बागलुङ, २ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि सरकारले गण्डकी प्रदेशमा बागलुङको धौलागिरी अञ्चल अस्पताल र कास्कीको पोखरा ऐकेडमी अफ हेल्थ साइन्सलाई कोभिड अस्पताल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि मंगलवार अस्पतालको सूची सार्वजानिक गर्दै यी अस्पतालाई कोभिड–१९ को उपचार गर्ने ग्रेड ए (लेभल वान) को अस्पतालका रुपमा घोषणा गरेको हो । पोखरा ऐकेडमीलाई अस्थायी रुपमा घोषणा गरिएको छ ।
धौलागिरी अञ्चल अस्पतालमा २ जना कोरोना संक्रमित विरामीको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ भने पोखरा एऐकेडमीमा आइसोलेसन वार्ड निर्माण गरिएको छ, तर विरामी छैनन् । बागलुङ अस्पतालले सुरुमा कोरोना भाइरसको लक्षण देखिएर स्वाव संकलन गरेको एक जना विरामीलाई पनि आइसोलेसन वार्डमा राखेर उपचार गरेको थियो । पछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको थियो । अहिले नेपालकै पाँचौ र छैठौ संक्रमित युवती र महिलाको उपचार भइरहेको छ । कोभिडका विरामीको उपचार गर्नका लागि यहाँ ४ वटा आइसोलेसन वार्ड निर्माण गरिएको छ ।
सरकारले कोभिडको उपचार गर्ने र अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालको सूची बनाएर सार्वजानिक गरेको हो । मन्त्रालयले महामारीका सन्दर्भमा कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका ०७६ समेत ल्याएको छ । निर्देशिकाका अनुसार यी दुई अस्तपताललाई कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पतालका रुपमा पनि घोषणा गरेको छ ।





