आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेरो आवश्यकता प्रधानमन्त्रीमा हो, राष्ट्रियसभामा होइन: बामदेव

मेरो आवश्यकता प्रधानमन्त्रीमा हो, राष्ट्रियसभामा होइन: बामदेव

'राष्ट्रियसभा लडाइँ झगडा नगर्नेखालका व्यक्तिको सभा हो, म त्यस्तो परिनँ'


  • बामदेव गौतम
  • पुष १९ २०७६, शनिबार

सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् । नेकपा सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव राखेका गौतमले आफ्नो कुरालाई प्रधानमन्त्री केपी ओलीले पहिले नै अश्वीकार गरे पनि प्रचण्ड चाहिँ शुरुमा दिएको आश्वासनबाट अहिले आएर पछि हटेको बताए । विशेष कुराकानी गर्दै गौतमले दुवै अध्यक्ष संविधान संशोधन गर्न तयार नभएपछि आफू राष्ट्रियसभामा जान नचाहेको बताए । तर, गौतमले तत्कालै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू बन्न नखोजेको समेत प्रष्ट पारेका छन् । ओलीले आफू तीनै वर्ष प्रधानमन्त्री हुने र अब मृगौला पुनः प्रत्यारोपणपछि थप सक्रिय हुने बताएपछि आफू पछि हटेको पनि गौतमले बताए । उनले भने, ‘संविधान संशोधन नै गरेको भए पनि म तत्कालै राष्ट्रियसभामा जाने होइन । भोलि प्रधानमन्त्री बन्नुपर्ने अवस्थामा मात्र जाने भनेको हो । केपी कमरेडलाई हटाएर बन्ने त कुरै होइन ।’ प्रस्तुत छ, नेकपा सचिवालय सदस्य गौतमसँग मात्रिका पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँले प्रधानमन्त्री बन्न नपाए राष्ट्रियसभामा जान्न भन्नुभएको र प्रधानमन्त्रीले ठाडै अश्वीकार गरेको कुरा आएको छ, यथार्थ त्यही हो ?
संसदीय व्यवस्थाको जननी बेलायत हो । त्यहाँदेखि भारतसम्म सबै ठाउँमा राष्ट्रियसभा र प्रतिनिधिसभामा फरक देखाउने व्यवस्था छैन । बेलायतमा त राष्ट्रियसभालाई हाउस अफ लर्ड भनेर झन् ठूलो देखाउने कोशिष गरिएको छ । भारतमा पनि राष्ट्रियसभाबाट प्रधानमन्त्री नहुने व्यवस्था छैन । तर हाम्रोमा राष्ट्रियसभाबाट प्रधानमन्त्री हुन नपाउने भनियो । त्यसैले संविधानमा संशोधन गरौं, यो मेरोमात्रै कुरा होइन भनेको हुँ । म राष्ट्रियसभामा जाउँ कि नजाउँ त्यो छुट्टै कुरा हो । तर यो चाहिँ संशोधन गर्नुहुन्छ भने म सकारात्मक हुन्छु ।
उहाँहरुले संविधान संशोधनको आश्वासन दिनुभएको थियो कि तपाईको माग मात्र हो ?
उहाँहरुले (दुई अध्यक्ष) के भन्नुभएको थियो भने तपाईँ जानुस्, वातावरण बनाएर पछि संशोधन गरे पनि त हुन्छ नि । अध्यक्षहरुमध्ये पनि प्रचण्डको त्यो भनाइ थियो । केपी कमरेडको त होलसोल हुँदै हुन्न भन्ने थियो । मैले त्यसरी त जादिनँ भनेँ । लामो समयसम्म प्रतिनिधिसभाको सदस्य भएर काम गरेको हुनाले संसदीय अभ्यास मलाई राम्रैसँग थाहा छ । म सांसद नभए पनि संसदलाई प्रभावित गर्नसक्ने व्यक्तिका रुपमा छँदैछु । त्यसैले मैले कहिल्यै राष्ट्रियसभामा जाने विचार गरिनँ ।
राष्ट्रियसभाबारे मेरो दृष्टिकोण पनि अलि फरक छ । यसमा चाहिँ विज्ञता हासिल गरेका, उमेरले पाका भएका यस्ता व्यक्तिलाई पठाउँ, जसले त्यहाँबाट आफ्ना अनुभवका आधारमा राम्रो नराम्रो छुट्याएर धेरै तटस्थ बसेर काम गर्न सकुन् । लडाइँ झगडा नगर्नेखालका व्यक्तिहरुको सभा हो राष्ट्रियसभा । म स्वाभावैले पनि त्यस्तोखाले परिनँ । त्यसो भएर म जादिनँ भनेको हो । तर प्रतिनिधिसभा र राष्ट्रियसभाको विभेद अन्त्य हुन्छ भने जान सकिन्छ भनेर प्रष्ट बताएको हुँ । यति मात्र होइन, तपाईहरुले संशोधन गर्दिहाल्नुहुन्छ भने पनि म तुरुन्तै राष्ट्रियसभामा जादिनँ । जतिबेला लौ तपाईको आवश्यकता पर्‍यो भन्नुहुन्छ, त्यतिबेला म जान्छु । प्रधानमन्त्रीका रुपमा काम गर्नुपर्ने आवश्यकता नै सबैभन्दा ठूलो आवश्यकता हो । संसदको सदस्यका रुपमा होइन । संसदको सदस्यका रुपमा त तपाईहरु धेरैजना हुनुहुन्छ मेरो त्यहाँ आवश्यकता हुन्न भनेर मैले भनेको थिएँ । मैले हिजो -विहीबार) सचिवालय बैठकमा यिनै कुरा अझ यो भन्दा लामो पृष्ठभूमिसहित बताएको छु । मैले प्रधानमन्त्री हुने सम्भावना हुँदामात्रै म जान्छु भन्दा उहाँले  मै छु नि प्रधानमन्त्री, मैले के गल्ती गरेको छु र हट्ने ? भन्नुभयो।
उसो भए किन प्रस्ताव गरे त ?
