बागलुङ, ७ बैंक– बागलुङ नगरपालिकाले आइतबार नगरका सबै स्वास्थ्य संस्थालाई ज्वरो नाप्ने आधुनिक मेसिन (थर्मल गन) हस्तान्तरण गरेको छ । कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन भन्दै नगरक्षेत्रका १० स्वास्थ्य संस्थालाई एक/एक थान थर्मल गन उपलब्ध गराएको जनस्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।
बागलुङमै स्थायी घर भएका प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बागलुङ नगरपालिकालाई उक्त थर्मल गन सहयोग गरेका थिए । बागलुङमा कोरोना संक्रमित फेला परेको तीन सातासम्म स्वास्थ्यचौकीहरुले सामान्य ज्वरो नाप्ने मेसिन समेत खरिद गर्न नसकेका कारण शेरचनले जन्मस्थानमा सहयोग गरेको उल्लेख गरेका थिए ।
स्वास्थ्यचौकीमा कोरोना संक्रमणको जोखिम रहने भएकोले नगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थालाई थर्मल गन उपलव्ध गराएपछि स्वास्थ्यकर्मीलाई सहज हुने नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीले बताए । गाउँगाउँमा थर्मल गन नहुँदा सामान्य ज्वारो आएका बिरामीलाई समेत स्वास्थ्चौकीले उपचार नगरी फिर्ता पठाउने गरेका थिए ।
सो उपकरण सोमबारबाटै प्रयोगमा ल्याउने मालिका स्वास्थचौकीका प्रमुख विलसचन्द्र पौडेलले बताए । नगरपालिकाले यसअघि धौलागिरी अञ्चल अस्पताललाई २ थान थर्मल गन उपलव्ध गराएको थियो ।
उता, बजारमा थर्मलगन नपाएका कारण बजेट भएर पनि खरिद गर्न नसकेको बताउँदै आएको जैमिनी नगरपालिकाले पनि थर्मल गन पाएको छ । शेरचनले जैमिनीका लागि समेत दश थान थर्मल गन पठाएको जानकारी दिए । जैमिनी नगरपालिकाले पनि सबै वडामा रहेका स्वास्थ्य संस्थामा उक्त सामग्री वितरणको तयारी गरेको छ ।





