पोखरा,१५ मंसिर – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता विद्या भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन् । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब रवीन्द्र अधिकारीको सपना पूरा गर्ने पनि बताएकी छन् । ‘यो जीत कस्केली जनताको, सम्पूर्ण न्यायपूर्ण जनताको र रवीन्द्र अधिकारीको जीत हो’, उनले जीतपछि भनिन्,‘ म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु ।’ विद्याले विजयीपछि सबैलाई धन्यवाद ज्ञापन पनि गरिन् । ‘म पूर्वाधार विकास, सामाजिक न्यायका कुराहरु, नीति निर्माणका कुराहरु अघि बढाउने छु । पोखरालाई पर्यटकीय राजधानी बनाउने काम गर्नेछु, समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न चाहन्छु , म रवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु, यो रवीन्द्र अधिकारीको जीत हो ’,उनले थपिन् । खेमराजले दिए बधाई कास्की क्षेत्र नम्बर २ बाट विजयी बनेकी विद्या भट्टराईलाई निकट्म प्रतिष्पर्धी नेपाली कांगे्रेसका खेमराज पौडेलले बधाई दिएका छन् । आफूभन्दा ८ हजार ४ सय ६ मत बढी ल्याएर विजयी बनेपछि खेमराजले विद्यालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन् ।यद्यपी, निर्वाचन आयोगले जीतको आधिकारिक घोषणा गर्न बाँकी छ । ‘ल बधाई छ है,नेकपाका साथीहरुलाई’, उनले भने र माला लगाइदिए । उनले मतगणनास्थलमै पुगेर बधाई दिँदा विद्यासँग सँगै रहेकाले धन्यवाद गुरु भनेका थिए ।