वास्तवमा, यो प्रस्ताव नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लैजानका निम्ति थियो । अहिले तपाई पनि जाने भनेर उहाँसँग दुईजना अध्यक्षले भित्रीरुपमा सल्लाह गरिसक्नुभएको रहेछ । समझदारी गरिसक्नुभएको रहेछ । बामदेव जाँदैन भन्ने उहाँहरुको अनुमान छँदै थियो । त्यसैले प्रचण्डले बामदेव र नारायणकाजी कहाँबाट जाने हो, राष्ट्रियसभामा लैजाउँभनेर प्रस्ताव राख्नुभयो । केपी कमरेडले नारायणकाजीलाई प्रदेश ४ बाट लैजाउँ, बामदेवले जहाँ रोज्नुहुन्छ, त्यहीँबाट भन्नुभयो । हिजोसम्म प्रचण्ड कमरेडले तपाईलाई ल्याउन मैले केके गर्न सक्छु, सबै गर्छु भन्नुभएको थियो । उहाँ पनि संविधान संशोधनमा ब्याक हुनुभएछ । संविधान संशोधन गर्न लाग्ने हो भने यहाँ धेरैका छन् भन्नुभयो । धेरैका छन् त के भो ? उनीहरुको ताकत छैन हाम्रो ताकत छ । जति गर्नुपर्ने हो त्यति (संशोधन) गरे भैहाल्यो, अरुले भनेजति सबै गर्नुपर्छ र ? भन्ने मेरो कुरा रहृयो।
यसमा के कुरा आयो ?
हुँदैन । केको चाहिँ पेटारो खोलेजस्तै हुन्छ, पाण्डोराको बक्स खोलेजस्तो हुन्छ भन्ने कुरा गर्नुभयो । मैले पनि त्यसो हो भने यसमा कुरै नगरौं, सक्किहाल्यो । मलाई राष्ट्रियसभा जान आवश्यक छैन । तपाईहरुले नै निर्णय गरेर लौ प्रतिनिधिसभामा ल्याउने भनेर भनेको हो । मैले उसबेला पनि राष्ट्रियसभामा जान्न भनेको हो भनेर भनेँ ।
संविधान संशोधन त नेकपाले मात्रै गर्न संख्या पुग्दैन, अरु पनि सहमति गराउनुपर्ला नि ? अरुका पनि माग उठिहाल्छन् नि ?
होइन, अरु माग किन पुरा गर्नुपर्छ र ? यो (राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने) नै एउटा व्यवस्था हो, जुन सबैका निम्ति आवश्यक छ । नेकपाको निम्तिमात्र होइन, कांग्रेसको पनि हो, राजपाको पनि हो । किनकी दुईटा सदनमा विभेद गर्नुहुन्न, समानता हुनुपर्छ भन्ने त पुँजीवादी विचार नै हो नि ।
कतिपयले चाहिँ बामदेव केपी ओलीलाई हटाएर प्रधानमन्त्री बनिहाल्न खोजे भन्छन् नि ?
