म्याग्दी, ६ माघ – ब्राह्मण–क्षेत्री समूदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई तोड्दै म्याग्दीको बेनी नगरपालिका–४,राक्सेका ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन ब्यस्त छन् । गाउँको बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै थिइन् । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो भने ढोलको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
करिब एक महिनादेखि पौडेलले घरायसी काम सक्ने वित्तिकै हतार–हतार खेतमा पुग्ने गरेका राक्सेका महिलाहरु दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिंङ्गा जस्ता विभिन्न थरीका बाजाहरुमा आफ्नो मेहनत गरिरहेका देखिन्छन् ।
१० जना महिलाको सहभागीता रहेको तालिममा सनैको सुरिलो लय त्यसपछि ढ्लकी,ट्याम्कोे दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनले सिंगो गाउँ नै आर्कषित भएको छ ।
महिलाले बाजा छुन पनि हुदैन भन्ने मान्यतालाई तोड्न गाउँका ब्राम्हण, क्षेत्री र दलित समुदायका महिलाहरू एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् ।
पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने र खुसी हुने गरेको नौमति बाजा समुह राक्सेकी अगुवा हिरा पौडेलले बताइन् ।
उनले सुरुवातमा केही असहज भएपनि विस्तारै महिलाहरुले सिक्न आर्कषित भएको बताउँदै यसलाई गाउँभरका महिलामा सीप हस्तान्तरणको अभियानको रुपमा लिने बताइन् ।
बेनी नगरपालिका वडा नं ४, ले महिला लक्षित कार्यक्रम अन्तरगत करिव १ लाख ४२ हजारको लागतमा खरिद गरेका बाजा सिक्दै गरेका महिलाले दलित र गैर दलित महिला बीचको एकता र सहकार्यसँगै पुरुषले मात्रै बजाउने पञ्चेबजामा महिलालाई समेत अब्बल बनाउन तालिममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताइन् ।
मन भित्र इच्छाशक्ति भएका केही सदस्यलाई परिवारको विरोधले केही गर्न नसक्ने उहाँको भनाई छ। कुनै जमनामा अन्य जातजातिको घरदैलोमा समेत ब्राहमण जातिका महिलाहरू जान हुदैन भन्ने गलत सोचलाई तोड्ने प्रयासलाई घरपरिवारबाटै राम्रो सहयोग रहेको अधिकांस महिलाहरूको भनाई छ।
नौमति बाजा समुह नै बनाएका महिलालाई प्रकाश परियारले प्रशिक्षण दिइरहनुभएको छ । महिलालाई बाजाको महत्वका बारेमा जानकारी सहित सार्वजनिक कार्यक्रम, स्वागत तथा सम्मान लगायतका कार्यक्रमसँगै विवाह उत्सवमा बेहुलाको घरमा जाने बित्तिकै मङ्गलधुन, दुलाहा निकाल्ने बेलामा, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भिœयाउँदा मङ्गलधुन बढी प्रयोग हुन्छ । अनि बिदाइ गर्ने बेलामा ख्याली झ्याली, नरसिङ्गा, ढोलकी र सहनाई कसरी गर्ने भन्ने बारेमा समेत सिकाउने गरेको प्रशिक्षक परियारले बताए ।
प्रशिक्षक परियारका अनुसार म्याग्दी जिल्लामा बाउन र क्षेत्री महिलाले पञ्चे र नौमति बाजा बजाउन सिकेको यो नै पहिलो भएको दावी समेत गरे । बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको छ ।
उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनाम मंगलबारदेखि ससदरमुकाम बेनीमा शुरु भएको माघे संक्रान्ति मेला एवम् नेपाल भ्रमण बर्ष २०२० को अवसरमा महिलाहरुले बजाएको पञ्चेबाजामा सबैको आकर्षण रहेको थियो ।





