आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जापानमा अन्यौलग्रस्त नेपाली जनजीवन

जापानमा अन्यौलग्रस्त नेपाली जनजीवन


  • दीपक गौतम
  • चैत्र २७ २०७६, बिहिबार

टोकियो, २७ चैत – कोरोना भाइरसको प्रकोप बिश्वब्यापी रुपमा फैलदै गर्दा यसको प्रकोपबाट जापान पनि मुक्त हुन सकेको छैन । अर्थतन्त्रमा असर नपर्ने गरि कोरोना भाइरसको संक्रमणलाई रोक्ने पर्यत्न गरेको जापान अन्ततः आपतकाल घोषणा गर्ने तहसम्म पुगेको छ । जापानमा यसैबर्ष हुने भनिएको ओलम्पिक अर्को बर्ष सरेसंगै जापानले विभिन्न ७३ देशसंगको हवाई सम्बन्ध तत्कालका लागि तोड्दै कोरोना नियन्त्रणमा निर्मम ढंगले अघि बढ्ने संकेत गरेको छ, जसको पछिलो उदाहरण हो जापानी प्रधानमन्त्री सिन्जो आबेको ‘आपतकाल घोषणा’ ।
कोरोनाको प्रकोप फैलन थालेदेखिनै जापानले अनाबश्यक हिड्डुल गर्न, भिडभाड हुने ठाउँमा जम्मा नहुन नागरिकलाई आग्रहमात्रै गरेन पर्यटकीय क्षेत्र र शैक्षिक संस्थाहरुसमेत बन्द ग¥यो । यसको प्रत्यक्ष असर जापानका होटेल तथा रेस्टुरेन्टहरुमा त देखियो नै नेपालीहरुले संचालन गरेका नेपाली इन्डियन रेस्टुरेन्टहरुमा पनि देखियो । ‘सरकारले बन्द गर्न नभन्दासम्म बन्द गर्ने कुरा भएन’ ब्यबसायीहरु भन्छन्– ‘नखोलेर बस्नु न बन्द गर्नुभएको छ ।’
जापानमा कोरोनाको संक्रमण फैलिएदेखिनै ब्यापार व्यवसायमा मन्दी आएको ब्यबसायीहरुको भनाई छ । यसअघि ब्यबसायीहरुलाई २०११ सालको सुनामीका बेला पनि यस्तै समस्या परेको थियो । ‘कोरोनाको संक्रमण फैलिएपछि ब्यापार ७० प्रतिशतसम्म घटेको छ’ जापानको चिबामा होटेल ब्यबसाय गर्दै आएका बागलुङ गल्कोटका डिल बहादुर थापा भन्छन्– ‘न बन्द गरेर सुख छ न खोलेर ।’ थापाका जापानको चिबास्थित फुनाबशी, ओकिनावा लगायतका ठाउँमा गरि ९ ओटा रेस्टुरेन्ट छन् ।
थापाका ९ ओटा रेस्टुरेन्टमा ३९ जनाभन्दा बढी कामदार छन् । यसैगरी, केही समय व्यापारमा मन्दी आउने होभने कर्मचारीलाई तलब खुवाउनै कठिन हुने थापा बताउँछन् । थापाका अनुसार बन्द गर्दा ३९ जना कर्मचारी ब्यबस्थापन गर्न कठिन छभने खुल्ला राख्दा तलब दिन कठिन छ ।
त्यस्तै जापानको सिगाप्रफेक्चरमा रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका रामभक्त सापकोटाको पनि पिडा उस्तै छ । उनी पनि रेस्टुरेन्ट बन्द गर्ने नि सूचारु गर्नेमा अलमल छन् । ‘वरिपरिका रेस्टुरेन्टहरु लगभग बन्द भैसके’ उनले भने ‘म पनि १÷२ दिन अवस्था हेरेर निर्णय लिने बिचारमा छु ।’ त्यसक्षेत्रका सबै रेस्टुरेन्टहरु कोरोनाको प्रभावमा परेका छन् । जापानले आपतकाल घोषणा गरेपछि जापानमा रहेका नेपाली ब्यबसायीहरु झन् अन्यौलमा परेका छन् । १ महिनाका लागि आपतकाल घोषणा गरिएको भएपनि लम्बिन सक्ने सम्भावित भयका कारण ब्यबसायीहरु चिन्तित देखिएका छन् ।
