म्याग्दी, १४ चैत – कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई नियन्त्रण र रोकथाम गर्न बेनी नगरपालिकाले ५० लाखको कोष स्थापना गरेको छ । नगरपालिका भित्र कोरोना संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण रणनीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार विहान नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कोषणा भाइरस नियन्त्रण समितिको बैठकले रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकाले कोषसँगै बेनी अस्पतालमार्फत रोकथाम अभियानमा प्रयोग गर्ने गरी रु.५ लाख सहयोग गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका अनुसार बैठकमा पालिकाभित्र ब्यक्तिगत रुपमा राहत वितरणलाई रोक्न प्रशासनलाई अनुरोध गर्ने, एम्बुलेन्सको अभावमा बिरामीलाई समस्या भएमा नगरपालिकाको सवारीसाधन प्रयोग गर्ने, आवश्यकता परेमा तत्काल निर्णय गर्ने गरी एक्सन टिम समेत बनाएको छ ।
नगरपालिकाले आफ्ना वडाभित्र विदेशबाट फर्किएकाको सूचना संकलन, विपन्न र मजदुरी गर्नेलाई समस्या परेको समस्याका वारेमा विवरण संकलन गर्ने, बिरामी अवस्थामा बेनी अस्पतालसम्म ल्याउन समस्या भएमा तत्काल जनप्रतिनिधिमार्फत ब्यवस्थापन गर्ने निर्णय समेत गरिएको प्रबक्ता बराईलीले जानकारी दिए ।
एक्सन टिममा नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र प्रबक्त बराईली रहेका छन । वडास्तरमा क्वारेन्टाइनको आवश्यकता नभएकाले बेनीमै स्थापना भएको क्वारेन्टाइनलाई प्रयोग गर्ने, विरामीको चेकजाँच गर्न १२ वटा स्वास्थ्य संस्थामा १२ वटा आवश्यकता अनुसार प्रयोग गर्ने गरी र ३ वटा नगरपालिकामा राखिने गरी १५ वटा पिपिई उपलब्ध गराउने छ ।
नगरपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा तत्काल रोक लगाउने, धार्मिक मठमन्दिरमा जमघट कम गर्ने, ग्रामिण इलाकामा समेत भेटघाट सहित अन्य कुनै चहलपहल नगर्न नगरपालिकाले अनुरोध गरेको छ।





