बागलुङ, १३ बैशाख– जिल्लामा धेरै धान फल्ने फाँटहरुमध्येमा पर्छ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको कैयाको फाँट । तर, यो फाँटमा किसानहरुले ढुक्कसंग बर्खेबाली लगाउन नपाएको कयौं बर्ष भैसकेको छ । हिउँदमा आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसान बर्षायाममा समेत आकाशकै भर पर्नुपर्ने अवस्थामा छन् ।
२०५४ सालमा निर्माण सुरु भएको बागलुङ–कुश्मीशेरा सडकदेखि स्तरोन्नतीको चलिरहेको कालीगण्डकी करिडोरका कारण यहाँको बर्खेबाली (धान रोप्ने काम) प्रभावित हुने गरेको छ । ग्रामिण सडक निर्माण गर्दा फ्याँकिएका ढुंगामाटोसँगै आउने भेलबाढी, सडक स्तरोन्नतीको काम गर्दासमेत कैयाको फाँट बग्ने सिंचाई कुलो पुरिन्छ ।
बागलुङ नगरपालिका–१२, १३ र १४ को सिमाना भएर बग्ने धापेखोलाबाट यहाँ सिंचाईंको लागि पानी ल्याईन्छ । कतै कुलो बगेकै ठाउँबाट सडक बन्ने त कतै तलमाथीबाट सडकका काम हुँदा सिंचाईं कुलो प्रभावित हुने गरेको किसान लाल प्रसाद शर्मा बताउँछन् । यो फाँटमा सिंचाईका लागि पानी पु¥याउन तीनवटा कुलोहरु निर्माण भएका छन् ।
स्थानीयले कुटो कोदालीले बनाएको सिंचाई कुलोहरु बेला–बेलामा सरकारका बिभिन्न तहबाट बिनियोजन हुने बजेटले स्तरोन्नती हुन्छन् । तर ढुक्कले सिंचाई गर्ने व्यवस्था हुनुको साटो बर्षेनी समस्या आएको स्थानीय भरत पौडेलले बताए । हरेक बर्षजस्तो सडकमा हुने स्तरोन्नतीको कामले कुनै न कुनै कुलो बन्द हुने गरेको पौडेल बताउँछन् । कैयाँ र आसपासका फाँटमा सिंचाई गर्न धापेखोलाको पानी लगिएको गरेको छ ।
तीनवटा कुलोमध्ये सबैभन्दा धेरै भूभागमा पुग्ने कुलो यसबर्ष पनि सडकका कारण ठाउँ–ठाउँमा बिग्रिएको छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको क्रममा स्तरोन्नती गर्दा कुलो बिग्रिएको पौडेलले बताए ।
सडक निर्माणको काम गरिरहेको कम्पनीले कोरोना त्रासका कारण कामदार घर पठाएको छ, उसैले पुनःनिर्माण गरिदिने भनेको कुलो धानको व्याड राख्ने बेलासम्म बन्ने छाँटकाँट नदेखिएको भन्दै किसानहरु चिन्तामा छन् ।
अर्माह र कैयाको करिब ३ सय रोपनी जमिनका लागि यो कुलोमार्फत पानी लैजानु पर्छ । ‘कुलो बनाउँछु भनेको कम्पनीले कामै गर्न पाएन, लकडाउन लम्बिँदै छ अब आँफै काम गरेर बनाउँ भनेपनि समयमा सकिन्न’ धापेखोला सिंचाई कुलो सामुदायीक पूर्वाधार बिकास आयोजनाका उपाध्यक्ष सुमन भुसालले भने ‘उता मुहान पनि बाढीले उडाएको छ ।’
बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला गाउँमा कच्चि सडक पु¥याउँदा बगेको ढुंगा माटोका कारण कुलोको मुहान कामै नलाग्नेगरी भत्किएको उनले बताए । ‘मर्मतका लागि हामीसँग स्रोत छैन्, मुहान भत्किएको छ, कुलो ठाउँ–ठाउँमा सडकले पल्टायो’ भुसालले भने ‘यो बर्ष पनि हाम्रो जग्गा बाँझिने भो ।’
सडक निर्माण गर्ने कम्पनीहरुले समयमा बिग्रिएको कुलो मर्मत नगर्दा विगतमा पनि यहाँका किसानको कयौं रोपनी जग्गा बाँझो भएको थियो । केही किसानले आकाशे पानीको भरमा रोपाई गरेको भएपनि धेरैको जग्गा बाँझै रहेको थियो, यस्तै समस्या यो बर्षपनि आउने भुसाल बताउँछन् ।
उनीहरुले स्थानीय तथा प्रदेश सरकारसँग तत्कालै समस्या समाधान गर्न आवश्यक स्रोतको जोहो गरिदिन माग गरेका छन् । किसानहरुसँग ऋण गरेर बाँध पुनःनिर्माणको काम थालिएको र बाँकी भत्किएका ठाउँहरुमा कुलो बनाउन समेत सबैको सहयोग आवश्यक रहेको भुसालले बताए । कैयाको फाँटमा सिंचाईको उचित प्रबन्ध भए बर्षमा तीन खेती फल्छ ।





