शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हरिचौरमा १५ शैयाको अस्पताल निर्माण थालियो

हरिचौरमा १५ शैयाको अस्पताल निर्माण थालियो


  • Dhorpatan News
  • मंसिर १३ २०७६, शुक्रबार

बागलुङ, १३ मंसिर – स्वास्थ्य संस्थामा पुगेर उपचार गर्नेको चासो बढेपछि गलकोट नगरपालिकाको हरिचौरमा अस्पताल निर्माण थालिएको छ । यहाँ हाल संचालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाउन लागिएको हो । हाल गलकोटको हरिचौरमा ईलाका स्तरीय प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा छ । पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भैरहेको छ । उक्त भवनलाई अत्याधुनिक बनाएर १५ शैयाको अस्पतालको स्वरुप दिन लागिएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । यो केन्द्रमा गलकोट नगरक्षेत्रका बाहेक ताराखोलाका बिरामीले पनि सहजै सुविधा लिन सक्ने स्थानमा छ ।
हरिचौर पुरानो सदरमुकाम पनि हो । यहाँ अहिले पनि ईलाका स्तरका धेरै कार्यालयहरु संचालनमा छन् । सडकको समस्याले आउजाउ नभएर केन्द्रमा बिरामी कम थिए । पछिल्लो समय सडक संजालले जोडिएपछि यहाँ नियमित आउने बिरामी मात्र बढेका छैनन्, स्वास्थ्य बीमा संचालन भएपछि सेवा लिन आउनेको क्रम पनि बढेको सिनियर अहेव प्रकाश पौडेलले बताए । राजमार्गले पश्चिम क्षेत्र पनि जोडिएकोले गलकोटमा मानिसहरुको चाप बढिरहेको छ । यो चापका कारण स्वास्थ्य क्षेत्रमा पनि उपचार पाउने संख्या बढिरहेको हो ।
हटियामा पनि स्वास्थ्य चौकी छ । उक्त चौकीमा पनि नियमित उपचार गर्ने बिरामीको संख्या बढी छ । साथै हरिचौर र हटियामा सुरक्षित सुत्केरी गराउने व्यवस्थाको बर्थिङ सेन्टर पनि छ । त्यसैले धेरैको चासो र बिश्वास बढेपछि ती स्थानमा शैयासहितको अस्पतालको खाँचो महसुस गरिएको हो । उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन डाक्टर सहितको दरबन्दी समेत छ । साथै अस्पतालको भवन आधुनिक बन्न लागेकोले दैनिक बिरामीको दर बढीरहेको हो । पुराना भवन जीर्ण भएकोले आधुनिक बनाउन सात करोड १० लाख रुपैयाँको स्टिमेट पछि दुई बर्षदेखि रोशन अमित संयुक्त निर्माण कम्पनीले अस्पताल भवन निर्माण गरिरहेको छ । चालु बर्षभित्रै काम सकेर संचालनमा ल्याउन पहल भएको वडा अध्यक्ष नारायणध्वज मल्ले बताए । यो भवनमा व्हील चियर लिएर जान मिल्ने ¥याप्म, अपरेशन कोठा, ओपिडी र अन्य सेवाका लागि कोठाहरुको व्यवस्था गरिएको छ । ठेकेदारले तोकिएको समयमा काम सम्पन्न गरेमा आगामी बर्षदेखि नियमित अस्पतालकै रुपमा सेवा दिन सकिने व्यवस्था गरिएको हो ।
अस्पताल बन्यो भने अपरेशन सहितका धेरै उपचार गाउँमै संभव हुनेछन् । दरबन्दीको रुपमा पनि डाक्टर थप गर्ने योजना गैरेले सुनाए । दरबन्दीको साथै आवस्यकता अनुसार नगरले निजी श्रोतमा समेत डाक्टर र स्वास्थ्यकर्मी राख्न सक्ने उनले बताए । केन्द्रका सिनियर अहेब प्रकाश पौडेलका अनुसार गत आर्थिक बर्ष यो केन्द्रमा ७ हजार हजार ३ सय ९८ बिरामीको उपचार भएको थियो । ‘भवन अभावले बाहिरै राखेर उपचार गराउने समस्या थियो, भवन बन्यो भने धेरै सुबिधा हुनेछ’ पौडेलले भने, ‘जनशक्ति अभावमा पनि नियमित उपचार दिएका छौं ।’
यहाँ एक जना डाक्टरसहित दक्ष प्रसुतीकर्मीको पनि दरबन्दी छ । दक्ष प्रसुतीकर्मीले नियमित सुत्केरी पनि गराईएको छ । बार्षिक एकसय जनासम्मले प्रसुती सेवा लिने भएकोले अस्पताल बनाउन पहल गरिएको हो । यहाँ बिशेषगरी पाठेघरको समस्या भएका महिला बढी उपचारका लागि आउने गरेका छन् । त्यसैले महिला डाक्टर र स्वास्थ्यकर्मीको दरबन्दी बढाउन पहल भएको मल्लले बताए । स्वास्थ्य बीमा कार्यक्रममा सूचिकृत समेत यो क्षेत्रका बढी छन् । उनीहरुले यही आएर उपचार गराउँदा दैनिक सेवाग्राहीको भीड लाग्ने गरेको हो । ‘गत बर्ष मात्र यहाँका ८ हजार ४ सय ७६ जनाले स्वास्थ्य बीमा गरेका छन्’ पौडेलले भने, ‘यो क्रम बढी रहेको छ, उनीहरुले विश्वास गरेर यही उपचारमा पनि आउन थालेका छन् ।’ स्वास्थ्य बीमा गरेकाहरुले १ लाख रुपैयाँ सम्मको उपचार सेवा निशुल्क पाउने व्यवस्था छ ।
गलकोट नगरपालिकाले स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउने र सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता समेत दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->