बागलुङ, २८ चैत – बागलुङ नरपालिका १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको छ ।आफ्नो नातीको विहेका लागि बेलायत गएका क्षेत्रीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । उनी गत फेब्रुअरी २६ तारिख लण्डन पुगेका थिए । उनी वहुदल आएपछि अमलाचौर गाविसमा तत्कालिन एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । उनी हाल नेकपा जेष्ठ कम्युनिष्ट मञ्चका जिल्ला सदस्य हुन् ।
मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले पाएको थियो ।
अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै गएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ । ‘केहि दिनअघि आमा पनि सामान्य बिरामी पर्नुभएको थियो , बिस्तारै ठीक भएर तंग्रिदै हुनुहुन्थ्यो । फेरि यो बज्रपात आइलाग्यो, हामी सम्हाल्ने कोशिस गरिरहेका छौं’, वुहारी सरस्वती केसीले टेलिफोनमा भनिन् ।





