कोरोनाको परीक्षण्का लागि बागलुङबाट थ्रेट स्वाब पठाईएका चार जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेले युवतीको परिवारका चार सदस्य हजुरबुबा, बाबा र दुई भज्जी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । परिवारका हजुरआमा, फुपु र भज्जाको रिपोर्ट भने आउन बाँकी छ । संक्रमति युवतीको समेत दोश्रो रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
‘परिवारमा सँगै बसेका सदस्यहरुको रिपोर्ट नेगेटिभ आउनु भनेको पब्लिक रिक्स कम हुनु हो’ डा. पोखरेलले भने– ‘परिवारकै सदस्यहरुमा कोरोना भाइरसको संक्रमण नदेखिनु भनेको हाम्रो लागि सुखद खबर हो ।’ डा. पोखरेलका अनुसार ‘वृद्व अवस्था भएकामा कोरोना संक्रमणको जोखिम अत्याधिक हुन्छ तर, संक्रमितसंगै सगोलमा बस्ने सदस्यमा कोरोना नदेखिनु सबैका लागि सुखद पक्ष हो ।’ बेल्जियमबाट आएकी युवतीमा कोरोना भाइरस संक्रमणको आशंकासँगै परिवारका अन्य सदस्यहरुलाई पनि क्वारेन्टाइनमा बस्न भनेका थियौं, सायद यसैका कारण पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको हुन सक्ने डा. पोखरेलको भनाई छ ।
कुँडुलेकी युवतीसँगै जहाजमा आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी एक महिला, ढोरपाटन नगरपालिकाका एक युवा र काठमाडौंदेखि बागलुङसम्म संगै यात्रा गरेका अदालत रोडका एक पुरुषको समेत रिपोर्ट आउन बाँकी रहेको छ ।