कोरोनाको प्रभाबले ब्यबसायीहरुसंगै विद्यार्थीहरु समेत प्रभाबमा परेका छन् । अप्रिल महिना जापानको नयाँ आर्थिक वर्ष र शैक्षिकसत्र सुरुवात हो । बिद्यार्थीहरु नयाँ कलेज या स्कुलमा भर्ना हुने र नियमित रोजगारी गर्न चाहनेहरु कम्पनीमा प्रवेश गर्ने ‘सिजन’ भएकाले यसको मारमा बिद्यार्थीहरु पनि परेका हुन् । ‘रोजगार पाएर ओर्किङ्ग भिषा पनि आयो तर कोरोनाको कारण देखाउँदै रोजगार रद्द गरिदियो’ जापानको टोकियोमा बस्दै आएकी प्रभा तामाङले भनिन्– ‘अहिले नयाँ काम खोज्दैछु ।’ कम्पनीले कामदारलाई रोजगार प्रस्ताव प्रमाणपत्र दिएपछि त्यसलाई क्यान्सल गर्न कानुनतः मिल्दैन तर झन्झटिलो र खर्चिलो हुने भएकाले बिदेशी कामदारहरु कानुनी लडाइ लड्न तयार हुँदैनन् । अहिलेको यो कठिन समयमा कुनैपनि कम्पनीले नयाँ कामदार लिन तदारुकता देखाउन नसक्दा नयाँ कामको खोजीमा रहेका बिद्यार्थीहरुको भबिष्य थप अन्यौलमा परेको छ ।
त्यस्तै, जापानिज भाषाको अध्ययन सकिएपछि व्यवसायिक स्कूल प्रवेश गर्नेहरु पनि उत्तिकै प्रभावित भएका छन् । व्यवसायिक स्कूल प्रवेश गर्दा एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्नुपर्ने हुन्छ । बसाइ सर्दा पुरानो पार्टटाइम जब (आंशिक रोगजारी) पनि छोड्नु पर्ने र नयाँ पार्टटाइम जब पाउन बिद्यार्थी परिचयपत्र आबश्यक पर्छ, तर बिद्यालय संचालनमा नआएकाले परिचय नपाउँदा काम पाउन कठिन भएको छ । ‘नागोयाबाट चिबा सरेर आएको २ हप्ता भयो नयाँ काम पाएको छैन’ हालै चिबाको भोकेसनल कलेजमा भर्ना भएका इश्वर केसी भन्छन्– ‘अवस्था सामान्य हुने आशमा यतै (चिबा)तिर पहिलेदेखि बस्दै आएका साथीहरुसंग ऋण लिदै दैनिकी चलाएको छु ।’
जापान सरकारले कोरोनाको प्रभावमा परेका कम्पनीहरुलाई राहत उपलब्ध गराउने घोषणा गरेको भएपनि ब्यबसायीहरु ढुक्क हुन सकिरहेका छैनन् । रोजगार प्रस्ताव प्रमाणपत्र रद्द गरिएपछि अन्यौलमा परेकाहरु र कोरोनाकै कारण अफ्ठेरोमा परेका बिद्यार्थीहरुका हकमा सरकारले हालसम्म कुनै त्यस्तो कदम चालेको छैन । तर सकेसम्म अप्ठेरोमा परेका सबैका समस्या सम्बोधन गर्नेगरि सम्बन्धित निकायहरुसंग सम्बाद भैरहेको गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारीले बताए । ‘यो प्रकोपको बेला भएकाले यसको मार सबैलाई परेको छ’ उनले भने ‘हामी सबैका समस्यालाई समान रुपमा हेरिरहेका छौ ।’ मारमा परेका ब्यबसायीहरुलाई भने राहत प्याकेजमार्फत सम्बोधन गर्ने यसअघि नै जापान सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->