बागलुङ, १३ मंसिर – गण्डकी प्रदेशका कास्की र बागलुङमा शनिबार हुने उपचुनावको अन्तिम तयारी सकिएको छ । निर्वाचन सामाग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षाकर्मी र स्वयंसेवक पनि तैनाथ छन् । उनीहरूलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर मुख्य निर्वाचन अधिकृत कार्यालयले मतदान स्थल पठाएको हो । मतदानका लागि ५६ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान अधिकृत सम्बन्धित क्षेत्रमा गएका छन् ।
कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटीका, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदानस्थल पठाएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । “हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीलाई मतदान स्थलमा पठाएका छौँ ।” उनले भने । सुवेदीका अनुसार यहाँको चुनावमा चार सय १० जना कर्मचारी खटिएका छन् । एक मतदान केन्द्र बराबर पाँच जनाका हिसाबले आयोगले कर्मचारी खटाएको छ । यहाँ ८२ वटा मतदान केन्द्र छन्, भने ३२ मतदान स्थल । कर्मचारी बाहेक तीन सय २८ जना स्वयंसेवक पनि उपचुनावका लागि खटिएका छन् ।
उपचुनाव हुने ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन् । प्रतिनिधीसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६–१६ वटा मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनमा मतदान गर्नेमा पुरुषको तुलनामा महिला मतदाता बढि छन् । कार्यालयका अनुसार मंसिर १४ को उपनिर्वाचनमा ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष मतदाताले मतदान गर्नेछन् । एक जना तेश्रोेलिंगी मतदाताले पनि मतदान गर्नेछन् । ती मतदाताले वडा नं. ९ को सहारा बाल आधारभूत विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् ।
आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । मतदातालाई बिहिबार र शुक्रबारसम्म मतदाता परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ । उनीहरुको मतको आधारमा नै २१ मध्येबाट एकजना प्रतिनिधीसभा सदस्य चुनिनेछन् । यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन् । त्यसैगरी, सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदनशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
२९ विद्यालय बन्द
बिहिबारदेखि कास्की २ को उपचुनावको लागि महानगरभित्रका विद्यालय बन्द भएका छन् । महानगरभित्रका सबै विद्यालय भने बन्द हुने छैनन् । मतदान केन्द्र तोकिएका विद्यालयमा भने पढाई नहुने भएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । बिदाको समय विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले बताए ।
शुक्रबार रातीदेखि सवारी तीन घण्टा होल्ड हुने
एउटा क्षेत्रमा मात्र चुनाव भएका कारण पूर्णरुपमा सवारी रोकिने छैनन् । तर, कास्की निर्वाचन क्षेत्र नं. २ हुँदै आवतजावत गर्ने सवारीहरु सहज रुपले गुड्न पनि पाउने छैनन् । पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गमा गुड्ने सबै सवारीले कास्की क्षेत्र नं. २ भित्रको सडकमार्गको प्रयोग गर्नुपर्ने हुन्छ । शुक्रबार रातीदेखि यी राजमार्गमा गुड्ने सवारीहरुलाई तीन वटा ठाउँ तोकेर प्रवेश र सञ्चालनमा रोक गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन । प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा (२२ को कालीमाटी खोलामा रोकेर राखिने छ । प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन÷तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् । यस्तै, चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न सूचनामार्फत आग्रह गरिएको छ । प्रशासानले मौन अवधि सुरु भईसकेकाले चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन नगर्न अनुरोध गरेको छ । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
मतदान केन्द्रमा काम सुरु
बागलुङ, शनिवार हुने प्रदेशसभा निर्वाचनका लागि खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीले सबै मतदान केन्द्रमा पुगेर आफ्नो काम थालेका छन् । बुधवार बेलुकी पुगेका कर्मचारीले बिहिवार बिहानै देखि मतदाता परिचयपत्र बितरण गर्ने, स्थानीय भेटघाट, सर्वदलिय वैठक र मतदान केन्द्रमा तारवार लगायतको काम थालेका छन् । दुइ बर्ष अघि भएको निर्वाचनपछि नाम लेखाएका मतदाताको नयाँ परिचयपत्र मतदान केन्द्रमा बितरण गरिएको शिबालय मावि अधिकारीचौर मतदान केन्द्रका अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । सबै मतदान केन्द्रमा जनपथ र सशस्त्र प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । नेपाली सेनाले पनि मतदान केन्द्रको बाहिरी सुरक्षा दिएको छ । निर्वाचनको कारण पश्चिम बागलुङमा चहलपहल बढेको छ । काम बिशेषले बाहिर रहेका व्यक्तिहरु फर्केका छन् । बुधवारै सर्बदलीय बैठकहरु बसेर निर्वाचनलाई शान्तिपूर्ण बनाउने निर्णय समेत गरेको छ । ‘निर्वाचनलाई स्वच्छ र म¥र्यादित बनाउन आचार संहिता पनि जारी गरिएको छ’ सुवेदीले भने, ‘अनुगमनमा आउने समूहलाई समेत सहयोग गर्ने निर्णय भएको छ ।’ दलहरुको चुनावी सभा सकिएर मौन अवधि सुरु भएकोले बिभिन्न स्थानमा मत तान्ने काममा दलका नेताहरु लागेका छन् । सार्वजनिक कार्यक्रम गर्न नपाईने भएपछि उनीहरुले घरमा बस्ने, टेलिफोन गर्ने र मतलाई प्रभाव पार्ने काम पनि गरिरहेका हुन् । शनिवार यहाँका २५ मतदान स्थलका ४५ मतदान केन्द्रमा निर्वाचन हुनेछ । त्यसकालागि २ सय १५ जना कर्मचारी खटिएका छन् । साँढे दुइसय बढी प्रहरी र अन्य सुरक्षाकर्मी समेत खटिएका छन् । प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ । त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन् ।




