बागलुङ, ६ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटनको विकास नै प्रदेश समृद्धिको आधार भएको बताएका छन् ।गाउँका कुनाकन्दरा विकासकालागिनै देशले संघीय प्रणाली रोजेको उनको धारणा थियो । गाउँगाउँमा रहेका सम्भावनाका क्षेत्रमा पर्यटनको विकास गरेर प्रदेशको आर्थिक उपार्जनको आधार बनाउने उनले उद्घोष पनि गरे ।
सोमबारदेखि गलकोट नगरपालिका–५ टेउवामा सुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको उद्घाटन गर्दै गुरुङले कलाका माध्यमबाट अन्तराष्ट्रियस्तरमा नेपालको चिनारी बढाउन सकिने बताए । गलकोट कला प्रतिष्ठानको आयोजनामा कार्यशाला थालिएको हो । यहाँ नेपाल सहित ११ देशका कलाकार सहभागि भएर मुर्तिकला कार्यशाला गर्नेछन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले संसारभर नेपाली सभ्यता र संस्कार फैलाउने अबसर समेत मिलेको बताए । ‘दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ’, उनले भने ‘पर्यटन प्रवद्र्धनका हिसाबले यसको महत्व छ ।’ सरकारले पर्यटन क्षेत्रकालागि लगानीको वातावरण बनाई रहेको भन्दै उनले हरेक ठाउँमा पुग्ने पर्यटकबाट फाईदा लिन सर्वसाधारण आँफै लाग्नुपर्ने बताए ।
उनले पूर्वाधार छैन भनेर बस्ने भन्दा भएका स्थानकै बिकास गर्नुपर्ने सुझाव पनि दिए । ‘पर्यटकलाइ खुसी पारेर पैसा लिन सक्नुपर्छ’ उनले भने, ‘देशकै गौरव गर्न लायक स्थान बनाएर विश्वका पर्यटक भित्राउन अब गलकोट सक्षम हुनेछ ।’ उनले संघिय व्यवस्थाकै कारण यो अबसर प्राप्त भएको समेत उनले दावी गरे ।
‘संघीयताले हामीलाई बोल्न सिकाएको छ’ उनले भने ‘अब बोल्नेको पीठो बेचेर धनी बन्ने हो ।’ बागलुङको पश्चिम क्षेत्र बिकासकालागि प्रदेश सरकारले बिशेष प्याकेज ल्याउने तयारी गरिरहेको उनले आश्वासन पनि दिए । ‘अरुले नक्कल गरेकाहुन घरबास हाम्रो सुरुवात हो’ गुरुङले भने ‘प्रदेशमा खुल्ने तीनसय घरबासले हाम्रो पर्यटनमा सघाउँछ ।’ कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, गल्कोट नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, इटालियन मुर्तिकार वेटिनो फ्रास्नेनी, मुर्तिकार ओम खत्री , युवा व्यवसायी मेघ केसी लगायतले बोलेका थिए । कार्यक्रम गल्कोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाको अध्यक्षता, कोषध्यक्ष यामबहादुर श्रीषको स्वागत र सचिव सुनमायाँ ढकाल र सह–सचिव शेरबहादुर थापाको सञ्चालनमा सम्पन्नभएको थियो । कार्यशालामा १० विदेशी सहित १५ मूर्तिकारले भागलिदैँछन् । कार्यशालास्थलमा ११ वटा देशका झण्डा फहराइएको छ । मुर्ति कुँद्नका लागि ठूला ढुंगा ल्याएर राखिएको छ । कलाकारलाई टेउवामै बस्ने व्यवस्था गरिएको छ । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा सहभागि हुनेछन् ।
यो कार्यशालाबाट तयार हुने मुर्तिबाट अनुसन्धान केन्द्र बनाउन सकिने रानाले बताए । कार्यशालामा सहभागिताकोलागि अन्तराष्ट्रिय स्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनकालागि देश विदेशका गरी दुई सय ५ जना मूर्तिकारले आवेदन दिएका थिए ।त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । कलाकारले मानव सभ्यता, भेषभुषा, प्रकृति आदि विषयमा मुर्ति बनाउन पाउनेछन् । कार्यशाला फागुन २१ गते सम्म चल्नेछ । उक्त अभियानमा डेढ करोड खर्च हुने बताइएको छ ।





