म्याग्दी २५ चैत– बेनी नगरपालिका–२ ज्यामरुककोटले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मंगलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडा सचिव राजाराम शर्मा सापकोटा लगाएत राजनीतिक पार्टीका प्रतिनिधिले राहत वितरण गरेका हुन् । ज्यामरुककोटमा लकडाउनका कारणले आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ८९ परिवार राहतका लागि छनोट भएका वडाध्यक्ष थापाले जानकारी दिए ।
उनीहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनौट गरेपछि राहत वितरण गर्न थालिएको उनले बताए । प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, २ पोका नुन, चार पोका तेल, दुई केजी चिनी र ४ वटा साबुनका दरले वितरण गरिएको छ । वडाका जनप्रतिनिधिमार्फत टोल–टोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ । अन्य स्थानीय तहमा राहत वितरणका विषयलाई लिएर विभिन्न किसिमका आलोचनात्मक भनाइहरु आइरहेको बेला ज्यामरुककोटमा भने वास्तविक गरिब र श्रमिकको पहिचान गरी राहत वितरण गरिएको र पाउनै पर्नेले मात्र पाएका राहत सामाग्री लिनका लागि आएका पीडितहरुले बताएका छन् ।





