बागलुङ, १३ मंसिर – शनिवार हुने प्रदेशसभा निर्वाचनका लागि खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीले सबै मतदान केन्द्रमा पुगेर आफ्नो काम थालेका छन् । बुधवार बेलुकी पुगेका कर्मचारीले बिहिवार बिहानै देखि मतदाता परिचयपत्र बितरण गर्ने, स्थानीय भेटघाट, सर्वदलिय वैठक र मतदान केन्द्रमा तारवार लगायतको काम थालेका छन् । दुइ बर्ष अघि भएको निर्वाचनपछि नाम लेखाएका मतदाताको नयाँ परिचयपत्र मतदान केन्द्रमा बितरण गरिएको शिबालय मावि अधिकारीचौर मतदान केन्द्रका अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । सबै मतदान केन्द्रमा जनपथ र सशस्त्र प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । नेपाली सेनाले पनि मतदान केन्द्रको बाहिरी सुरक्षा दिएको छ । निर्वाचनको कारण पश्चिम बागलुङमा चहलपहल बढेको छ । काम बिशेषले बाहिर रहेका व्यक्तिहरु फर्केका छन् । बुधवारै सर्बदलीय बैठकहरु बसेर निर्वाचनलाई शान्तिपूर्ण बनाउने निर्णय समेत गरेको छ । ‘निर्वाचनलाई स्वच्छ र म¥र्यादित बनाउन आचार संहिता पनि जारी गरिएको छ’ सुवेदीले भने, ‘अनुगमनमा आउने समूहलाई समेत सहयोग गर्ने निर्णय भएको छ ।’ दलहरुको चुनावी सभा सकिएर मौन अवधि सुरु भएकोले बिभिन्न स्थानमा मत तान्ने काममा दलका नेताहरु लागेका छन् । सार्वजनिक कार्यक्रम गर्न नपाईने भएपछि उनीहरुले घरमा बस्ने, टेलिफोन गर्ने र मतलाई प्रभाव पार्ने काम पनि गरिरहेका हुन् । शनिवार यहाँका २५ मतदान स्थलका ४५ मतदान केन्द्रमा निर्वाचन हुनेछ । त्यसकालागि २ सय १५ जना कर्मचारी खटिएका छन् । साँढे दुइसय बढी प्रहरी र अन्य सुरक्षाकर्मी समेत खटिएका छन् । प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ । त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन् ।





