बागलुङ, १० बैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणले रोकिएको नियमित खोप अभियान संचालन गरिने भएको छ । गत चैत पहिलो सातादेखि बन्द भएको खोप अभियान बुधबारदेखिनै सुरु भएको हो । बुधबार ताराखोला गाउँपालिकामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
बैशाख १७ गते ढोरपाटन नगरपालिकामा खोप अभियान संचालन हुनेछ । बालबालिका जन्मेदेखि २ बर्षको उमेरभित्र सबै प्रकारका खोप लगाउनुपर्ने हुन्छ । एक महिनासम्म खोप अभियान नचल्दा धेरै बालबालिकाहरु नियमित तालिकाबाट बञ्चित भैसकेका थिए । बागलुङ जिल्लालाई सबै खोप पाएको जिल्लाको रुपमा घोषणासमेत भैसकेको थियो ।
समयमा खोप लगाउन नपाएमा बालबालिकाको शारिरीक र मानसिक बिकासमा समेत असर गर्नेसंगै बिभिन्न रोगले समात्ने हुन्छ । त्यसैले मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले नियमित खोप अभियानलाई नरोक्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि तत्कालै ताराखोलामा खोप अभियान थालिसकिएको हो ।
सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षमता र तयारी अनुसार काम थाल्ने गरी निर्देशन भैसकेको गुरौले जानकारी दिए । यसअघिनै हरेक महिना तोकिएका बार र गते पारेर खोप अभियान चलेका थिए । हरेक क्रियाकलाप गर्दा तोकिएको सामाजिक दुरी कायम गर्न भने सचेत गराइएको छ ।





