बागलुङ, ११ मंसिर – ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनले बुधबार एक विज्ञप्ति जारि गर्दै, प्रदेश निर्वाचनमा वाम गठबन्धनका उमेदवार खिम विक्रम शाहीलाई मतदान गरेर विजयी बनाउन पार्टी सुवेच्छुकलाई अपिल गरेका छन् । गत कार्तिक १२ गते साँझ आफ्नै पार्टीका केही व्यक्तिहरुको आक्रमणबाट घाइते भई उपचाररत रहेका वडा अध्यक्ष पुनले, आफु सहितका केही जिम्मेवार व्यक्तिहरुलाई केही अराजक गतिविधिमा संलग्न व्यक्तिहरुले आक्रमण गरि घाइते बनाएको अवस्थामा, पार्टि नेतृत्वले, निष्पक्ष घटनाको छानविन गर्ने र दोषि उपर कार्वाही अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै, विज्ञप्ति मार्फत घटनाक्रमका विषयमा स्पष्ट पार्न विज्ञप्ति जारि गरिएको भनिएको छ ।
वडा नम्बर ४ को सुवाखोला टोलमा स्थानीय केही व्यक्तिहरुकोबीचमा उत्पन्न विवाद समाधान गर्न खोज्दा, आफू सहित राष्ट्रिय जनमोर्चा खुंगाका अध्यक्ष गनबहादुर फगामी, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको सचिवालयमा कार्यरत नायब सुब्बा दिलिप बुढाथोकी, प्रमुखका सवारी चालक कोपिल बुढाथोकी लगायतका साथीहरु गम्भीर घाइते भएको र आक्रमणबाट सबै जनाको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा पोखरा, काठमाण्र्डा लगायतका अस्पतालमा पुगि उपचार गरिएको पुनद्धारा जारि विज्ञप्तिमा उल्लेख छ ।
गाउँको सुवाखोलाघाट झोलुङ्गे पुल मोर्चानिर बसेर विवादमा संलग्न भएका लाल बहादुर वि.क र श्याम बहादुर वि.क. सँग कुराकानी गरिरहेको अवस्थामा, झोलुङ्गेपुल नजिकै झाडी भित्रबाट ढोरपाटन नगरपालिका वडा नम्बर ४ बस्ने इन्द्रमान छन्त्यालको नेतृत्वमा घरेलु हतियार सहित १५÷१६ जना व्यक्तिहरुको समूहले अचानक आफूहरुमाथि आक्रमण भएको विज्ञप्तिमा भनिएको छ ।
घटनाका दोषीहरुले आफूहरुमाथि खुकुरी, चिरुवा दाउरा, लाठी, ढुंगा, प्रयोग गरी टाउकोमा आक्रमण गर्दा आफू लागायतका साथीहरु गम्भीर घाइते भएको घटनाक्रम उल्लेख गर्दै, विज्ञप्तिमा त्यो घटनाको मूल कारक तत्व आफू लगायत घाइते साथीहरु आबद्ध राजनीतिक पार्टी राष्ट्रिय जनमोर्चाको वडा स्तरको कमिटी र क्षेत्र तथा जिल्ला तहको नेतृत्वमा रहेका केही जिम्मेवार व्यक्तिहरुबीचको विगत लामो समयदेखिको आन्तरिक द्वन्द रहेको उल्लेख गरिएको छ ।
तिलक पुनद्धारा जारि विज्ञप्तिमा, विगतमा नैतिक पतन हुने कार्यहरुमा संलग्न भई फरार समेत भएका इन्द्रमान छन्त्याल जस्ता व्यक्तिहरुलाई पार्टी नेतृत्वमा रहेका व्यक्तिहरुले संरक्षण गरेको र घटना पश्चात समेत आपराधिहरुलाई नेतृत्वले संरक्षण गरेको हुँदा घटनाको विषयमा हाम्रो पार्टीमा तिब्र अन्तरद्वन्द रहेको भनिएको छ ।
उक्त घटनाको विषयमा जिल्ला पार्टी नेतृत्वसँग लामो छलफल पश्चात स्थानीय पार्टी र जिल्ला पार्टीबीच घटनामा संलग्न रहेका अपराधिहरुलाई कानुन बमोजिम कारबाही गर्न र अपराधीहरुको संरक्षणको कार्यमा संलग्न पार्टीका जिम्मेवार व्यक्तिहरुलाई आन्तरिक छानविन गरी पार्टी पद्धती बमोजिम कारबाही गर्ने आन्तरिक समझदारी भएको भन्दै, पार्टीभित्रको आन्तरिक मतभेद वा विवादमा भौतिक बल प्रयोग स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा भनिएको छ । पार्टिले दोषि उपर कानुनी तथा पार्टी प्रणाली अनुसार कारबाही हुने प्रतिबद्धता पश्चात घटनाको अन्तिम टुंगो नहुँदा सम्म हामी घटनाको पिडितहरु पार्टीको काम कारबाहीमा लाग्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ ।
यही मंसिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं. २ प्रदेश (ख) को उप निर्वाचनमा सम्पूर्ण स्थानीय पार्टी पंक्ति क्रियाशिल हुन पुनले विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ । नेकपा र राष्ट्रिय जनमोर्चाक साझा बाम उम्मेदवार खिम विक्रम शाहीलाई मतदान गरी विजय गराउन समेत सम्पूर्ण पार्टि समर्थक जनताप्रति अपिल गरेका छन् ।





