आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चन्दा उठाएर गरिब परिवारलाई खाद्यान्न वितरण

चन्दा उठाएर गरिब परिवारलाई खाद्यान्न वितरण

संकटको बेला जनप्रतिनिधिको उदाहरणीय काम


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७६, मंगलबार

म्याग्दी, १८ चैत – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न र मजदुर वर्गलाई हातमुख जोर्न समस्या हुन थालेपछि म्याग्दीको एक गाउँपालिकाका वडाध्यक्षले गाउँकै हुनेखानेसंग चन्दा उठाएर १ लाखको खाद्यान्न खरिद गरी गरिब र मजदुरका परिवारलाई वितरण गर्ने अभियान शुरु गरेका छन् ।
मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जाली (सबिन)ले आफ्नो वडामा रहेका कर्मचारी, शिक्षक र हुनेखाने परिवारका व्यक्तिसंग चन्दा संकलन गरी गरिब र मजदुर परिवारलाई मंगलबार खाद्यान्न वितरण गरेका हुन् । वडा कार्यालयको संयोजकत्वमा स्थानीय पाँच युवा क्लब, समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सामाग्री तथा हातधुने साबुन वितरण गरिएको हो ।
‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको लकडाउनबाट प्रभावित वडाभित्रका अति विपन्न दलित परिवार, बेसहारा गरिब बृद्धबद्धा र बालबालिका तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आइरहेका मजदुर परिवार गरी करिब ४५ घरधुरीलाई दैनिक उपभोग्य खाद्य सामाग्री र हात धुने साबुन वितरण गरिएको वडा अध्यक्ष जुग्जालीले बताए । करिब ४५ घरधुरीलाई आगामी २५ गतेसम्म पुग्ने दैनिक उपभोग्य खाद्य सामाग्री दाल, चामल, नुनतेल र हातधुने साबुन सहयोग गरिएको हिराजित स्मृती युवा क्लबका अध्यक्ष प्रेम बहादुर जुग्जालीले जानकारी दिए । उनका अनुसार, राहत सामाग्री घरदैलोमा गएर वडा अध्यक्षको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।
अभियानमा हिराजित स्मृती युवा क्लबले १५ हजार, हिमाली युवा क्लबले १५ हजार, बिमबाङ्ग युवा क्लबले १५ हजार, जन्मभुमि युवा क्लबले १० हजार र ढुनोट युवा क्लबले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । यसैगरी, वडा अध्यक्ष जुग्जालीले ५ हजार, समाजसेवी एवम् मोना हङकङका पुर्वअध्यक्ष मनोज शेरपुञ्जाले १९ हजार र वडा सदस्यहरु, किसानी माविका प्रअ, शिक्षक, तल्लोगाउँ टोल सुधार समितिका अध्यक्ष, वडा सचिव लगायतको सहयोग गरी करिब एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री खरिद गरी वितरण गरिएको अध्यक्ष जुग्जालीले बताए । वडाध्यक्ष जुग्जालीले खाद्य सामाग्री ढुवानीका लागि निशुल्क ट्याक्टर तथा ट्याक्सी धनी चाम्बीर जुग्जालीले निशुल्क यातयात सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->