शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चार सन्तान जन्माएकी मनकुमारी ‘राष्ट्रकै आमा’

चार सन्तान जन्माएकी मनकुमारी ‘राष्ट्रकै आमा’


  • हरिनारायण गौतम
  • बैशाख ७ २०७७, आइतबार

    घरफिर्दा अस्पतालको प्रवेशद्धारबाट बाहिरिदै ६५ बर्षिया वृद्धा मनकुमारी पौडेल । तस्बिर: हरिनारायण गौतम

बागलुङ, ७ बैशाख – केही समय अघिसम्म खासै चर्चामा थिएन धौलागिरी अञ्चल अस्पताल । यहाँ आउन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु त्यति खुशी देखिदैन्थे । जव कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास नेपालमा भित्रियो, संगै भित्रिए संक्रमित पनि । तिनै संक्रमित मध्येका पाँचौ र छैठौं कोरोना संक्रमितको यही अस्पतालमा उपचार हुने पक्का भयो । अनि त दैनिक चर्चामा नै छ गण्डकी प्रदेशमा कोभिड १९ का विरामी उपचार गर्ने पहिलो बागलुङको यो अस्पताल ।
शनिवार दिउसोदेखि नै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्र्मीमा छुट्टै चमक थियो । त्यो चमकमा ब्यवस्थापन समितिका अध्यक्ष केबि रानामगर र सदस्य शालिकराम शर्माले खुशी साट्दै साथ दिइरहेका थिए । कारण थियो ६५ बर्षिया आमाको चौथो स्वाब रिपोर्ट नेगेटीभ । तर पोखरा प्रयोगशालाले सार्वजानिक गर्न पर्खाइरहेको थियो । यता, चिकित्सकको टीम भने ‘६५ बर्षिया आमा’ लाई विदाई गर्ने तयारीमा जुटीसकेका थिए । सवा ४ बजे मन्त्रालयले रिपोर्ट सार्वजानिक गर्यो, अनि बज्न थाले चिकित्सक र ब्यवस्थापनका फोनका घण्टीहरु । एक दुई होइन, सयौ रिङ टोनहरु । सवैको चासो थियो बुढी आमाको अवस्था के हुन्छ भन्नेमा । पहिलो र दोस्रो पोजेटिभ रहेको स्वाब रिपोर्ट तेस्रो र चौथौ भने नेगेटिभ आयो ।
मन्त्रालयले त सार्वजानिक गर्यो । पोखराले भने अस्पताललाई औपचारिक पठाइसकेको थिएन । ‘रिपोर्ट त आइहाल्छ हामी तयारमा जुटौं ।’ मेसु शैलेन्द्र वि पोखरेल भन्दै थिए, ‘डिस्चार्ज गर्ने हाम्रो मेडिकल टीमको निर्णय हो ।’ प्रदेशका निर्देशक विनोद विन्दु शर्माले ब्यवस्थपानलाई आईतवार मात्रै डिस्चार्जको तयारी गर्न भनेका थिए । कोभिडका मुख्य डा.प्रदिप श्रेष्ठसहित चिकित्सकको बैठक वस्यो र शनिवारै डिस्चार्ज गर्ने निर्णय भयो । अनि त हतारो सुरु भइहाल्यो । घरमा जान लागि एम्बुलेन्समा वृद्धा ।  तस्बिर: हरिनारायण गौतम

छोरा चिरञ्जिवी शर्मालाई फोन गयो, आमालाई लिन नयाँ कपडा लिएर आउन । उपचारमा प्रयोग गरिएका कपडा डिस्चार्जपछि प्रयोग नगर्न चिकित्सकले सुझाएका थिए । आमाको पर्खाईमा वसेका छोरा, छोरी, ज्वाई र नातीहरु तुरुन्तै हाजिर भइहाले । पत्रकार, स्थानीय जनप्रतिनिधी र नागरिक अगुवा पनि अस्पताल छिरे । साँझ ढल्किदै गयो । आइसोलेसन वार्डमा रहेकी वृद्धा आमा नुहाईवरी घरफिर्न तयारी भइन । साँझ करिव साढे ६ बजेतिर रिपोर्ट आइपुग्यो । अस्पतालले औपचारिक डिस्चार्जको प्रक्रिया अगाडि बढायो । विरामी वुझेको कागजमा छोराले सही गरे, ज्वाई गुरुप्रसाद कँडेल साक्षी वसे । ‘आमाको एक्स रे पनि गरियो, सवै ठिक छ ।’ बृद्धा दम र प्रेसरको पहिलेकै रोगी भएकाले पनि चिकित्सकहरुको विशेष निगरानी थियो ।
पौने ८ बजे चिकित्सक र स्वास्थ्यकर्मीको टोलीसहित आमा अस्पतालको प्रवेशद्धारबाट बाहिरिइन । ब्यवस्थापन समितिका अध्यक्ष केवि रानाले फुलको गुच्छा दिए । हर्षित मुहारमा रहेकी वृद्धालाई लाइनवद्ध रहेका नर्सहरुको टीमले ताली बजाएर विदाई गर्यो । क्षणभरमै अस्पतालमा खुशियाली र उमंग छायो । ४ सन्तानकी मनकुमारी अहिले ‘राष्ट्रकै आमा’ बनिन् । युरोप र अमेरिकाले धेरै उमेर र दीर्घ रोगीलाई गुमाइरहेको वेला बागलुङको यो अस्पतालले ६५ बर्षिया आमालाई निको बनाएर घर फर्काउदाको उत्साह, खुशी र चमकलाई शायदै कल्पना गर्न सकिन्छ ! आमालाई अस्पतालले एम्बुुलेन्समै घर पुरायो । यी बृद्धा कोरोना संक्रमित नेपालको छैठौ विरामी भएपनि उपचारपछि निको भएर घर फर्किने तेस्रो ब्यक्ति हुन् ।
घर फिर्दै गर्दा आमाले उपचार गर्ने चिकित्सक, नर्स र सवैलाई धन्यवाद दिन छुटाईनन्र. भनिन्, ‘धेरैले सहयोग गर्नुभयो, सवैलाई धन्यवाद ।’ हिड्दाहिड्दै कोरोनालाई जित्नसक्ने सन्देश पनि आमाले सवैलाई सुनाईन, ‘ठूलो आत्मवल र तातोपानी खाइरहनु पर्दछ !’ मुलुकका प्रधानमन्त्री केपि शर्मा ओलीले त ट्विट गरेरै भने, ‘बेजोडको आत्मविश्वासले उहाँले कोरोनालाई जित्नु भएको छ, दिर्घायुको कामना ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->