बागलुङ, २२ बैशाख– गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले श्रमिकको सम्मान गर्न सबैलाई आग्रह गरेकी छन् । ‘श्रमिकको अपमान गर्नु र उनीहरुलाई ठग्नु भनेको आँफैमाथिको ठगी सुरु गर्नु हो’ गुरुङले भनिन्– ‘लकडाउनका कारण अफ्ठेरोमा परेका मजदुर तथा श्रमिकहरुलाई सबैले सहयोग गर्नुपर्छ ।’ पोखराका बिभिन्न वडामा पुगेर लकडाउनका कारण काम गुमाएका मजदुरहरुलाई राहत बाँडेकी गुरुङले अफ्ठेरो परेका बेला मजदुरको साथमा सरकार रहनुपर्ने बताईन् ।
पोखरामा स्थानीय तहले एक चरणको राहत बितरण गरिसकेका छन् । स्थानीय तहले दिएको राहत सामग्री सकिएर छटपटाईरहेका श्रमिक भेट्न गुरुङ राहतसहित पुगेकी हुन् । स्थानीय तहले दिएको राहत सकिएका र उनीहरुको नजर नपरेका मजदुरहरुलाई खाद्यन्न सामग्री प्रदान गरेको गुङले बताईन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष समेत रहेकी उनले मजदुरहरुलाई राहत बाँडेकी हुन् । पोखरा महानगपालिका वडा नं ४, ५, ९, १० र ११ मा आफ्नै र साथीहरुको सहयोगमा १ सय ५० जनालाई राहत प्याकेज बितरण गरेको उनले जानकारी दिईन् ।
‘अहिले पोखरा महानगरपालिकाले राहतको नाममा चामल दाल होईन पकाएको खानेकुरा बाँड्छ । तर परिवार भएकाहरुले अफ्ठेरो महसुस गरेपछि आफैले सकेको गर्न लागेकी छु’ गुरुङले भनिन्– ‘कोरोनाको बहाना बनाएर मजदुहरुलाई हटाउन पाईदैन मजदुरहरुकै परिश्रमले उद्योगलाई मुनाफा हुन्छ, यो महामारीको बेला पनि आफ्ना श्रमिक पाल्न नसक्नु अमानबियताको पराकाष्ट हो ।’





