शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दे गाउँपालिकाले बाँड्यो १५ सय घरपरिवारलाई कोरोना राहत

म्याग्दे गाउँपालिकाले बाँड्यो १५ सय घरपरिवारलाई कोरोना राहत

मंगलवारसम्म पालिकाका ७ वटै वडामा १ हजार ५ सय २३ परिवारका सदस्यले राहत पाउने छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७६, आइतबार

म्याग्दे, तनहुँ, २३ चैत – जिल्लाको म्याग्दे गाउँ पालिकाले पालिकाभित्रका १ हजार ५ सय घरपरिवारलाई राहत वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले संगठीत क्षेत्रमा कार्यरत श्रमीक तथा असाहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड–२०७६ बनाई गाउँपालिका भित्र राहत वितरण कार्यलाई अगाडी बढाएको हो ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार कोभिड–१९ को संक्रमण, रोकथामका लागि सरकारले गरेको लकडाउनबाट दैनिक ज्याला, मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण कार्यलाई अगाडि बढाएको हो । गाउँपालिकाका ७ वटै वडा कार्यालय मार्फत राहत वितरण गर्ने कार्य अगाडी बढेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने, ‘राहत वितरण दैनिक रूपमा कार्य गरी जिविकोपार्जन गर्नेका लागि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।’
शनिवारदेखि सुरु गरिएको वितरण गरिएको राहत कार्यक्रम अन्तगत २२ गते ४१० परिवारलाई र २३ गते ४८२ परिवार गरि ८सय ९२ परिवारलाई राहत वितरण भईसकेको र अन्यलाई चैत २५ भित्रमा वितरण सक्ने गरी काम गरिरहेका अधिकृत नागिलाले जानकारी दिए । मंगलवारसम्म पालिकाका ७ वटै वडामा १ हजार ५ सय २३ परिवारका सदस्यले राहत पाउने छन् ।गाउँपालिकाले तयार गरेको मापदण्ड अनुसार २ जना सम्मको परिवारले १० किलो जीरा मसिना चामल, १ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन पाउने छन् । ३ देखि ४ जनाको परिवारले १५ किलो जीरा मसिना चामल, १ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन पाउने छन् । त्यस्तै, ५ सदस्य भन्दा माथि भएका परिवारका सदस्यहरुले २५ किलो जीरा मसिना चामल, २ किलो रातो दाल, १ लिटर तेल, १ किलो नुन प्राप्त गर्ने म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए । लकडाउनका समयमा दैनिक काम गर्दै जिविकोपार्जन गरेका परिवारहरु खानबाट बञ्चित नहुन् भनेर राहत वितरण कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाएको अध्यक्ष रानाले बताए।
गाउँपालिकाको वडा नं. १ मा २ सय ९७ जना, वडा नं. २ मा २६७ जना, वडा नं. ३ मा १७१ जना, वडा नं. ४ मा १८५ जना, वडा नं. ५ मा १८४ जना, वडा नं. ६ मा १७७ जना र वडा नं. ७ मा २४४ जनालाई राहत वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । सो तथ्याङ्क ८२ वटा टोल विकास संस्थामार्फत वडा कार्यालय हुँदै गाउँपालिकामा प्राप्त भएको विवरण हो ।
गाउँपालिकाले आफु खुसी राहत वितरण नगर्न र चन्दा नउठाउन आग्रह गरेपछि एकद्वार प्रणालीवाट वडा कार्यालय मार्फत राहत वितरण गर्दै आएको प्रवक्ता शिवशरण वाग्लेले बताए। गाउँपालिकाले विपत व्यवस्थापन कोषमा २५ लाख वजेट विनियोजन गरेको छ । कोभिड–१९ बाट वच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट उत्पन्न हुने खाद्य सामाग्रीको आपुर्ति व्यवस्थापनमा देखिएको समस्यालाई व्यवस्थित गर्न गाउँपालिका अध्यक्ष मायादेवी रानाको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको छ ।
त्यस्तै,गाउँपालिकाले कोभिड-१९ को बारेमा जानकारी दिन, रोकथाम तथा संक्रमणबाट बच्नका लागि स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे र जामुने स्वास्थ चौकि प्रमुख दिनेश पन्डितले हेल्पडेस्क मार्फत जानकारी दिदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->