बागलुङ १४ मंसिर – बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान चलिरहेको छ । बिहान बजे देखि सुरु भएको मतदान कार्यक्रममा बिहान १० बजे सम्म प्रत्यक मतदान केन्द्रमा १० प्रतिशत भन्दा धेरैले मतदान गरिसकेका छन् । प्रदेशसभा र स्थानीय तहको वडा अध्यक्षको लागि भएको उप निर्वाचनका लागि बागलुङमा ४५ मतदान केन्द्र रहेका छन् । ‘चिसोका बाबजुद बिहानमा भएको मतदान उत्साहजनक छ’ निर्वाचन अनुगमनका लागि त्रिभुवन मावि मतदान केन्द्र बडिगाड–२ पुगेका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने ‘सुरक्षित रुपमा शान्तिपूर्ण मतदान भैरहेको छ ।’ क्षेत्र नं. २ (ख) मा मुख्य प्रतिष्पधि मानिएका उम्मेदवारहरुले पनि मतदान गरिसकेका छन् । नेकपा–राजमो गठबन्धन बाट उम्मेदवार बनेका खिम बिक्रम शाहीले निसीखोला गाउँपालिका ३ मा रहेको जनमावि मतदान केन्द्रमा पहिलो मत खसालेर त्यहाँको मतदान सुरु गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले ढोरपान नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा मावि मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरे । अन्य उम्मेदवारहरुले पनि आ–आफ्नो मतदान केन्द्रमा मत खसालिसकेको जानकारी प्राप्त भएको छ । मतदान पछि उम्मेदवारहरु अन्य केन्द्रको मतदान निरिक्षणमा निस्कीएका छन् । प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ । त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन् । मतदान स्थल पुग्नुभएका मुख्य निर्वाचन अधिकृतका अनुसार बडिगाड–२ को मतदान दिउँसो ३ बजे सम्म सकेने लक्षण देखिएको छ । ‘मतदाताहरु उत्साहित भएर लाईनमा हुनुहुन्छ, यहाँ तीन बजे सम्म सबै मतदान होला भने लागेको छ’ न्यौपानेले भन्नुभयो । बिहानमा चिसो भएकाले दशबजे पछि मत खस्ने क्रम बढ्ने उनले बताए ।





