पोखरा, २१ बैशाख– तनहुँको आँबुखेनी गाउँपालिका–१ सत्रसयमा भान्छामा प्रयोग हुने एलपी ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । स्थानीय विनोद सुनारको घरको भान्सामा राखिएको सिलिण्डर आइतबार बिहान बिस्फोट हुँदा उनका ११ र ५ वर्षिय छोराहरु विवेश र सरगम विक घाइते भएका हुन् । उनीहरुको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
मजदुर मृत अवस्थामा
मजुवामा एक मजदुर मृत अवस्थामा भेटिएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क घर भई हाल मजुवामा बस्दै आएका ५५ वर्षीय टंकबहादुर लामा आइतबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनी मजुवा भलाम क्षेत्रमा गोरेटो बाटो बनाउने काम गर्थे । लामाका आफन्तहरुले उनको हत्या भएको आशंका गरेपनि घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि मात्रै अवस्थाबारे भन्न सकिने प्रहरीको भनाई छ । अघिल्लो रात टंकबहादुरले सोही ठाउँमा कार्यरत नाताले भतिज पर्नेसँग मादक पदार्थ सेवनपछि विवाद गरेकाले पनि घटना शंकास्पद देखिएको हो ।
त्रिशुलीमा देउबहादुर बेपत्ता
तनहुँको देवघाट गाँउपालिका–५ चामेढुंगाका ३३ वर्षीय देउबहादुर गुरुङ त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । आइतबार बिहान १० ः ३० बजेतिर खोलामा पसेका उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । प्रहरी उनको खोजीमा जुटेको छ ।