होइन नि । केपी ओलीले भन्नुभयो, म लगातार अब तीन वर्षसम्म काम गर्छु । मेरो स्वास्थ्यमा पूर्ण रुपले सुधार भयो । एपेडिक्सले म बाँचे, एपेण्डिसाइटिस जिरो पोइन्ट जिरो जिरो प्रतिशत पनि बाँकी छैन । अब किड्नी ट्रान्सप्लान्ट गर्छु । त्यो पाँच घण्टामा हुन्छ । पाँच दिन आराम गरेपछि अहिले भन्दा कयौं गुणा बढी काम गर्न सकिहाल्छु । प्रधानमन्त्रीले यो कुरा अलि अगाडि कुरा मसँग भन्नु भएको थियो । हिजो पनि मैले प्रधानमन्त्री हुने सम्भावना हुँदामात्रै म जान्छु भन्दा उहाँले तपाई प्रधानमन्त्री हुने सम्भावनै छैन । मै छु नि प्रधानमन्त्री, मैले के गल्ती गरेको छु र हट्ने ? भन्नुभयो । मैले पनि तपाईलाइै हटाउने कुरै छैन, किन हटाउने भनेँ ।
त्यो बाहेक राष्ट्रियसभा सदस्यमा चयनमा विमति होइन तपाईँको ?
राष्ट्रियसभा सदस्य उम्मेदवार चयन सहमतिका साथ भएको छ । यसमा मेले नै भूमिका खेलेको हुँ ।
सभामुख चयनमा चाहिँ के हुन्छ त अब ?
सभामुख चयनमा पनि यसैगरी सहमति गर्नुपर्छ । अहिले कस्तो छ भने राष्ट्रियसभामा १०/६ बाँडिएको छ । दश र ६ भनेर बाँडेको भने होइन । यो ठाउँमा यो हुनुपर्‍यो, यो ठाउँमा यो हुनुपर्‍यो भन्दा १० र ६ भयो । (खासमा ९ र ७ हो) । यो पूर्वमाओवादी, यो पूर्व एमालेपट्टीको भन्ने कुरा कहिँ पनि उल्लेख नगरी भित्रभित्रै बुझेर सबै गर्‍यौं । त्योचाहिँ मैले बुझेको थिएँ, त्यहीभएर फटाफट यहाँ यो, यहाँ यो भनेँ र हिजोदेखि बिहानसम्म छलफल भएर अन्तिममा यही टुंगो लाग्यो । अब सभामुखको उम्मेदवार छनौट गर्दा पनि त्यही गर्नुपर्छ । जो सबैभन्दा योग्य सक्षम छ, त्यही आउनुपर्छ ।
प्रचण्डले चाहिँ पूर्वमाओवादीको कोटा भन्नुभएको छ नि ?
पूर्वमाओवादीबाट यसपटक (राष्ट्रियसभा सदस्य बाहिरिने) दुई वर्षमा परेको दुईजना । अहिले उम्मेदवारमा ६ जना परिसकेका छन् नि त ।
कार्यकारी अध्यक्षले सभामुखमा अडान लिनुहुँदैन भन्ने हो ?
त्यस्तो गर्नै हुँदैन । हामीहरुसँग सभामुख चलाउन सक्ने क्षमतावान व्यक्ति को छ, त्यो हेर्नुपर्छ ।
सभामुखमा दुईटा अध्यक्षले टुंगो लगाउन सकस पर्दा तपाईँले मध्यस्थ गर्नुहुन्छ ?
कसैका लागि पनि मध्यस्थता गर्दिनँ अब । बैठकमा कुरा राख्छु । बैठकमा कुरा राख्दाखेरि आज जसरी कुरा राखियो त्यसै गरी राख्ने हो । यो चाहियो, त्यो चाहियो, यतातिर भावना भड्किन्छ आदि इत्यादि भन्नुभयो भने तपाईहरु चाहिँ काम नलाग्ने मान्छे हो, तपाईहरुले पार्टी एकता गर्नुभएन भन्दिछु ।
भनेपछि, राष्ट्रियसभा अध्यक्ष नारायणकाजी र सभामुख सुवास नेम्वाङ बनाउने हो ?
होइन होइन, त्यस्तो होइन । राष्ट्रियसभाको अध्यक्षको त कमी कमजोरी के भएको छ र ? राष्ट्रियसभामा भएकाहरुमध्ये अलि कान्छो व्यक्तिलाई अध्यक्ष बनाइदिनुभयो भन्ने मेरो गुनासो हो । तर रामै्र चलिरहेको छ, किन हटाउने उहाँलाई । त्यो सम्मानित संस्थाको अध्यक्षलाई बिनाकारण हटाउने त कुरै आउँदैन ।
सभामुख चाहिँ के गर्ने त ?
हाम्रो पार्टीभित्र भएका मध्ये त्यहाँ पूर्व र पश्चिम भन्ने छैन अब । पूर्व-पश्चिम एउटै हो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जो सबैभन्दा सक्षम छ, त्यही व्यक्ति हुन्छ ।
त्यो व्यक्ति को हो त ?
जो सक्षम हुनुहुन्छ, उहाँहरुले छलफल गर्नुहुन्छ होला नि त । सक्षम व्यक्ति चाहिँ सभामुख हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->