समाजवादी पार्टीबाट उम्मेदवार बनेका अशोक कुमार बिक २०७४ को निर्वाच पछि कांग्रेस छोडेका नेताहरु हुन् । स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार पनि कांग्रेसको समर्थन छोडेर बिबेकशिल नेपाली दलको समर्थनमा चुनावी मैदानमा छन् । तीनै जना उम्मेदवारले कांग्रेले पहिले पाएका मत काटे भने २०७४ को आम निर्वाचनमा भन्दा अझै धेरै मतान्तरले बाम गठबन्धनको बिजय स्वभावीक हुने देखिन्छ ।
त्यसो त धेरै मतदाता भएको ढोरपाटन नगरपालिका नेकपाको पक्षमा नै छ । त्यहाँका नगरप्रमुखले गरेका कामले निसी र तमानलाई पनि नेकपातिर नै आकर्षण गर्ने देखिन्छ । नगरप्रमुख देवकुमार नेपाली पुगेको सभामा नेपाली काँग्रेसका कार्यकर्ता प्रवेश गरेको तथ्यांकले पनि काग्रेसलाई कमजोर बनाएको देखिन्छ । त्यसमाथि दलित मतदाता धेरै नै रहेको त्यो क्षेत्रमा उनीहरुको आकर्षण पनि कम्युनिष्ट पार्टीमा नै देखिन्छ । यो विश्लेषणमा मतपरिणाम आउदा बाम गठवन्धन र काँग्रेसका विचमा हुने हारजित अघिल्ला निर्वाचनको गणित भन्दा फरक नपर्ने आंकलन गर्नलाई डराउनु पर्दैन ।





