बागलुङ, २९ चैत – कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न भएको लकडाउनका कारण दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका श्रमिक र विपन्नहरुलाई काठेखोला–२ भीमापोखराले जिन्सी खाद्यान्न राहत प्याकेज वितरण गरेको छ । रोजगारीका लागि विदेशमा रहेका स्थानीयको आर्थिक सहयोगमा १ सय १७ घरपरिवार र २८ जना श्रमिकलाई राहत वितरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माल वताए ।
प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, १ लिटर खाने तेल, २ पोका नून र ४ वटा हात धुने साबुन समावेश गरेर जिन्सी राहत प्याकेज बनाइएको थियो । सो राहत प्याकेज स्थानीय रहेको टोलटोलमा पुगेर शुक्रवार वितरण गरिएको हो । राहत प्याकेज पाउने ११७ घरपरिवार वडाभित्रका वासिन्दा हुन् भने २८ जना श्रमिक गाउँपालिकाभित्र निर्माण भइरहेको सडकमा काम गर्न आएका जिल्ला बाहिरका श्रमिक हुन् ।
रोजगारीका लागि विदेशमा रहेका स्थानीयवासीले गाउँपालिका मार्फत उपलब्ध गराएको रकमबाट सो खाद्य सामग्रीको राहत प्याकेज तयार गरी वितरण गरिएको हो । राहत प्याकेजका लागि युकेमा रहेका महेन्द्र केसी, रत्न थापा, दीर्घ केसी, ढालेन्द्र केसीले रु. ५०÷५० हजार उपलब्ध गराएका थिए । त्यस्तै, सुन्दर थापाले रु.३० हजार, प्रेम गौतमले रु. ३० हजार र भीमापोखरा युवा क्लबले २५ हजार ५ सय रकम उपलब्ध गराएको वडा अध्यक्ष शर्माले वताए ।
राहत प्याकेजलाई वडा कार्यालय, दपासा, सलाम, काभ्रे र सिम टोलमा नै पुगेर वितरण गरिएकाले स्थानीयले खुशी ब्यक्त गरेका छन् । जिल्ला वाहिरका श्रमिकले पनि सहजरुपमा राहत प्राप्त भएको भन्दै वडा कार्यालयलाईय धन्यवाद ब्यक्त गरे ।





