बागलुङ, २० बैशाख– धौलागिरी अञ्चल अस्पतालको बिषयमा सम्प्रेषित समाचारप्रति अस्पताल व्यवस्थापन समितिले ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको बदनाम हुनेगरी समाजवाद डटकमले पत्रकारिताको सामान्य मुल्य मान्यतासमेत पालना नगरी कपोकल्पित समाचार प्रकाशन भएको भन्दै समितिले ध्याकार्षण भएको जनाएको हो । उक्त अनलाईन पत्रिकाले गत बैशाख ४ गते ‘धौलागिरी अस्पतालका अध्यक्ष रानाको सत्ता उन्माद, मानवीयतालाई भुलेर अपांग कर्मचारी निष्काशन’ शिर्षकमा समाचार प्रकाशन गरेको थयो ।
अनलाईनमा प्रकाशित समाचार गलत सूचनाबाट प्रभावित भएर अस्पताल सुधारप्रतिको कुण्ठा अभिव्यक्त भई जनतामा भ्रमको खेती फैलाउने प्रयास भएको अस्पतालले दाबी गरेको छ । अस्पतालभित्रैका केही स्थानीय कर्मचारीबाट आफ्नो स्वार्थ पूरा हुन नसकेको र आफूले भनेजस्तै व्यवस्थापन समितीबाट कार्यान्वयन नगरेकोमा आधारहिन जानकारीमा समाचार सम्प्रेषण भएको समितिको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
समितिले कुनैपनि पूर्वाग्रहबिनानै मातहतका सबै निकायलाई काम गर्न निर्देशन दिएकाले समाचारमा आएजस्तो अवस्था नरहेको प्रष्ट पारेको छ । व्यवस्थापन समितिका अध्यक्ष केवी रानाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा अपांगता भएका कर्मचारी हाजिर नभएको र क्वाटर पनि नछोडेका कारण प्रदेश सरकारलाई जानकारी गराईएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ– ‘यस्ता प्रायोजित र कुत्सित मनसायबाट ग्रसित समाचारको भ्रममा नपर्न र नमुना अस्पताल निर्माण गर्ने अभियान र अठोटमा सम्पूर्ण धौलागिरीबासीलाई साथ सहयोगका लागि अनुरोध गर्दछौ ।’





