पोखरा,१८ फागुन – आगामी शैक्षिक शत्र २०७७ देखि लागु हुने नयाँ पाठ्यक्रमको बारेमा पोखरामा प्रमुख प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पाठ्यक्रम विकास केन्द्रको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ब्यवस्थापनमा उक्त तालिम आयोजना गरिएको थियो । तालिममा गण्डकी र प्रदेश नम्बर ५ का ११ जिल्लाका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख ,नगर शिक्षा अधिकारी ,प्रधानाध्यापकलगायतको सहभागिता थियो ।
प्रशिक्षकहरुका अनुसार विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्रबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिनेछ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । सिकाइलाई प्रविधिमैत्री बनाई विद्यार्थीलाई प्रविधिमा हस्तान्तरण गर्न मद्धत मिलोस् भनेर यो विषय थपेको पाठ्यक्रम विकास केन्द्रकी उप सचिव रेणुका पाण्डेले जानकारी दिइन । उनका अनुसार कक्षा ४ देखि १० सम्म विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिनेछ । कक्षा चारदेखि आठसम्म सामाजिक अध्ययनसंग मानवीय मूल्य शिक्षा भन्ने विषय थप भएको छ । स्थानीय तहले थप एक विषय बनाउन पाउने व्यवस्था गरेको उनले बताइन । कक्षा १ देखि ८ कक्षासम्म थप एक विषय आफैं पाठ्यक्रम बनाएर लागु गर्न पाउँछन् । नयाँ पाठ्यक्रमअनुसार कक्षा १–३ मा नेपाली, अंग्रे्रेजी, मेरो सेरोफेरो र गणित विषयलाई एकीकृत पाठ्यक्रम बनाइएको छ । हाल कक्षा ६–८ मा अध्यापन हुँदै आएको पेसा, व्यवसाय र प्रविधि विषयलाई राष्ट्रिय पाठ्यक्रमबाट हटाइएको उनले जनाइन । यस्तै, कक्षा ९–१० मा अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाइएको छ । अब आठवटा विषयबाट सातवटामा झारिएको छ । कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली विषय थप गरिएको छ ।तालिममा सहभागीहरुले जिल्ला तहमा तालिम संचालन गर्नेछन । दुई दिनसम्म संचालित तालिम शिक्षा विकास निर्देशनालाय गण्डकीका उप सचिव घनश्याम पौडेलको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत टंकप्रसाद ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।





