पोखरा, ११ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी भएको बताएका छन् । कास्की–२ को चुनावी सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै प्रचण्डले भने, “राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उमेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै बनाएँ । हामीले मगर समूदायबाट प्रतिनिधित्व गराउँदै महिलालाई नै सभामुख बनाएका छौैं । अब दलितबाट कोही प्रधानमन्त्री बन्छ, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ भने नेकपाकै प्रस्तावमा बन्छ ।”
अध्यक्ष प्रचण्डले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोले नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउन सक्ने बताए । देउवाले कास्कीको चुनावी सभालाई सम्बोधन गर्दै भारतले ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका थिए । उनले भने, ‘शेरबहादुरजीले ठाडै झुटो बोल्नुभयो ।’
प्रधानमन्त्री ओली स्वयंमले बोलाएको सर्वदलीय बैठकमा देउवा आफैंले सरकारले राम्रो सुरुआत गरेको छ, हाम्रो साथ छ भनेको स्मरण गर्दै उनले अहिले बोली फेरेको बताए । उनले भने, ‘साह्रै तल खसेर झुट बोलेको देख्दा चिन्ता लागेको छ ।’ उनले कांग्रेस साह्रै तल खसेको मन नपर्ने भन्दै उनले भने, झुट बोल्न छाड्नुस् । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म पक्रिने कोसिस गर्नुस् । होइन भने यहि बुद्धि हो भने कांग्रेस भन्ने पार्टी थियो भन्ने किम्बदन्ती बन्न बेर छैन ।’
कांग्रेसका नेताहरुले भाषण सुन्दा कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भइसकेको आफूले महसुस गरेको भन्दै उनले भने, यस अर्थमा म कांग्रेसका शेरबहादुरजी, जसले यहाँ आएर ठाडै झुट बोल्नुभयो । उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले विद्या भट्टराईको जित सुनिश्चित गरेर जानुभयो ।’
उनले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको स्पष्ट पारे । भट्टराईको नेपाली कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान रहेको र नेपाली कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक उतार–चढावमा विद्या भट्टराईको अविच्छन्न योगदान रहेकाले उमेदवार बन्न योग्य रहेको बताए । “कास्की-२ का जनता भाग्यमानी छन् । यहाँका जनताले गौरव गर्नुपर्छ, विद्या भट्टराईजस्तो प्रखर, महिला नेतृत्व पाउनुभएको छ,” उनले भने ।
अर्को प्रसङ्गमा प्रचण्डले गत बुधबारको सचिवालय बैठकले राजनीतिक स्थायीत्व कायम गरेको बताए । उनले भने, “जनतामा अन्योलता थियो । सरकार पाँच वर्ष टिक्छ कि टिक्दैन भन्ने पनि थियो । हामीले त्यसखालको अवस्थाको अन्त्य गरिदिएका छौं । अब नेकपा नेतृत्वको यो सरकार ढुक्कले पाँच वर्ष चल्छ ।” बुधबारको बैठकबाट कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले पार्टी एकताको सम्पूर्ण काम पूरा भएको घोषणा पनि गरे । “अस्ति सचिवालयको बैठकबाट पार्टी एकताको सम्पूर्ण काम पूरा भएको छ । केही खाली ठाउँ भर्न बाँकी छन् । ती तलैबाट भरिन्छ,” उनको भनाइ थियो ।





